बलिउड अभिनेत्री तब्बूले आफ्नो व्यक्तित्व अधिकारको सुरक्षा माग्दै दिल्ली उच्च अदालतमा निवेदन दिएकी थिइन्। उक्त मुद्दामा अदालतले उनलाई राहत दिएको छ। अबदेखि उनको अनुमति बिना आफ्नो व्यक्तिगत लाभको लागि तस्बिर, भिडियो प्रयोग गर्न नपाउने उच्च अदालतले आदेश दिएको छ।
दिल्ली उच्च अदालतले उनको व्यक्तित्व तथा प्रचारसम्बन्धी अधिकारको सुरक्षाका लागि एकतर्फी अन्तरिम रोक लगाउने आदेश दिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार, दिल्ली उच्च अदालतले अभिनेत्री तब्बूको पहिचानको गलत प्रयोगमा रोक लगाएको छ। साथै, गुगल, मेटा, एक्स र रेडिटलगायत विभिन्न डिजिटल प्लेटफर्मलाई एआईबाट तयार पारिएका सामग्रीसहित १५० भन्दा बढी यूआरएल हटाउन वा तिनमा पहुँच रोक्न आदेश दिइएको छ।
यो आदेश आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डीपफेक, फेस मोर्फिङ तथा अन्य डिजिटल प्रविधिमार्फत हुने अनधिकृत प्रयोगमा पनि लागू हुनेछ।
उच्च अदालतमा तब्बूको निवेदनमाथि सुनुवाइ गर्दै विभिन्न डिजिटल प्लेटफर्मलाई उनीसँग सम्बन्धित अनधिकृत तथा आपत्तिजनक सामग्री हटाउन वा त्यसमा पहुँच बन्द गर्न निर्देशन दिएको छ।
अदालतले केही प्लेटफर्म तथा सेवा प्रदायकलाई सम्बन्धित अकाउन्ट वा सामग्रीसँग जोडिएको आधारभूत ग्राहक विवरण तथा आईपी लगसम्बन्धी जानकारीसमेत उपलब्ध गराउन आदेश दिएको छ।
तब्बूले आफ्नो व्यक्तित्व तथा प्रचारसम्बन्धी अधिकारको संरक्षण माग्दै अदालतमा निवेदन दिएकी थिइन्। उनले सामाजिक सन्जालमा आफ्नो पहिचानको गलत तथा व्यावसायिक फाइदाका लागि प्रयोग भइरहेको आरोप लगाएकी थिइन्।
उनको अनुमति बिना विभिन्न सामग्री तथा सामान बिक्री भइरहेको समय तब्बूले उक्त निवेदन दर्ता गराएकी थिइन्।उनको नाममा मनगढन्ते बयानहरू फैलाइएका थिए। एआईबाट तयार पारिएका तथा हेरफेर गरिएका आपत्तिजनक सामग्री अनलाइन प्रसारित भइरहेका थिए।
अदालतले तब्बूको नाम र उनको स्टेज नेम ‘तब्बू’, साथै उनको तस्बिर, आवाज तथा व्यक्तित्वसँग सम्बन्धित अन्य विशेषताले छुट्टै पहिचान निर्माण गरिसकेको स्वीकार गरेको छ।
अदालतका अनुसार, व्यावसायिक उद्देश्यका लागि कुनै चर्चित व्यक्तिको नाम, तस्बिर वा अन्य विशिष्ट पहिचानात्मक विशेषताको अनधिकृत प्रयोग अधिकार उल्लङ्घन हुन सक्छ। यस्तो प्रयोगले व्यक्तिको विशिष्ट पहिचानलाई कमजोर पार्नुका साथै तेस्रो पक्षलाई अनुचित व्यावसायिक लाभ दिलाउन सक्छ।
अदालतले चलचित्र, सार्वजनिक कार्यक्रम वा अन्तर्वार्ताबाट जानाजानी सम्पादन गरिएका एआई(निर्मित भिडियो अपलोड तथा सेयर गर्नु, त्यसबाट सनसनी फैलाउने र आर्थिक लाभका लागि दर्शक तथा ट्राफिक आकर्षित गर्ने उद्देश्य भएमा, तब्बूको प्रतिष्ठा र व्यावसायिक मूल्यमा क्षति पुग्न सक्ने उल्लेख गरेको छ।
जसकारण अदालतले तब्बूको सहमति वा अनुमति बिना उनको व्यक्तित्व वा प्रचारसम्बन्धी अधिकारसँग जोडिएका सामग्री प्रयोग गर्ने, त्यसबाट लाभ उठाउने वा दुरुपयोग गर्ने कार्यमा रोक लगाएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १४:०२ सोमबार