१) गजल
विछोडका भग्न मुटुहरू सिउने बानी छ,
आफ्नै घाउमा पराइको नाम लेख्ने बानी छ।
फुल्नु त नियतिको क्षणिक उत्सव रहेछ यहाँ,
झरे पनि अरूका लागि सुवास छर्ने बानी छ।
कति जन्मसम्म प्रतीक्षाको दियो बालिरहूँ,
अतृप्त चाहनालाई नै जीवन ठान्ने बानी छ।
गन्तव्य हराए पनि यात्रा रोकिँदैन ‘तेन्जु’,
बर्बादीलाई पनि आफ्नै भाग्य भन्ने बानी छ।
२) गजल
बुनिन्छ सपना, नियति हाँस्छ यहाँ,
जिन्दगी आफैँसँग हार्छ यहाँ।
विश्वासका फूलहरू ओइलाएपछि,
सम्बन्धको मौसम नै झर्छ यहाँ।
एक नजरले मुटुमा घर बनाए पनि,
समयको आँधीले उखेल्छ यहाँ।
‘तेन्जु’ जीवन के नै रहेछ र आखिर,
मुटु बाँचिरहे पनि मान्छे मर्छ यहाँ।
प्रकाशित: ४ आश्विन २०८३ १०:२६ आइतबार