फेब्रुअरीको हल्का चिसो हावा सहरभरि चलिरहेको थियो। आकाश खुल्ला थियो। सहरका सडक, बगैंचा, बाटो र गल्लीहरू सूर्यका किरणले सुनौलो बनेका थिए। यस हावामा प्रेम मात्र होइन, प्रेमको अनुभूति स्पष्ट रूपमा फैलिएको थियो। हरेक नजर, हरेक मुस्कान, हरेक सानो संवाद मायाले भरिएको थियो। हुन पनि मलाई वर्षभरिको महिनामध्ये फेब्रुअरी साह्रै मनपर्ने महिना हो।
म, अर्थात् आस्था र विकास मास्टर्स सँगै गरिरहेका थियौं। म धादिङबाट काठमाडौं पढ्न आएकी थिएँ र विकास नेपालगन्जबाट। हामी दुवैको मित्रता राम्रो थियो। सहरको तडकभडकभन्दा टाढा रहेर एकअर्कालाई पढाइमा सहयोग गर्दै आइरहेका थियौं। कुनै दिन बजार जान मन लागे सिनेमा हेर्न पनि सँगै जान्थ्यौं। यसरी हामी एकअर्कालाई सहयोग गर्न सधैं तयार थियौं।
विकासको आँखामा सधैं न्यानो हाँसो हुन्थ्यो, जुन मलाई एकदमै मन पर्थ्याे। उसको एउटा बानी - हरेक कुरा सकारात्मक तरिकाले सोच्ने, झन् मोहक थियो। किन किन विकासलाई भेट्दा मेरो मुटु अचम्मसँग धड्किन्थ्यो। म कहिलेकाहीं आफैंलाई प्रश्न गर्थें, ‘के यो मेरो उसप्रति माया हो?’
अनि फेरि भन्थेँ, ‘होइन, ऊ साथी भएकाले होला।’ हामी दुई एकदमै मिल्थ्यौं, एकअर्कालाई सघाउन सधैं तत्पर।
यसपालिको भ्यालेनटाइन डे अर्थात् प्रणय दिवस आउनुअघि हुने रोज डे, टेडी डे आदिलाई मैले अलिकति आफ्नो तरिकाले मनाउन खोजेँ। पहिलो दिन विकासलाई लिएर वृद्धाश्रम गयौं। आमाबाबाका हातखुट्टा धोइदियौं, सफासुग्घर बनायौं। उहाँहरूका विगतका कुराहरू सुन्यौं - किन, कसरी र कसले गर्दा वृद्धाश्रम आउनुपरेको? फेरि निरन्तर आउने वाचा पनि गर्यौं। कसैका कथा अत्यन्त पीडादायक थिए–छोराछोरी अमेरिका जाने भनेर घरजग्गा बेचेर वृद्धाश्रम राखेर आफैं विदेश गएको, कसैलाई बुढेसकालमा घरको काम गर्न नसकेको भन्दै ल्याइएको, कोहीचाहिँ रमाएर आएका। त्यस दिन हामी दुवैले प्रण गर्यौं - आमाबाबाको खुसीमा रमाउने।
अर्को दिन अनाथालय गएर बालबालिकासँग बस्यौं। केहीलाई किताब, कापी, लुगा दियौं। जीवनका उकाली–ओरालीका कुरा गर्यौं, उनीहरूका सपनाहरू सुन्यौं। धेरै ठुला सपनाहरू थिए - जसरी मदर टेरेसा र मन्डेला ठुला भए, हामी पनि ठुला हुन्छौं भन्ने। कति निश्चल, कति सकारात्मक विचार! भगवान्ले ती बालकहरूलाई जिम्मेवार र असल व्यक्ति बनाओस्। फर्किंदा उनीहरूले भने, ‘दाइ-दिदी, फेरि आउनुस् है।’
त्यतिखेर म सोचिरहेकी थिएँ - केहीका आमा–बाबा थिएनन्, केहीका आमा मात्र वा बाबा मात्र। किन यस्तो निष्ठुरी समाज? किन आफ्नै अभिभावकत्वबाट भाग्न खोज्छन्? दुई दिन पीडाले भरिए पनि समाजको यथार्थ बुझ्यौं र भविष्यको कर्तव्य पनि।
