कला/साहित्य

‘हनुमान अंश’को छायांकनमा रहस्यमय बाँदर देखेका गोपाल भन्छन् : भगवान आफैँ हेरिरहेजस्तो लाग्यो

बलिउड अभिनेता भगवान दास पटेल अहिले फिल्म ‘हनुमान अंश’ मा गोपालको भूमिका निर्वाह गरेर चर्चामा छन्।

‘हनुमान अंश’को सफलता यसबाट पनि देखिन्छ कि दुई करोड भारुमा बनेको यस फिल्मले अहिलेसम्म दुई अर्बभन्दा बढी भारु कमाइसकेको छ। भारतको मध्य प्रदेशस्थित जबलपुरदेखि मुम्बईसम्मको उनको यात्रा भने सहज थिएन। रंगमञ्चमा करिब ६ वर्ष काम गरेपछि उनले टिभी र फिल्ममा साना-ठूला भूमिका पाएका थिए। दासले ‘मुझसे दोस्तीशिप करोगे’, ‘प्रेम रतन धन पायो’, ‘थार’, ‘रंगबाज’ र ‘फोटोग्राफ’ लगायतका फिल्म तथा शृंखलामा काम गरेका छन्।

उनका अनुसार एक जना चिनजानकै व्यक्तिले उनलाई ‘हनुमान अंश’ फिल्मबारे जानकारी दिएका थिए। फिल्म नीम करोली बाबामा आधारित रहेको र उनको भूमिका गोपालको हुने बताएपछि उनी निर्देशक विशाल चतुर्वेदीलाई भेट्न पुगे। कथा सुनेपछि उनले अडिसन दिए र छनोट भए। ‘पैसा धेरै थिएन, तर भूमिका राम्रो थियो। मैले एक वा दुई दिनपछि अडिसन दिएँ। मेरो एउटा मात्र अडिसन भयो र म छनोट भएँ,’ उनले दैनिक भास्करसँग भनेका छन्।

फिल्मको छायांकनका क्रममा हरेक दिन हनुमान चालिसा पाठ र भगवान गणेशको पूजा गर्ने गरिएको उनले बताए। उनका अनुसार बजरंगबलीको मूर्ति स्थापना गर्ने दृश्य छायांकन भइरहेका बेला कालो अनुहार भएको एउटा बाँदर बरगदको रूखमा आएर बस्यो। ‘उसले धेरै समयसम्म मूर्ति स्थापना भइरहेको हेर्‍यो। हामीले केरा दियौं र उसले छायांकन हेर्दै केरा खायो। झुपडी बनाउँदासम्म पनि ऊ त्यहीं थियो। हामीलाई लाग्यो, उसले पूरै छायांकनको निगरानी गरिरहेको छ,’ उनले भने। गाउँलेहरूले पनि करिब १३-१४ वर्षमा त्यहाँ त्यस्तो बाँदर नदेखेको बताएका थिए।

भगवान दासले फिल्मको रेलको दृश्य आफूलाई निकै मन पर्ने बताए। फिल्ममा महाराजजीले रेल रोक्छन् र बेलायती अधिकारीहरूले टिकट नभएको भन्दै रोक्न खोज्छन्। पछि टिकट भेटिन्छ। ‘कहिल्यै पनि सन्त वा ऋषिलाई रेल चढ्नबाट नरोक्नुहोस्,’ भन्ने संवाद रहेको उक्त दृश्य छायांकन गर्दा आफू निकै भावुक भएको उनले बताए। गोपालको महाराजजीसँगको सम्बन्ध पनि त्यस दृश्यमा गहिरो रूपमा देखाइएको उनको भनाइ छ।

फिल्म सफल भएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको दासले बताए। पछिल्ला केही दिनदेखि लगातार फोन र सन्देश आइरहेको भन्दै उनले दर्शकको मायाले आफू भावुक बनेको बताए। ‘धेरै मानिसहरूले मलाई चिन्दैनन्, तैपनि मेरो लागि प्रार्थना गरिरहेका छन्। म सकेसम्म धेरैलाई जवाफ दिएर धन्यवाद दिने प्रयास गर्छु,’ उनले भने।

उनलाई बाल्यकालदेखि नै अभिनयमा रुचि थियो। मोबाइल फोन नभएको समयमा रेडियोमा कलाकारका अन्तर्वार्ता सुनेर उनी डायरीमा लेख्ने गर्थे। उनले मुम्बईका विभिन्न विद्यालयको ठेगाना संकलन गरेर कलाकार बन्ने अवसर माग्दै पत्रसमेत लेखेका थिए। १२ कक्षा पढेपछि उनले राष्ट्रिय नाटक विद्यालयबारे थाहा पाए। रंगमञ्चको अनुभव आवश्यक भएपछि गुरु अरुण पाण्डेको सहयोगमा रंगमण्डलसँग जोडिए। करिब ६ वर्ष रंगमञ्चमा काम गरेपछि उनले दुई पटक राष्ट्रिय नाटक विद्यालयका लागि प्रयास गरे, तर छनोट भएनन्। पछि लखनऊको भारतेन्दु नाट्य एकेडेमीमा भर्ना भए।

मुम्बई आएको करिब डेढ महिनापछि उनलाई बुन्देली भाषामा आधारित टिभी धारावाहिक ‘देवी’ मा काम गर्ने अवसर मिल्यो। उनले कलाकारलाई बुन्देली शब्द र उच्चारण सिकाउने काम गर्थे। पछि त्यही धारावाहिकमा सानो भूमिका पनि खेले। त्यसपछि उनले ‘मुझसे दोस्तीशिप करोगे’ मा अटो चालक, ‘प्रेम रतन धन पायो’ मा कैकेयी र ‘रंगबाज’ मा गज्जूको भूमिका निर्वाह गरे। ‘फोटोग्राफ’ मा कुल्फी बेच्ने व्यक्तिको सानो भूमिका पाएका उनले त्यसका लागि जुहूमा कुल्फी बेच्नेहरूसँग करिब १०-१५ दिन बिताएर उनीहरूको काम अवलोकन गरेका थिए।

‘मलाई अरू केही थाहा छैन। मैले नाटक सिकाउनेदेखि सडक नाटकसम्म गरेँ, अन्य काम पनि गरेँ। तर अभिनयप्रति प्रतिबद्ध रहेँ। व्यक्तिले आफूलाई आनन्द दिने काम गर्नुपर्छ। सफल होस् वा असफल, मनपर्ने काम गर्दा छुट्टै सन्तुष्टि हुन्छ,’ उनी भन्छन्। कुराकानीमा उनले ‘हनुमान अंश’ पछि आफू केही परियोजनाका लागि कुराकानीमा रहेको पनि बताए।

उनका अनुसार जबलपुरमा छायांकन गरिएको एउटा फिल्म रिलिजको तयारीमा छ भने अर्को फिल्म फेस्टिभलमा जाने तयारीमा छ। ‘मेट्रो सिटी’ नामक डकु-ड्रामा पनि रहेको उनले बताए। ‘हनुमान अंश’ पछि दर्शकबाट पाएको मायाले आफूलाई नयाँ कामका लागि आशावादी बनाएको उनले बताए।

प्रकाशित: २७ भाद्र २०८३ ०९:५२ शनिबार