कला/साहित्य

परिकल्पना

लघुकथा

‘‘डक्टर साव, चश्माले काम गरेन। झन् धमिलो देखियो। पावर मिलेन कि? मैले आफ्नो शिकायत राखें।

‘‘सुगरले आँखा धमिलिएको हुन सक्छ। सुगर टेष्टको रिपोर्ट लिएर आउनु न।” डक्टरले मलाई सुझाव दिँदै प्रत्युत्तर गरे।

सगरमाथा चश्मा घर इटहरीमा आजभन्दा २० दिनअघि आँखा परीक्षण गरी प्रोग्रेसिभ चश्मा लिएको थिएँ। राम्रै देखिएको थियो। एकाएक एक हप्ता अगाडिबाट समस्या देखापर्‍यो।

डक्टरको सुझावबमोजिम इन्खा एकिकृत अस्पताल इटहरीमा सुगर टेष्ट गराएँ। फास्टिङ ८० र पीपी १११ देखियो। सुगर नियन्त्रण रेखाभित्रै रहेछ। सुगर हो भन्ने चिन्ता दूर भयो।

के कारणले चश्मा धमिलो देखिएको हो? के कारणले आँखाले देख्न अप्ठेरो भएको हो? कारण पत्ता लगाई रोग निदानका लागि पुनः आँखा र चश्मा परीक्षण गराउने टुङ्गोमा पुगें।

म ५९ वर्षमा हिँडिरहेको छु। आँखाको शक्ति क्रमशः घट्दै जाने रहेछ। ४० वर्ष अगाडि गोल्छा अस्पताल विराटनगरले पनि आँखा कमजोर ठानी चश्मा लेखेको थियो। मैले चश्मा लगाएको थिइनँ। ५ वर्ष यता अक्षरहरू नदेखिने र पढ्नलेख्न अप्ठेरो हुने समस्या देखापरेको हो। नवदृष्टि आँखा अस्पताल इटहरीमा आँखा परीक्षण गराई चश्मा लगाएको थिएँ। फ्रेम पसाङ्गिएर सिसा अडिनै छोडेपछि मैले अर्को चश्मा लिनुपरेको हो।

मजस्तै आँखाका रोगीहरू कति होलान? बेलैमा उपचार नपाई दृष्टिविहीन भएका होलान्। आँखा जीवनको ज्योति हो। आँखै भएन भने बाँच्नुको कुनै सार्थकता रहन्छ र ? आफू अन्धो भएको परिकल्पना गर्दै कसैले डोर्‍याएर हिँडाइरहेको दृष्टिविहीनको कथा लेख्न कलम समाएर बसें। कलम र दृष्टिविहीनताकाे दात्म्य मिल्नै सकेन। के कथा लेख्ने? म अन्यमनस्कमा परें।  

प्रकाशित: १९ वैशाख २०८३ ०९:४० शनिबार