उत्ताउली सुँगुर्नीजस्ती पोथीलाई तिनीहरूले मिलेरै व्यभिचार गरेका थिए। पछिल्लो भाग मोटो झोल्लिएको तर अगाडिबाट हेर्दा दुब्लो शरीर भएकाले के जस्ती भन्नु न के जस्ती त्यो। पछाडिबाट मोटी भ्यात्ली सुँगुर्नी र अगाडिबाट दुब्ली - धेरै बेत ब्याइसकेकी कुकुर्नीजस्ती।
पख्नु है त। यहाँ यस सुँगुर्नी र कुकुर्नीमाथिको व्यभिचारको प्रसंग किन चाहियो भन्ने प्रश्न उठ्न सक्ने देखियो। तर यो किन आयो भने तत्काल मैले बिर्से पनि कारण यस्तो हुनुपर्छ - म स्यालहरूको कथा भन्न खोज्दै थिएँ र एकलकाँटे स्वभावका हुने यी धेरै स्यालले यो एउटै सुँगुरकुकुर्नी स्याललाई मिलेरै व्यभिचार गरेका थिए भन्ने प्रसंगले स्यालहरू पनि परस्पर फाइदाका निम्ति मिल्न सक्छन् भन्ने तर्कलाई पुष्टि गर्न सक्छ– भनिन्छ नि, अप्राकृतिक गठबन्धन।
त्यस व्यभिचारकै माध्यमबाट यस भ्यात्लीको भाग्योदय भयो र यो समूहकी महत्त्वपूर्ण नटी बन्न पुगी भन्ने कथा अहिले आवश्यक भएन।
त्यहाँ कुनै गोल्डेन ज्याकलजस्ता स्यालहरू थिए– सुनको जलप लगाएका कुकुरजस्ता। कुकुरजस्ता भन्दा रूपका दृष्टिले भन्ने मात्र बुझियोस्, स्वभाव वा जातिका दृष्टिले होइन किनभने कुकुर इमानको प्रतीक हुने गर्छ भन्ने कुरा यहाँनेर ख्याल गर्नुपर्ने हुन्छ।
केही स्ट्राइप्ड हाइना प्रजातिका जन्तुहरू थिए, जसलाई ‘झन्डै स्याल’ भन्न सकिन्छ। रातिमा बढी सक्रिय हुने र अर्कैले गरिदिएको सिकार वा अरूले खनिदिएको खोरमा बस्न रुचाउने, आफू जाँगर नगर्ने र चोरी खाने स्वभाव स्यालसँगै मिल्ने हुनाले ‘झन्डै स्याल’ भनिएको भन्ने बुझियोस्।
मैले ‘यस्तो बुझियोस्’ भनिरहँदा टेक्स्ट पढेर आफ्नै स्वतन्त्रताले अर्थ बुझ्ने तपाईंको अस्तित्वमाथि हस्तक्षेप भएको अनुभव गर्नुहुन्छ? यो तपाईंको अज्ञान हो र यस अज्ञानमाथि विजय गर्नुहोस्।
तपाईंको अधिकार सर्वदा अपरिमित र अनतिक्रम्य छ।
‘हात मिलाउने हो? एउटा महत्त्वपूर्ण सिकार हुने बलियो सम्भावना छ,’ मध्यरात्रिमा विशेष दूत पठाएर डाकिएको स्ट्राड्रप्ड हाइनाको मुखियालाई गोल्डेन ज्याकलको मुखियाले आफ्नै खोरभित्र सम्बोधन गर्यो।
स्यालहरू आफ्नो फाइदा–बेफाइदाका विषय वा प्रसंगहरू सुँघेरै थाहा पाउँछन्। तसर्थ तिनीहरू स्याल हुन्।
सपना वा कल्पना बडो गजबको कुरा हुन्छ। स्यालहरू मान्छेको भाषामा बोलिरहेका थिए - यो त आश्चर्य हुनुपर्ने हो नि तर आश्चर्य के थियो भने मलाई आश्चर्य लागेको थिएन। मानूँ म अर्को लोकमा पनि स्यालहरूले मान्छेको भाषा बोलेको सुन्न अभ्यस्त भइसकेको थिएँ।
