कला/साहित्य

तिमी मलाई कसरी निष्ठुरी भन्न सक्छौ!

कविता

तिमी मलाई कसरी निष्ठुरी भन्न सक्छौ!

झमझम परेको यो झरीमा

सुसाइरहेको खहरेको विरक्तीमा

के मैले तिमीलाई भुलेर

भुसुक्क निदाए होला र?

तिमी मलाई कसरी निष्ठुरी भन्न सक्छौ

एउटै मुलुकभित्रको यो अर्को मुलुकमा

यी बिराना मान्छेहरूको संगतमा

के मैले आफ्नो गाउँ बिर्सेर

दिनभर यतै मस्त भए होला र?

तिमी मलाई कसरी निष्ठुरी भन्न सक्छौ?

कहिल्यै नटुङ्गिने यी बाटाहरूमा

उकालो लागेर, खोल्सामा पसेर

यात्रा अनन्तअनन्त एकोहोरो मात्रै होला र?

घडीको सुई जस्तै घुमेर

के मलाई फर्किन मन छैन होला र

मेरै ठेगानमा?

तिमी मलाई कसरी निष्ठुरी भन्न सक्छौ?

मैले खत लेखिन भन्दैमा

भावनाहरू छरपस्ट पोखिन भन्दैमा

छातीभित्रै सुकसुकाहाट रोकेर

परेलीमा आँसु देखाइन भन्दैमा

के म बाँझो खेतजस्तै जर्जर भए होला र?

तिमी मलाई कसरी निष्ठुरी भन्न सक्छौ?

हो कति कुरा मैले भनिन होला

कति कुरा ढिलो भने होला

तिमीलाई

तिमीले चाहे जसरी स्पर्श गर्न सकिन होला 

तर कति पटक म पग्लेको पनि त छु

सर्लक्कै

वसन्तमा हिउँ पग्लेझैं।

तिमी मलाई कसरी निष्ठुरी भन्न सक्छौ?

म पग्लदा तिमीले समालेकी छौ

म जम्दा तताउने कोसिस गरेकी छौ

त्यसैले तिम्रो जस्तो मुटु मेरो पनि

तिम्रो जस्तो माया मेरो पनि

नभन मलाई निष्ठुरी भनी।

प्रकाशित: ३१ श्रावण २०८२ ११:३३ शनिबार