नोबेल साकोस साहित्य संस्था, विराटनगरले नियमित मासिक रचना कार्यक्रमको ४४ औँ श्रृङ्खलामा युवा कवि नानुमैया दाहाललाई सम्मान अर्पिएको छ।
विराटनगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्य तथा वरिष्ठ साहित्यकार बलराम पोखरेल र सङ्गम अभियान मासिकका प्रधानसम्पादक एवम् विराटनगर प्रज्ञाप्रतिष्ठानका सदस्य रामबाबु दाहालको विशेष आतिथ्य रहेको उक्त कार्यक्रममा विराटनगरकी युवा कवि नानुमैया दाहाललाई नगदसहित सम्मान गरिएको छ।
सम्मानित स्रष्टाको व्यक्तित्व र कृतित्वबारे संस्थाकी सदस्य साहित्यकार शान्ता भट्टराईले समीक्षात्मक ढङ्गले संक्षेपमा चर्चा गरेकाे उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाले नेपाली साहित्यको उन्नयन र विकासमा मोफसलबाट महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउँदै सम्मानित कवि नानुमैया दाहाल उज्यालो भविष्य बोकेर उदाउँदै गरेकी नव प्रतिभा भएको बताए।
विशेष अतिथी बलराम पोखरेलले नोबेल साकोसले निरन्तर रूपमा मासिक श्रृङ्खखला चलाइरहेकोमा संस्था र संस्थासँग सम्बद्ध सबैप्रति बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत श्रृङ्खला निरन्तरताको कामना व्यक्त गरे।
त्यस्तै अर्का विशेष अतिथि रामबाबु दाहाले सामाजिक रूपान्तरणको पक्षमा प्रगतिशील चेतसहित दह्रिलो कलम चलाउदै आएकी कवि नानुमैया दाहालको कलम निरन्तर चलिरहने विश्वाससहित बधाई तथा शुभकामना व्यक्त गरे।
आयोजक संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहालले मोसफलका साहित्यिक संस्थाहरू आपसी सद्भाव, सहकार्य र विश्वासले जटिलताका बाबजुद टिकिरहेको स्मरण गर्दै संस्थाले आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा रहेको धारणा प्रस्तुत गरे।
सचिव सुजता राईले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष भुपाल अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रममा कोशी साहित्य प्रतिष्ठानका अध्यक्ष अनुसन्धाता केशु विरही, अग्रज साहित्यकारहरू भवानी पोखरेल, भिम कोइराला लगायत विराटनगर र आसपासका साहित्यकारहरूको उपस्थिति थियो।
प्रकाशित: १७ जेष्ठ २०८३ ०६:२५ आइतबार