कला/साहित्य

पाहुना कोठा

लघुकथा

"ए छोरी आई!"

आमाको स्वर सुन्नासाथ बाबा आँगनतिर निस्किए। गेट खुल्यो। सिर्जनाले झोला भुइँमा राख्दै मुस्कुराई। आमाले अँगालो हालिन्।  

"ज्वाइँ खोई?"

"केही महिनाका लागि विदेश जानुभएको छ।"

"अनि त एक्लै आयौ?"

"हो। यसपालि एक महिना जति बस्छु भनेर सासूससुरासँग सल्लाह गरेर आएकी।"

आमाको अनुहार उज्यालियो।

"राम्रो गरिस्। घर त तिमी गएदेखि सुनसानै छ।"

चिया पिएपछि सिर्जना आफ्नो पुरानो कोठातिर लागिन्। ढोका खोलेर पस्नेबित्तिकै उनी रोकिइन्। भित्तामा टेकिएका धानका बोरा, पुराना बाकस, भाँडाकुँडा र कुनामा थन्किएको सिलाई मेसिनले कोठा भरिएको थियो। उनले वरिपरि आँखा डुलाइन्।

"आमा, मेरो सामानहरू?"

आमा ढोकामै उभिइरहिन्।

उत्तर दिन नसक्दा बाबाले सहज स्वरमा भने, "तिम्रो बिहेपछि यो कोठा भण्डार बनायौं। तिम्रा केही सामान राखेका छौं। केही काम लाग्नेहरू आफन्तलाई दिएका थियौं।"

सिर्जनाले भित्ताको एउटा कुनामा हात फिजाइन्। त्यहीँ उनको उचाइ नापेर बनाइएका पेन्सिलका रेखा अझै मेटिएका रहेनछन्। ओठमा मुस्कान आयो तर आँखामा चमक रहेन।

"अनि म कहाँ बस्ने?"

"पाहुना कोठा तयार छ," आमाले बिस्तारै भनिन्।

सिर्जनाले झोला उठाइन्। पाहुना कोठामा पुगेर ओछ्यानछेउ राखिन्। झ्यालबाट आफ्नो पुरानो "कोठाको ढोका देखिन्थ्यो।

आमा पानीको गिलास लिएर भित्र आइन्।

"मन दुखायौ कि?"

सिर्जनाले हल्का मुस्कुराउँदै गिलास समातिन्।

"दुखाएकी होइन, आमा... एउटा कुरा बल्ल मात्र थाह पाएँ।"

"के?"

"छोरीको बालापन माइतमै रहँदो रहेछ। छोरीचाहिँ बिहेसँगै पाहुना भइहाल्दी रहिछे।"

आमाको हातमा रहेको गिलास हल्का काँप्यो। ढोकाबाहिर उभिएका बाबाले भण्डार कोठातिर एक नजर लगाए, फेरि चुपचाप फर्किए।

"माइती घरको आफ्नो कोठा भण्डार कोठामा रूपान्तरण भएपछि बस्न पनि अब छुट्टै कोठा चाहिने रहेछ।"

ढोकाबाहिर उभिएका बाबाले केही भन्न खोजे तर शब्दहरू ओठमै रोकिए।

प्रकाशित: १ श्रावण २०८३ १२:३३ शुक्रबार