कला/साहित्य

गालीबाट बच्न पूजा लगाएका दीपकराज भन्छन्- फोटो हालेपछि झन् बढी गाली खाइयो !

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा हुने गालीगलौज र बहिष्कार अभियानप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले विगतमा आलोचना र गालीले निद्रा हराउने गरे पनि अहिले यसको बानी परिसकेको बताएका हुन्।

असोज ३१ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ रिलिज भएयता गिरी सामाजिक सञ्जालमा लगातार नकारात्मक टिप्पणी र बहिष्कार अभियानको निशानामा परेका छन्।

उनले लेखेका छन्, ‘फिल्मको पोस्टर हेरेरै बहिष्कार, कसैले कहीँ बोल्यो अनेकौं अर्थ लगाएर बहिष्कार, एक पक्षले अर्को पक्षलाई तिरस्कार, एउटा समूहले अर्को समूहलाई बहिष्कार, चारैतिर घृणा र गालीगलौज मात्रै छ।’

आफूविरुद्धको निरन्तर ट्रोलिङलाई स्वाभाविक मान्न थालेको बताउँदै उनले अगाडि लेखेका छन्, ‘अब आजकल त यस्तो भएछ कि ३-४ दिन गाली आएन भने के नपुग्या के नपुग्या जस्तो हुन थाल्यो बा !’

वरिष्ठ कलाकारहरूसमेत गालीबाट बच्न नसकेको देख्दा आफूलाई यो व्यक्तिगत नभई सामाजिक सञ्जालको साझा समस्या लागेको उनले उल्लेख गरे।

‘हरिवंश दाइलाई गरेको गाली देखेपछि चाहिँ बल्ल ढुक्क भो, यो गाली भन्ने त संस्कृति नै पो भइसकेको रहेछ बा ! मलाई मात्रै होइन रहेछ यो समस्या,’ गिरीले लेखेका छन्, ‘सामाजिक सञ्जाल मौलाएसँगै गालीगलौज त वैधानिक नै पो भइसकेको रहेछ। सबैभन्दा प्रजातन्त्र त सञ्जालमै आएको रहेछ। असंवेदनशीलताले यसरी जरा गाडिसकेछ कि जसले जसलाई जसरी पनि खुइल्याउन सक्ने रहेछ।’

सञ्जालमा जथाभावी लेख्नेहरूमाथि कानुनी कारबाही कमजोर रहेको भन्दै उनले असन्तुष्टि पोखेका छन्। गाली गर्नेलाई धेरै भए साइबर ब्युरोले सोधपुछ गरेर छाड्ने गरेको र सानातिना गालीका मुद्दा कति छन् कति भन्दै कस-कसलाई समात्नु भन्ने अवस्था आएको उनको भनाइ छ।

‘के साहित्यकार, के कलाकार, के नेता, के अभियन्ता, गाली नखाने को छ यहाँ ? ढिलो वा चाँडो, धेरै वा थोरै सबैले गाली खाँदै नै आएका छन्,’ गिरीले भनेका छन्, ‘अब हामीले यो गालीलाई गायत्री मन्त्र सम्झेर जीवनसँग गाँसेर, रिसाउँदै नरिसाई हाँसेर, घृणालाई मनमै साँचेर बाँच्न सिक्नुपर्छ।’

सुरुवाती दिनमा सामाजिक सञ्जालका नकारात्मक टिप्पणीले आफूलाई हप्तौँसम्म तनाव हुने गरेको उनले सम्झिएका छन्। ‘पहिला पहिला सामाजिक सञ्जालमा आउने गालीगलौजले खूब चिन्ता लाग्थ्यो, निद्रा पनि पर्दैनथ्यो,’ उनले लेखेका छन्, ‘यता फर्क्यो गाली, उता फर्क्यो गाली, त्यही गाली मात्रै गुन्जिन्थ्यो अनि रातभर छर्लङ्गै बित्थ्यो।’

गालीबाट हैरान भएपछि आफूले ज्योतिषलाई समेत फोन गरेको प्रसङ्ग उनले रोचक पारामा उल्लेख गरेका छन्। ज्योतिषले साढेसाती लागेको भन्दै पूजा लगाउन सुझाएपछि पूजा लगाएको र त्यसैको फोटो पोस्ट गर्दा ‘गर्नु पाप गरिस् अब आएर धर्मकर्मतिर लागिस् ?’ भन्दै झन् बढी गाली खाएर निद्रा उडेको उनले सुनाएका छन्।

कमेन्ट बक्समा आफूले गाली खाएको देखेर श्रीमतीले समेत ‘कति गाली खाको ए बुढा’ भन्दै गाली गर्ने गरेको तर महजोडीले गाली खाएको देखेपछि उनले पनि चित्त बुझाएर कमेन्ट हेर्नै छोडेको गिरीले खुलाएका छन्।

प्रकाशित: २१ कार्तिक २०८३ १७:२५ शनिबार