कला/साहित्य

सबै जाति वर्ग मिली खेल्दा राम्रो होली!

मुक्तक

१) मुक्तक

रङ्गसित मित्रता र सद्भाव घोलीघोली

सबै जाति वर्ग मिली खेल्दा राम्रो होली

विकृति र भड्किलो यो साधन बन्नु हुन्न

समाजभित्रै नकारात्मक असर पर्छ भोलि।

२) मुक्तक

फोहोर, हिलो, खराब रङ्ग भरिएका लोला

कसैलाई ताकीताकी नबर्साउनु होला

आत्मीय, मित्रता र खुशी बाँड्ने दिनमा

उछृङखलले मित्र अनि आफ्नै मन रोला।

३) मुक्तक

यी आमाले हामीलाई धेरैचोटि ढाँटेकी छन् 

खाएँ भन्दै खाली पेटले धेरै रात काटेकी छन् 

गरिबीले सताएर सन्तान पाल्न गाह्रो हुँदा

खानेकुरा सबै बाँडी रित्तो भाँडो चाटेकी छन्।

४) मुक्तक

थाहा छ विदेशमा मेरो पसिना कति बगेको छ

स्वदेश विदेशका सामन्तीले असह्य गरी ठगेको छ

सबै थाहा छ घरदेश अनि परदेशको कथा

तर थाहै छैन सम्पत्ति र श्रीमती कसले लगेको छ।

५) मुक्तक

सकेसम्म राम्रै लायौ देखे जति खायौ

हिरामोती सुनबाट बन्ने सबै लायौ

संसारभरि हुने वस्तु किन्ने पैसा हुँदा

खै त आयु किनी आफू अजम्बरी पायौ।

प्रकाशित: १८ फाल्गुन २०८२ ११:५५ सोमबार