डा.नवराज लम्साल
यतिखेर चलचित्र पत्रकारिता र चलचित्रकै विषयमा छोटो लेख्छु र सिधै लेख्छु । सिद्धान्तभन्दा बढी अनुभव लेख्छु । अनुभवका कसीमा अब के ? भन्ने प्रश्न उठाउँछु र उठेका प्रश्न पनि जो जससँग सम्बन्धित छ भनेर जस्ताको तस्तै छोड्छु ।
किनभने नि ! मलाई थाहा छ, प्रश्नहरू सदा बाँचिरहन्छन् र उत्तरहरू मर्छन् । यतिखेर मेरो आँखामा मेरै कर्मका प्रश्नजस्ता लाग्ने कतिपय दृश्यहरू चलचित्रकै रिलझैँ फन्फनी घुमिरहेछन् । यसरी घुम्नु भनेको आफैँभित्र बाँच्नु हो तर आफूभित्र बाँचेर मात्रै केही हुन्न, समाजभित्र बाँच्नुपर्छ । समाजभित्र बाँच्न समाजबोध चाहिन्छ र समाजबोध भनेको बहुलताको बोध हो । एक्लै बाँचेर त न समाज न समय । साहित्य भने पनि, चलचित्र भने पनि र पत्रकारिता भने पनि, यी सबै समाजकै हिस्सा हुन् र समाजकै लागि हुन् ।
अमरध्वज लामा, भरत बमजनजस्ता केही साथीहरू मिलेर हाम्रो पुस्ताले दुई हजारको मध्यपचासतिर रेडियो नेपालमा शुरु गरेको सिनेमा सिनेमा’ कार्यक्रम होस् वा मैले १० वर्ष बिताएको बीबीसीको कला रिपोर्टिब । सम्झँदा मज्जा लाग्छ तर अचेल म माइक्रोफोन छोडेर महाकाव्यका हरफहरूमा छु । यी हरफ लेख्न बस्दा फेरि मनमा आइरहेछ उही प्रश्न, सञ्चार कि आमसञ्चार ? रेडियो, टिभी, पत्रिका वा आजको मल्टिमिडिया ? एकमा अनेक कि अनेकमा एक ? एउटै समाचार सयौँ ठाउँमा कपीपेष्ट कि वस्तुनिष्ठ विश्लेषण ?
वस्तु, विचार र विवेक फरक कुरा हुन् र फरक हुन् समाचार र विचार पनि । हामी पत्रकारिता गरिरहेछौँ कि समाचारकारिता गरिरहेछौँ ? विवेक प्रयोग गरिरहेछौँ कि विचारकारिता गरिरहेछौँ ? मेरो निजी कुरा सोध्नुहुन्छ भने म त पत्रकार भनेकोमा भन्दा सञ्चारकर्मी भनेकोमा खुशी हुन्छु । चलचित्र क्षेत्र आफैँमा एउटा बलियो सञ्चार । आफैँमा आमसञ्चार । साँच्चै सञ्चार ।
मनोरञ्जनको जगमा सूचनाको सञ्चार । चलचित्र आफैँमा सशक्त सञ्चार । यसर्थ चलचित्र पत्रकारिता सञ्चारमाथिको पनि सञ्चार हो ।
विषयबोध
पत्रकारिता । यसका विषय, क्षेत्र र व्याप्ति । कर्म र कौशलका आधारमा पत्रकारिताबाट चलचित्र पत्रकारिता’ यो फाँट अलग भयो । मिडियामा चलचित्रलाई केन्द्रमा राखेर समाचार, विचार र बहस चले, चलाइए । यसलाई संस्थागत गर्न चलचित्र पत्रकार संघ’ बन्यो र पत्रकार महासंघले यसलाई आफ्नो छानामुनि राख्यो । आज यो विधा औचित्यपूर्ण, अपरिहार्य र मूलप्रवाह हुँदै बलियो रूपमा स्थापित छ तर बिर्सन नहुने कुरा के हो भने यी सबै तारतम्य नहुँदा पनि चलचित्र बन्न थालेदेखि चलचित्रका समाचार आइरहेका थिए । आज पनि आइरहेका छन् तर हामी चलचित्रको समाचार लेखिरहेका छौँ कि विज्ञापन लेखिरहेका छौँ ? चलचित्रकर्मी र चलचित्र पत्रकार छुट्टिने सीमारेखा पनि यही हो । विधागत विशेषज्ञताको गहिराइ कति हो ? कति छ ?