‘अनि ?’ हाइनाले संक्षिप्त प्रश्न गर्यो। यस्तो बेला बोलीमा सन्तुलन र सावधानी राख्न खप्पिस छ यो भन्ने कुरा गोल्डेन ज्याकलले बुझिहाल्यो।
‘भोज छ भोलि मध्यरात्रिमा, दुवैलाई फाइदा छ आऊ,’ गोल्डेन ज्याकलले प्रस्ट भन्यो।
आउँदो दिनको रात्रिभोजमा ससाना अन्य प्रजातिका जनावरहरूका परिकार थिए– सुँगुरहरू, बाँदरहरू र केही भेडाका लासहरू पनि थिए। गोल्डेन ज्याकलको मुखिया प्रसन्न मुद्रामा देखिएको थियो।
स्वप्नलोकमा सहजै उड्न सकिन्छ र त्यो आश्चर्यको विषय पनि हुँदैन। यतिबेला म नेपालको कुनै पहाडी गाउँमा एउटो बुढो घरको पिँढीमा बसेर मोहीमकै खाँदै रहेछु र सायद यो पचास वर्ष अगाडिको दृश्य हुनुपर्छ किनभने त्यसमा मैले आफूलाई सोह्रवर्षे ठिटो देखें।
मैले देखेको दृश्य - ‘किन रुनु, कति रुनु, चोरी गर्नेहरू, अपराध गर्नेहरू, कुनै न कुनै दिन पक्डिनु र पुलिसको हिरासतमा कुटाइ खानु सामान्य कुरा हो, हाम्रो लागि पो प्रिय पुत्र, अन्यथा न्यायको दृष्टिमा अपराधी नै हो,’ त्यस घरका बुढा मान्छेले पल्लो पिँढीमा कोदो केलाउँदै गरेकी आफ्नी बुढीतिर फर्केर भने।
बुढा - भोटो पुरानो, अस्कोट नयाँ र कछाड गुर्मैलो लगाएका, बलियो डल्लो शरीरका रहेछन्।
बुढी - नाकमा फुली र बुलाँकी पनि लगाएकी, निलो भुइँमा सेता थोप्ला भएको चोलो र छिँटको गुन्यु लगाएकी अनि बुढालाई आफ्नो लोग्ने मानेकी।
‘कस्तो राम्रो थियो जन्मिँदा,’ बुलाँकी हल्लिएको नाक रुन्चे स्वरमा पुछेर तिनले भनिन्।
‘जन्मिँदा सबै मान्छे राम्रै हुन्छन्, देउताले कुँदेर पठाएका। यता आएपछि मान्छेले जान्ने भएर छिनो चलाउँछ जथाभावी त्यसैमाथि। जन्मिँदाको राम्रो त कता पुग्छ कता,’ बुढाले दार्शनिक मुद्रा बनाएर भने।
‘त्यसलाई सिकाउने–अराउने त हामी नै हो, कसले चलायो त छिनो?’ बुढीले भनिन्।
‘मान्छेमाथि एउटा छिनो मात्र चल्छ भनेकी? ओल्लो–पल्लो घर, बरालिँदै हिँड्ने गँजडी सँगाती, स्कुलका मास्टर, चोकैपिच्छे अर्ती फलाक्ने– देखे–नदेखेका कति कति छिनाहरू,’ बुढाले उत्तर गरे।
‘मनश्चञ्चलमस्थिरम्,’ हो मनको जातै तरंगिन्छ। तरंगै तरंगको बाटो हिँडेर केही वर्ष पछाडि पुगिरोकिइन् तिनी अर्थात् ती बुढी आमै। त्यहाँ उनले देखेको प्रेम र तज्जन्य चिन्ताको दृश्य यस्तै थियो– बुढी आमैद्वारा वर्णित त्यो पुरानो दृश्य।
‘यस्तो बाली उमारेर खाने के, छोराछोरी पढाउने केले, टालाहरू फेर्ने कसरी?’ पाक्ने बेलाको पातलो गहुँबारीमा उभिएकी चिसो सिरेटोलाई थोत्रो बर्कोले छेक्ने प्रयत्न गर्दै गहुँको बाला र दाना छामेर तिनले भनिन्– ‘खै भित्र गाब, भुस, पपटो मात्र छ।’