तेस्रो दिन केही साथीहरू जुटाएर पशुपतिको वरिपरि सफा गर्यौं। ‘ईश्वर शाश्वत हो’ भन्ने कुरा मेरो हजुरबुवाले सधैं भन्नुहुन्थ्यो, त्यो कुरा मनमा गढेको थियो। यसरी प्रणय दिवस आउनुअघि मैले आफ्नो काम र कर्तव्यलाई समाजसँग जोडेर मायाको परिभाषा फराकिलो बनाएँ। मैले चाहेको हरेक कार्यमा विकासले सहर्ष स्विकारेर साथ दियो।
आज हप्ताभरिका गतिविधि सम्झँदा, वर्षभरि मप्रति उसको व्यवहार सम्झँदा मलाई लाग्यो - यो मित्रता मात्र होइन, हामी एक अर्कालाई माया गर्छौं। सायद प्रणय दिवसको वातावरणले पनि मलाई उसको मायाको महत्त्व बुझायो। उसको सम्झनाले मात्र पनि मनमा मिठास भरिन्थ्यो तर उसले किन भनेन? के मैले नै पहिला भन्नुपर्छ? ठिक छ, आज कलेजले प्रणय दिवस मनाइरहेको छ - म त्यहीं उसको मन सुन्नेछु, अनि भन्छु।
कलेजको हल सजिएको थियो - फूल, बेलुन, प्रेमपत्र र प्रेमका उद्धरणहरूले। कतै मुटुको चित्र, कतै रातो गुलाफ। बाहिर पनि फूलबारी र बगैंचा सजिएका थिए।
विकासले पनि आज आस्थालाई आफ्नो मनको कुरा भन्ने सोचिरहेको थियो। उसले देख्यो - आस्था रातो गाउन लगाएकी थिई। आज उसले रोमियो-जुलियटको प्रेम-नाटकमा अभिनय गरिरहेकी थिई। आज आस्था सधैंभन्दा झन् सुन्दर देखिएकी थिई -स्वर्गबाट झरेकी अप्सराजस्ती। उसलाई लाग्यो, आजै नभने भोलि ढिलो हुन्छ।
म दौडिँदै गएँ, उसको हात समाएँ र बगैंचामा लगेँ। हल्का हावा चलिरहेको थियो, फूलहरूको मिठो बास्ना आइरहेको थियो। वातावरण रमाइलो थियो। आस्थाले उसले समाएको हात छुटाइनन्, ऊ पनि मोहित भएर सँगै दौडी। बगैंचाको बिचमा पुगेपछि विकासले आँसु, हाँसो, डर र कम्पन मिसिएको स्वरमा भन्यो, ‘आस्था, म तिमीलाई साथी मात्र होइन, जीवनसाथी बनाउन चाहन्छु। के तिमी मेरो भ्यालेनटाइन बन्न चाहन्छौ? म तिमीलाई खुसी राख्न चाहन्छु, तिम्रै संसारमा रम्न चाहन्छु।’
आस्थाको मन खुसीले भरियो। आँखाबाट बलिन्द्र आँसु झर्यो। ऊ मुस्कुराउँदै भनी, ‘म पनि तिमीलाई धेरै माया गर्छु। मलाई लाग्छ हाम्रो जोडी भगवान्ले नै बनाएको।’
त्यत्तिकैमा हावा चल्यो, बोटबिरुवाका फूलहरू झरेर वरिपरि वर्षाजस्तै छरिए। त्यस क्षण वातावरण नै मिठासले भरिएको थियो।
दुवै हात समाउँदै हलतर्फ फर्किए। विकासले एउटा रातो गुलाफ टिपेर आस्थाको चुल्ठोमा सिउरिदियो। उनीहरूले मायाको अनुभूति गरिरहेका थिए। लाग्थ्यो -हावा, बगैंचा, चराचुरुङ्गी सबैले प्रेमको गीत गाइरहेका छन्। घाम, पानी, जताततै माया नै माया। विकासले जुरुक्क उठाएर अँगालो हाल्यो। आस्था लाजले गुलाबी भई।
‘ह्यापी भ्यालेनटाइन, मेरो माया,’ विकासले भन्यो।
आस्थाले लुसुक्क हाँस्दै भनी, ‘ह्यापी भ्यालेनटाइन... यु टु, तिमीलाई पनि!’
प्रकाशित: २ फाल्गुन २०८२ ०६:०६ शनिबार