स्थापित हुनु एउटा कुरो र त्यो स्थापनाको समग्रता अर्को कुरो । विषयबोध एउटा सत्य हो र अभिव्यक्ति कौशल अर्को सत्य । देखे/सुनेका सबै कुरा बुझिन्न । बुझेँ भने पनि भनेका/भनिएका सबै कुरा बोध गरिन्न । सबै बोध अभिव्यक्त हुन्न । अभिव्यक्त भएका सबै कुरा पाठक वा श्रोताले ग्रहण पनि गर्दैनन् । हो, यही सत्यको सीमा वरिपरि सीप र शिल्प नाचिरहन्छ तर बिर्सन नहुने कुरा के हो भने सत्य सापेक्षित हुन्छ र तथ्य व्यापक र अकाट्य हुन्छ। यही व्यापकताका लागि हो, अध्ययन, मनन, बहस, छलफल र संगत । त्यसमाथि पनि शिक्षण र प्रशिक्षण । अचेल हामी कहाँ छौँ ? कोसँग छौँ ? कस्तासँग छौँ ? पुस्ता र पुस्तान्तरणको छिद्र के हो ? निरूपण के हो ? नजानेको थाहा पाएपछि मात्र सिक्ने ठाउँ बाँकी रहन्छ । आफूले आफैँलाई पूर्ण ठानेपछि के हुन्छ ?तर यो क्षेत्र राजनीतिजस्तो अहब्कारी छैन । यो सुखद पक्ष हो । तर, एउटा आमसभामा कुनै नेताले बोल्यो, त्यो बोलीको समाचारजस्तो सजिलो छैन चलचित्र
पत्रकारिता । त्यही समाचार टेकेर गरिने राजनीतिक विश्लेषणजस्तो सजिलो पनि छैन । कृषि, अर्थ, पर्यटन, परराष्ट्र सम्बन्ध वा संसदीय कित्ता जति सजिलो पनि छैन । चलचित्र संवेदना हो, स्पर्श र अनुभूति हो, भाषा हो, साहित्य हो, प्रविधि हो, अभिनय हो र निजीस्तरको उच्च लगानी पनि हो । यसैसँग गाँसिएर आउँछ पर्यटन, कुटनीति र अन्य सामाजिक सम्बन्ध ।
चलचित्र साहित्यको एउटा महाकाव्यजस्तो । एउटा महानाटकजस्तो र एउटा महाजीवनजस्तो । यो महागाथाको प्रतिरूप हो र सयमको भव्य दस्ताबेज पनि । कुनै समाचारमा भूल सुधार भएजस्तो कुनै चलचित्रसँग फुर्सतमा गरिने भूल सुधारको समय बाँकी रहन्न । यो व्यापकताको बोध नगरी चलचित्र बन्नु पनि हुन्न र बनेका चलचित्रमाथिको बहस, विश्लेषण र समाचारमा पनि यो तथ्य बुझेकै परिपक्व अक्षरहरू चाहिन्छन् । जति जिम्मेवार पत्रकारिता त्यति सचेत चलचित्रकर्मी । कतिपय चलचित्रकर्मी व्यापार गर्न मात्रै पनि यस क्षेत्रमा आउन सक्छन् । तिनले लगानीका लागि कम्फर्ट जोन’ र मनोरञ्जनको मैदान’ मात्रै खोजेको पनि हुनसक्छ तर पत्रकारले तिनको सीमा र धर्म सम्झाएर मूलबाटो देखाउनुपर्छ ।
यो त आफ्नै चलचित्र टिम’को नाम लेख्न अल्छी गर्ने महापुरुषहरूको क्षेत्र पनि हो । युट्युब लगायतका कतिपय प्ल्याटफम’मा गीतकार, संगीतकार, कलाकार र प्राविधिकको नामसम्म छैन । स्रष्टाको नैतिक अधिकारसम्म बोध नभएकाहरू व्यापारी मात्र हुन् कलापारखी होइनन् । टिम’को सार्वजनिक परिचय दिन नसक्नेले चलचित्रमा देशको परिचय देलान् म कसरी भनूँ रु कतै हाम्रो कर्मले तिनै निष्णात लम्पटहरूको गलत कर्मकै प्रोत्साहन भइरहेको त छैन ? सानो तर गहिरो प्रश्नजस्तो लाग्छ ।
केही निजी सम्झना