‘के पढ्छ त्यसले र पढाउने? मास्टर नानी भन्थे– नौ कक्षा पनि नपढी पास भइँदैन। यो वर्ष त के, अर्को वर्ष पनि पास गर्दैन त्यसले। दिनरात काँक्राचोर, कुखुराचोरहरूसँग संगत छ त्यसको। अर्को जुनीमा स्याल भएर जन्मिने पो हो कि,’ सुस्केरा हालेर बुढाले भने, ‘राजनीति गर्छु भन्छ रे, काठमान्डू जान्छु भन्दै हिँड्छ रे तेरो छोरो।’
‘हे भगवान्, नपढी हुन्छ राजनीति?’ बुढी निराश देखिइन्।
‘त्यता पर्दैन,’ बुढाले भने, ‘मास्टर हुन, इन्जिनियर हुन, डाक्टर हुन जाने हो र? तिनलाई कजाउन कोर्रा लगाउन मात्र जाने पुग्छ, यिनीहरू कता जानु त? कुन्नि ठम्याएरै पो भनेको हो कि ?’ बुढाले भनाइ पूरा गरी कान्लामा जम्मा पारेका सुकेका दाउराहरू काँधमा बोके।
उमेरभन्दा बढी पाकेका देखिए तिनीहरू– चिन्ताका बखत सुहाउँदो पारेका होलान् आफूलाई।
दरर पानी बर्सिएकाले उनीहरू घर नामको झुप्रोभित्र पसे।
बुढीको तरंग सकिएकाले पुनः मसहितको तत्कालीन वर्तमानमा फर्किनुपर्यो।
मसहितको तत्कालीन वर्तमानको दृश्यः
हो, अघि छुटेको ठाउँबाट ‘मैले देखेको दृश्य’लाई म पुनः कन्टिन्यु गर्छु।
‘मोही कति मिठो, थप्नुहोस् आमै,’ मैले भनेँ। ‘तपाईं काठमान्डूबाट आउनुभयो र छोरो सम्झाइदिनुभयो,’ मोही थप्तै गरेकी भएर भनिन्।
‘अनि तपाईंको छोरा जेलमा थिए, म अघिल्लो पटक आउँदा। जेलबाट कसरी छुटे?’ मैले सोध्न हुन्छ लागेर सोधेँ।
‘जेलभित्रै राजनीति गरे रे। खै कुन चाहिँ पार्टीका कार्यकर्ता पनि बने रे।’
‘अनि?’
‘पल्लो गाउँका लफंगाहरूलाई त्यसै गाउँमा कुखुरो, ताप्के र खसी चोर्दा भुलबस एउटी बुढीले देखिछन्, अनि यस बुढीले बिताउँछे भन्ने लागेर बुढीलाई बन्चरोले गिँडेछन्। त्यसरी जेल परेका तिनै उपद्राहाहरूसँग एउटै जेलमा हाम्रो लफंगो पनि परेछ,’ बुढीले भनिन्, ‘खै के के हो, सबै त म पनि के बुझ्छु र!’
‘अनि?’
‘आन्दोलन थियो त्यतिबेला। आन्दोलन सफल भएपछि उनीहरूलाई अपराधी भनिएन, राजनीतिका बन्दी भनियो,’ बुढाले भने, ‘त्यसपछि छोडियो, आममाफी भनिन्छ बाबु त्यसलाई।’
‘घर आउँदा दुब्लो निन्याउरो थियो र निधारमा ठाडो चिरिएको लामो दाग लिएर आएको थियो,’ बुढी आमैले भनिन्।
‘पुलिसको धारे भाटाको दाग रे,’ बुढाले रोकिएर भने– ‘कलंकको दाग।’
यी भए पुराना कुरा।
मूल नाटक अर्थात् वर्तमान सुरुमा तिनीहरूले अर्थात् स्यालहरूले आमाको सम्मानमा मातृगान गाए -
‘कति राम्री हाम्री आमा कल्पवृक्षजस्ती
दियौ माते हामीलाई सधैंभरि मस्ती
रगत बग्ने तिम्रा नशा मेची–काली जस्ता
कर्णाली र सुनकोसी दुधकोशी जस्ता
तिम्रो शिर कति अग्लो चाँदीको श्रीपेच
दिन मात्र जानेकी यी आमा जस्तो को छ?
