कला/साहित्य

दर्शकको मागपछि ‘मै राम्री छु त नी’ सार्वजनिक

स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘लालीबजार’ को गीत ‘मै राम्री छु त नी’ सार्वजनिक गरिएको छ। 

फिल्म प्रदर्शन अगाडि सानो अंश सार्वजनिक गरिएको गीतलाई पुरा स्वरूपमा ल्याउन दर्शकमार्फत माग बढेपछि निर्माण पक्षले शुक्रबार पुरा गीत सार्वजनिक गरेका छन्।  

गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् भने कोरस भोकल रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको रहेको छ । गीतमा प्रकाश सपूतको शब्द र सङ्गीत रहेको छ ।

सार्वजनिक गीतमा फिल्मकी मुख्यपात्र स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत, आशा पौडेल, तारा शर्मा लगायत फिचर्ड छन् । गीतलाई प्रदीप लामाले कोरियोग्राफ गरेका हुन् । गीतमा नारी सुन्दरताको बयान गरिएको छ।

छोरी रक्षाका लागि आमाले गर्ने सङ्घर्षको कथामा तयार गरिएको फिल्म ‘लालीबजार’ घरेलुबजारमा विसं २०८३ मा प्रदर्शन भएका फिल्म मध्ये सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनिसकेको छ। घरेलुबजारमा ९ करोडको आकडा पार गरिसकेको यस फिल्मले १० करोड क्लबतर्फ आफ्नो यात्रा अगाडि बढाएको छ ।  

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।

फिल्म भने वैशाख २५ देखि  प्रदर्शनरत  छ।

प्रकाशित: २९ जेष्ठ २०८३ १६:२४ शुक्रबार