मैले मेरो कुरा गर्न चाहिरहेको छैन तर मैले चलचित्रसँग जोडिएको मेरै कर्म उल्लेख नगरी कथ्यमा जाँदा केही कुरा भन्न बाँकी रहन्छ मभित्र । म चलचित्रसँग दुई किसिमले जोडिएको छु । एउटा चलचित्रको रिपोर्टिब, बहस र विश्लेषणसँग र अर्को चलचित्रमा आफूले लेखेका गीतहरूसँग । मलाई याद छ, बीबीसीको राजनीतिक बहस गरिने नेपाल सन्दर्भ’ स्तम्भमा चलचित्रको बहस गरेका दिन र रेडियो नेपालको स्टुडियोमा बसेर लाइभ सम्वाद गरेको क्षण ।
प्रकाश सायमी वा नवीन सुव्वा । यादव खरेल वा शम्भुजीत बासकोटा । शान्ति मास्के वा किरण खरेल । केकी अधिकारी वा दिया मास्के । राजेश हमाल वा करिष्मा मानन्धर । निरुता सिंह वा निशा अधिकारी । नीर शाह वा शिव रेग्मी । शिवशंकर वा नातिकाजी । भुवन केसी वा श्रीकृष्ण श्रेष्ठ । विदुर गिरी वा शान्तिप्रिय । जयप्रकाश रिजाल वा भरत शाक्य । राजेश खनाल वा विजयरत्न तुलाधर र अन्य अन्य । समयको एउटा घुम्तीमा यी र यस्ता दर्जनौँ सज्जनहरूसँग बसेर पूरै चलचित्र दुनियँमाथि निर्मम बहस गरेको समय मजाले सम्झन्छु । चलचित्र पत्रकार संघ’ बनाउँदाको पहिलो दिनको पहिलो बैठक र ती दिनका उत्साह सम्झन्छु । हामी अक्षर र आवाजमा सँगसँगै सँगसँगै बगिरहेका हुन्थ्यौँ ।
समाचारभन्दा बढी चलचित्रको अन्तरबस्तु । चलचित्र विकास बोर्ड, बोर्ड गठन, बोर्डमा राजनीतिकरण, प्रभाव, पहुँच र अस्तित्व । लगानी सुरक्षा र चलचित्रकला संरक्षण, अन्तरअनुशासन, कला मर्यादा र त्यसको सीमा । ऐन/कानुन, नीति/नियम, सरकारी निकाय र तिनको दृष्टिकोण र स्वयम् संसदको भूमिका । चलचित्र पत्रकारिता गरेको भन्नु, गर्नु र अन्तराष्ट्रिय चलचित्र दुनियाँसँग नेपाली चलचित्रलाई राखेर विश्लेषण गर्नु गराउनुमा पत्रकार स्वयंको, संघ वा संघलाई छाहारीमा लिने महासंघको जिम्मेवारी कति छ, कहाँ कहाँ छ रु सुन्दा वा पढ्दा जटिलजस्तो लागे पनि यी आवश्यक सत्य हुन् । यस क्षेत्रको जरा छिर्ने जमिन गहिरो छ ।
समूहको सगोल आकृति
एउटा चलचित्रसँग देशको मौलिकता उभिन्छ । पहिचान उभिन्छ । सौन्दर्यशास्त्र, सद्भाव र भाइचारा उभिन्छ । कुन चलचित्र कसले बनायो ? कहिले लाग्छ, कहिले उत्रन्छ ? कति लगानी ? को को कलाकार ? कति कमायो ? कति डुब्यो ? यी बोक्रा खबर हुन् । बोक्रा छोडाएरै खाने हो फल तर बोक्रामै यात्रा टुब्गियो भने ?
लेखक, निर्देशक, कलाकार, प्राविधिकदेखि त्यो चलचित्र शुटिबमा जाँदा फिल्डमै भात पाकाएर खुवाउने भाइबहिनी वा सरसामग्री बोकेर जाने श्रमिकको जीवनकथा कस्तो छ ? नायक र नायिकालाई चिटिक्क पार्न गालामा ब्रस दल्नेको जिन्दगीमा ब्रस दलिन्छ कि दलिन्न ? यो ग्ल्यामर दुनियाँ हो तर ग्ल्यामर मात्रै पनि त होइन । घरको मयुरझ्यालमा पहिलो आँखा पुगे पनि त्यो झ्याल अडिने भित्ता र भित्ता अडिने जग नहेरी हेराइमा पूर्णता त कसरी होला र ? प्रतिभावान् भाइबहिनी पुस्तालाई सप्रेम भन्नुपर्छ, हामीले अझै धेरै गर्न बाँकी छ । सपाट देखिने दृश्यमा भन्दा नदेखिने दृश्यमा झन् ठूला समाचार हुन्छन् । सिनेमा आँखाले हेर्ने हो, समाचार दिलले ।
इतिहास सम्झँदै भविश्यको यात्रा