छाती तिम्रा सुलीकोट हाँडीकोट हुन् कि!
यिनीभित्र अनमोल खजाना पो छन् कि!
तिमी हिँड्ने पैतालामा सुनै सुन फल्छ
यताउता घुमी सही ढडियामा पर्छ
हे उन्नता, सुसम्पदा, अचला, अनन्ता
भक्तलाई दर्शन देऊ किन जानु अन्त!’
मातृगान सकिएपछि मञ्चमा र दर्शकदीर्घामा सबै बसे। दर्शकदीर्घामा ससाना जनावरहरू थिए– भेडाबाख्रा, बाँदर र मुसाहरूको भव्य उपस्थिति थियो।
यहाँ केही थप कुरा पहिल्यै प्रस्ट पार्नुपर्ने हुन्छ।
यी जनावरहरूमा मानिसका विशिष्ट लक्षणहरू पनि थिए, जस्तो भनौं न– यिनीहरू आवश्यकताअनुसार दुई खुट्टाले हिँड्न सक्थे, मान्छेको भाषामा बोल्न सक्थे, ताली बजाउन सक्थे र सबभन्दा ठुलो मानवीय लक्षण त विरोधी प्रजातिसँग मिलेर आफ्नै बन्धुहरूलाई पछार्न वा सिल्टिमुर खुवाउन पनि सक्थे।
मञ्चमा स्यालहरू थिए।
सुनका असर्फी, हार, कुण्डल र औंठीहरू लगाएका गोल्डेन ज्याकलहरूको नेतृत्वमा उसकै वर्ग– कालो ढाड हुने ब्ल्याक ब्याक्ड ज्याकल, ढाडमा तेर्सो सेतो रेखा हुने साइड स्ट्रिप्ड ज्याकल आदि प्रजातिका समूहहरू थिए।
त्यसै गरी स्ट्राइप्ड हाइनाहरू पनि थिए। यिनीहरू पनि अब गोल्डेन ज्याकलसँग मध्यरात्रि भोज खाइसकेपछिको अवस्थामा शरीरभरि सुन लिपेर झन्डै उनीहरूजस्तै देखिन समर्थ भएका थिए। तिनका पछि पछि शरीरभरि थोप्ला भएका स्पटेड हाइना र अलिकति बिरालोकै प्रजाति हो कि भन्ने भान हुने आर्डवोफ प्रजातिका जन्तुहरू थिए।
हो, यी सबै सुजनावरहरू मञ्चमा नाट्यमञ्चनका निम्ति तयार थिए।
आमाप्रति सम्यक् भक्ति र समर्पणसहितको मातृगान सकिएलगत्तै स्यालहरूले अत्यन्त रूपवती अग्ली महिलालाई लिएर आए र सिँगारिएको ठुलो कुर्चीमा विराजमान गराए।
तिनी चाँदीको मुकुट, हरियो पटुकी र पहेंलो साडीमा पीताम्बरा भगवती देखिन्थिन्। ‘दर्शक महानुभावहरू, यी हाम्री आमा हुन्,’ गोल्डेन ज्याकलको मुखियाले मेघगम्भीर वाणीमा भन्यो, ‘हामीभन्दा अगाडिका ठुल्ठुला प्राणीहरूले आमाबाट फाइदा मात्र लिए, चाहे हात्ती हुन्, चाहे घोडा हुन्, चाहे बाघ र चाहे राजा सिंह नै किन नहुन्, ती सबै स्वार्थलोलुप थिए र घुमाइफिराई आमाकै खाने तर आमाको सेवा सुश्रुषा नगर्ने मातृघातीहरू थिए।
अब हामी किमार्थ त्यस्तो हुन दिँदैनौं, बरा भन्दै जरा खन्दै गर्नेहरूको युग सकियो। सच्चा मातृभक्तहरूको युग आयो। तसर्थ हामी चाहन्छौं कि तपाईंहरू के लिन सक्छु भनेर होइन, के दिन सक्छु भन्ने भावका साथ मन, वचन र कर्मले आमाका निम्ति हामीलाई सहयोग गर्नुहोस्। यसो गरेमा मात्र तपार्इंको पनि भलो हुन्छ, जसले आमाका निम्ति हामीलाई सम्पूर्ण प्राण लगाएर सहयोग गर्छ - त्यसले यस लोक र परलोकमा पनि सुख प्राप्त गर्छ। भनिन्छ नि -इह लोके सुखं भुक्त्वा स्वर्गे झल्लरी मल्लरी।’
