कला/साहित्य

हलिउड अभिनेत्री लोनी एन्डरसनको ८० औं जन्मदिनअघि निधन

हिट टिभी कमेडी ‘डब्लुकेआरपी इन सिनसिनाटी’मा सशक्त रिसेप्शनिस्टको भूमिका निभाएकी हलिउड अभिनेत्री लोनी एन्डरसनको आइतबार निधन भएको छ। लामो समयदेखिको रोगले अमेरिकाको लस एन्जलसस्थित एक अस्पतालमा उनको मृत्यु भएको हाे।  

‘डब्लुकेआरपी इन सिनसिनाटी’ सन् १९७८ देखि १९८२ सम्म प्रसारित भएको थियो। एन्डरसनले जेनिफर मार्लोको भूमिका निभाएकी थिइन्। यो भूमिकाले उनलाई दुई एमी अवार्ड र तीन गोल्डेन ग्लोब मनोनयन प्राप्त भएको थियो।  

एन्डरसनले सन् १९८३ मा अभिनेता बर्ट रेनल्ड्ससँग चलचित्र ‘स्ट्रोकर एस’मा अभिनय गरिन्, पछि उनीहरूले विवाह गरे। तर सन् १९९४ मा उनीहरूको सम्बन्धविच्छेद भयो। उनले सन् १९९५ मा आत्मकथा ‘माई लाइफ इन हाई हिल्स’ मा आफ्नो वैवाहिक जीवन र करियरबारे लेखेकी थिइन्।  

उनले चार वटा विवाह गरेकी थिइन्। पछिल्लो विवाह सन् २००८ मा संगीतकार बब फ्लिकसँग भएको थियो। ५ अगस्ट, सन् १९४५ मा मिनेसोटाको सेन्ट पलमा जन्मिएकी एन्डरसनको पहिलो अभिनय सन् १९६६ मा चलचित्र ‘नेभाडा स्मिथ’मा सानो भूमिकाबाट सुरु भएको थियो। ‘डब्लुकेआरपी’ पछि उनले ‘इजी स्ट्रिट’ र ‘लेटर टु थ्री वाइभ्स’ जस्ता टिभी कार्यक्रम र चलचित्रमा अभिनय गरिन्। सन् २०२३ मा उनले ‘लेडीज अफ द ८०एसः अ डिभास क्रिसमस’मा सह-कलाकारको अभिनय गरेकी थिइन्।  

उनको परिवारमा पति बब फ्लिक, छोरी डेइड्रा हफम्यान, छोरा क्विन्टन रेनल्ड्स, नातिनातिना म्याकेन्जी र मेगन हफम्यान, सौतेनी छोरा एडम फ्लिक र सौतेनी नातिनातिना फेलिक्स र म्याक्सिमिलियन छन्। एजेन्सी

प्रकाशित: १९ श्रावण २०८२ ११:४५ सोमबार