पुराना सन्दर्भहरू पनि हेक्कामा राखिराख्नुपर्छ । हिजोसँग आजको तुलना हुँदा पैदा हुने घर्षण भोलिको उज्यालो हो । हिजोहरू याद गर्दैगर्दा भोलिहरू झन् सहज र उज्याला हुन सक्छन् । कलासाहित्यको इतिहास मूलतः समाजको इतिहास हो । सत्य हरिश्चन्द्र’ बन्दा वा आमा’ बन्दाको कथा । पहिलो नायिका भुवन चन्दका ती दिन र आजका दिन । रंगीन चलचित्र ।।। कुमारी’ र आजको उच्चतम प्रविधिको प्रयोग ।
समाजको विकास र सामाजिक चेतनाको अभिवृद्धि । विदेशी चलचित्रसम्म दर्शकको सहज पहुँच र कथा र प्रविधिमा आएको नयाँ नयाँपन । आमा चलचित्रमा सेनामा काम गरेर घर फर्किएको एउटा व्यक्तिको कथा छ भने आज संसार एउटै गाउँ भएको बेला कथ्य संयोजन र सन्तुलन के कसरी भइरहेछ त ? ऐतिहासिक घटना, पात्र वा प्रवृत्तिमाथि बनेका चलचित्र, साहित्यिक कृतिमाथिको चलचित्र, बहुभाषीय गौरवमय यस देशमा विभिन्न भाषामा बनेका वा बन्न नसकेका चलचित्र, निर्देशक महिलाले निर्देशन गरेका चलचित्र वा जातीय मिथक, संस्कति र भूगोलको बहुरूपका अन्तरकथ्यको खोजी । आजको समय ज्ञान, विज्ञान र प्रविधिको समय हो । मान्छेभन्दा प्रविधि छिटो दौडेको र प्रविधिले नै प्रविधि प्रयोग गर्ने समय हो ।
सानो मन गर्नुपर्ने कुरै छैन । नेपाली चलचित्रमा धेरै राम्रा काम भएका छन् । धेरै राम्रा स्रष्टा, सर्जक, कलाकार र प्राविधिकको प्रवेश गएको थियो र छ तर यस क्षेत्रलाई कति उद्योगका रूपमा विसिकत गर्न सकियो ? यो विश्लेषणको विषय हो । कति व्यावसायिक बनाइयो ? यो मूल्याब्कन गर्ने विश्लेषणको विषय हो । कति र कसरी जोडियो समाजका अन्य पेशा र व्यवसायका मान्छेहरूसँग ? कति कलामैत्री छ देश र कति देशमैत्री छन् कलाका प्रदर्शित बान्की ? यो समालोचना, समीक्षाको विषय हो । हामीले लेख्ने संवाद, हामीले लेख्ने गीत, हामीले देखाउने दृश्य र चलचित्रमा हामीले संयोजन गर्ने कलाकार समूह कस्ता छन् ? यी सबै छानिन्छन् कसरी र छान्छ कसले ? दिलले, दिमाखले वा पैसाले ? यसले हाम्रो देशको स्वरूप र बहुलता बोकेको छ, छैन ? चलचित्र क्षेत्र सुन्दरताको दुनियाँ पनि हो तर कस्तो छ हाम्रो सौन्दर्यको परिभाषा ?हामीले जसलाई र जेलाई सुन्दर भनिरहेका छौँ, त्यो परिभाषा आफैँमा कति सुन्दर छ ? कतै सुन्दरताकै परिभाषा फेर्ने फेरिने बेला त भएन ? सुन्दरताबोध नभई सुन्दरताको सुन्दर रिपोर्टिब हुनै सक्तैन । सोचौँ ।
पत्रकारितामा सत्य उठाउँदा सत्य हरिश्चन्द्रकै हरिश्चन्द्र हुन परे त्यसका लागि पनि तयार भइएन भने हामी चलचित्रको समाचार हैन, विज्ञापन लेखिरहेका हुनेछौँ । आफ्नो लक्ष्मणरेखा आफैँले बनाउने हो ।
मैले शुरुको हरफमै लेखेको छु, म प्रश्नलाई जस्ताको तस्तै छोडिदिन्छु । मेरा यी तमाम प्रश्नहरूका उत्तर केवल तपाईँकै जिम्मामा छ । तपाईँ आखाको सुन्दरता खोजिरहनु भएको छ कि मनको सुन्दरता ? क्यामरा र आँखाको लेन्ससँगै कलाको रिपोर्टिबले भन्छ, मनको लेन्स पनि सफा राख ! कसैको मन मैलो छ त म कसरी भन्न सक्छु र !
चलचित्र पत्रकार (इतिहासदेखि वर्तमानसम्म-२०८२ को पुस्तक अंश)
प्रकाशित: २९ कार्तिक २०८२ १४:४५ शनिबार