गायक अनिस ‘ओकिली’ सापकोटाले आफ्नो जन्मदिनकाे अवसरमा नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन्। यो गीतमा ‘ओकिली’ आफैँले शब्द, संगीत र स्वर प्रस्तुत गरेका छन्।
उनले झन्डै तीन महिनामा यो गीत तयार गरेका हुन्। पप/सफ्ट रक विधामा पर्ने गीतमा उनले मायाको वर्णन गरेका छन्। यसपटक म्युजिक भिडियोमा समेत उनी आफैं प्रस्तुत भएका छन्। गीतमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन्।
गीतको भिडियो गायक तथा संगीतकार जेम्स प्रधानले तयार पारेका हुन्। छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन पनि उनकै रहेको छ। अमेरिकाको रमणीय दृश्यमा खिचिएको यो गीतले दर्शकको ध्यान तान्नेमा ओकिली विश्वस्त छन्।
‘एउटा प्रेमभावको गीत तयार गर्ने इच्छा यसपटक पूरा भएको छ। यो गीतले प्रेमको काल्पनिक संसारमा वर्णन गरेको छ। मेरा अघिल्ला गीतमा अरू नै मोडल छन् तर यसपटक गीतको भाव अनुसार निर्देशक जेम्स दाइले खेल्ने प्रस्ताव राख्नुभएपछि म आफैँ अगाडि आएको हुँ। आफ्नो गीतको भावल उतार्न सकेको छु भन्ने विश्वास छ’, ओकिली भने।
पछिल्लो समय ‘रिदम काठमाडौं’ गीतिसंग्रह ल्याएका ओकिलीले यसपटक सिङ्गल ट्रयाक ल्याएका छन्। प्रचारप्रसारसँगै तयार गर्न पनि सजिलो हुने भएकाले उनले यसपटक एउटा गीत मात्र लिएर आएको बताए। उक्त गीतलाई जेनरिक्सले एरेन्ज गरेका हुन्। उक्त गीतलाई अनिश ओकिली युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
‘मेरा गीतहरू एकै ठाउँमा भेटिओस् भनेर पनि आफ्नै युट्युब च्यानल मार्फत गीत ल्याएको हुँ। मलाई नयाँ रूपमा चिन्नेले पनि मेरो सांगीतिक यात्राबारे उक्त गीत मार्फत केही जानकारी पाउनुहुनेछ’, गायक ओकिलीले भने।
उनी आधुनिक नेपाली पप र भावनात्मक कथावस्तुको मिश्रणमा परिचित छन्। संगीत र संस्कृतिको योगदानका लागि उनले विभिन्न पुरस्कार र सम्मान पाएका छन्। दुई दशक लामो सांगीतिक यात्रामा नयाँ रचना र उत्पादनमा सक्रिय भएकाले उनको छुट्टै पहिचान स्थापित छ।
उनले गीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका छन्। नेपाली–अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पुर्याएका छन्। पेशागत रूपमा उनी ‘ओकिली’ नामले चिनिन्छन्।
‘मैले अमेरिकामा पनि नेपाली दाजुभाइ/दिदीबहिनीका लागि गीत गाइरहें, कहिल्यै छोडिनँ। यसपटक गीत तयार गर्नुका साथै भिडियोमा आफैं प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने।
प्रकाशित: ५ श्रावण २०८२ ११:१४ सोमबार