कला/साहित्य

घर

धुरी, खापा र दलिनले मात्र

बनेको हुँदैन घर,

घर एउटा ठेगाना मात्र पनि होइन।  

घरसँगै गाँसिएका हुन्छन्  

सम्बन्धका गहिरा जराहरू,

जोडिएका हुन्छन् आत्मीय मनहरू

बाँधिएका हुन्छन् स्मृतिका धागोहरूले

चुलो, चौका र कोठाहरू

विश्वास र आस्थाका रङहरूले

पोतिएका हुन्छन् आँगन र भित्ताहरू।

घर अस्तित्वको पहिचान हो,

मनको शान्त विश्रामस्थल

एउटा सुन्दर संसार हो।

जहाँ पुगे पनि

थाकेका पाइलाहरू

घरको आँगनमै आएर सुस्ताउँछन्

ढोकाले न्यानो अँगालो हाल्छ,

मनको आकाशमा मिठो मुस्कान फुल्छ

रङ खुइलिएको भए पनि,

धुरी चुहिएकै भए पनि,

आफ्नै घर सधैँ न्यानो र प्यारो लाग्छ।  

जब हठात्

आफ्नै आँखा अगाडि

वर्षौँदेखि ओत दिइरहेको धुरी खस्छ,

भरोसाका भित्ताहरू चकनाचुर भएर ढल्छन्  

आँगनका फूलहरू मुर्झाउँछन्,

दलिनमा वास बस्न आउने गौँथलीहरू  

आफ्नो गुँड खोज्दै कराउँछन् 

त्यतिखेर  

घर मात्रै भत्किँदैन

मनभित्रको संसार चर्किन्छ,

स्मृतिका पानाहरू च्यातिन्छन्,

सम्बन्धका बलिया जराहरू टुक्रिन्छन्।

आफ्नै आकाश हराउँदा

आफैंले टेकेको जमिन भासिँदा,

आफ्नै अस्तित्व

आफ्नै आँखा अगाडि चिप्लिँदा

घर मात्र होइन,

घरसँगै धेरै सम्बन्धहरूको  

उठीबास हुँदोरहेछ।

प्रकाशित: १७ वैशाख २०८३ ०८:०५ बिहीबार