दर्शकदीर्घामा रहेका भेडा, बाँदर र मुसाहरूले खोकिलाबाट आफ्ना मानवीय हातहरू निकालेर ताली पिटे। ताली पिट्नका निम्ति नै ती हातहरू बनाइएका थिए भन्ने पनि एउटा वैचारिक मत छ।
बहुचर्चित रात्रिभोजपछि हाइना समूहका प्रजातिहरू पनि उल्लेखनीय रूपमा मातृसेवामा लागेका छन् भन्ने कुरा हल्ला मात्र होइन भन्ने तथ्यको प्रत्यक्ष प्रमाण पनि आजको दृश्य थियो। नाटकको आजको मुख्य दृश्य सुरु भयो -
केही हाइनाहरूले आमाको गोडा समाते, केहीले पानी र तेल ल्याइदिने काम गरे। गोडा धोइयो, तेल लगाइयो र छेउमा आगो फुकियो। मातृसेवाको यो अनौठो उदाहरण थियो। आगो यति नजिक हुर्काइएको थियो कि आमा खलखली पसिना निकालेर सुकिरहेकी थिइन्।
गोल्डेन ज्याकलको मुखिया आमाको ठिक पछाडि उभियो र भन्यो, ‘आमाको शरीरमा आजभोलि बारम्बार चिलाउने र पीडा हुने गर्छ। यो कुरा मातृभक्तहरूले मात्र थाहा पाउँछन्, चिलाउँदा कन्याइदिने काम हाम्रो जातिले दाँतले नै गर्छ। तसर्थ भाइहरूले हातगोडा कन्याइदिने काम गरून्, म चाहिँ आमाको गर्धन कन्याइदिन्छु किनभने आमाको गर्धनको मामिलामा म अरू कसैमाथि भर पर्न सक्तिनँ।’
यति भनेर गोल्डेन ज्याकलले आमाको गर्धनमा आफ्ना दाँत गाड्यो। क्रमशः उसलाई पछ्याउँदै आमाको ढाड, हात, पाखुरा, गोडा सबैतिर धेरै जनावरहरूले एक एक गरी दाँत गाड्न थाले।
दर्शकदीर्घामा रहेका भेडाबाख्रा, बाँदर र मुसाहरूले तालीका पर्रा छुटाउँदै मान्छेकै स्वरमा नारा लगाए, ‘मातृभक्ति अमर रहोस्! गोल्डेन ज्याकल जिन्दावाद!’
मञ्चन चलिरहेकै नाटकबिच मैले एउटा अर्थपूर्ण आश्चर्य देखें– पचास वर्षअगाडिको दृश्यमा पहाडको बुढो घरका बाबुआमाले आफ्नो लफंगो छोराले जेलबाट फर्किंदा उसको निधारमा लिई आएको (धारे भाटाको) दागको जुन वर्णन गरेका थिए, ठिक त्यस्तै दाग, अझै म त भन्छु त्यही दाग गोल्डेन ज्याकलको मुखियाको निधारमा पनि थियो।
म स्तब्ध थिएँ तर निदाएकै ऐँठनमा थिएँ।
के मान्छे नै क्रमशः स्याल भयो होला त?
आमाको मांस–शरीर स्यालहरूले कन्याउदा कन्याउदै अर्थात् सेवा गर्दागर्दै पातलो हुँदै गयो। स्यालहरू चाटिरहँदा–खाइरहँदा पनि अघाएनन्।
दर्शकहरू ताली पिटिरहेकै थिए। म निर्बल, वीर्यहीन र किंकर्तव्यविमूढ थिएँ तर जबसम्म दर्शक अर्थात् भेडाबाख्रा, बाँदर र मुसाहरू ताली पिट्दै रहनेछन्, तबसम्म दृश्य फेरिने सम्भावना थिएन।
नढाँटी भनूँ? ती मेरी पनि आमा थिइन् अर्थात् तपाईंकी पनि।
प्रकाशित: १३ मंसिर २०८२ १०:४१ शनिबार