कला/साहित्य

भूगोल साहित्य समाजमा नेपाल

भूगोल साहित्य समाज, काठमाडौंको वार्षिकोत्सव तथा सातौँ वार्षिक साधारणसभा भएकाे छ। वरिष्ठ गजलकार रामबहादुर पहाडीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हाे।

भोटेकोशी बाढीका कारण सिङ्गो मुलुक शोकमा रहेको अवस्थामा वार्षिकोत्सव कार्यक्रम बिनाकुनै विशेष आयोजना सामान्य एवम् औपचारिकतामै सीमित गरिएको थियो।

कार्यक्रमको प्रथम चरणमा भाद्र १० गतेको विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै एक मिनेट मौनधारण पनि गरिएको थियो।

समाजले चार वर्षदेखि वार्षिक उत्सवका अवसरमा प्रदान गर्दै आइएको झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार पनि यस पटक प्रदान गरिएन। प्रत्येक वर्ष प्रदान गर्ने गरी २०७९ सालमा स्थापित सो पुरस्कार पहिलो वर्ष देविचन्द्र श्रेष्ठ, दोस्रो वर्ष रामबहादुर पहाडी, तेस्रो वर्ष हिरण्यकुमारी पाठक र चौथो वर्ष सिर्जन लम्साललाई प्रदान गरिएको थियो।

समाजका आजीवन सदस्य श्री ओम आचार्यले स्थापना गरेका सो पुरस्कार २५०२५।– रुपैयाँ नगद राशि तथा सम्मानपत्र सहित प्रदान गरिन्छ। सो पुरस्कार आउँदाे वर्ष दुई वर्षका लागि एकसाथ दुई जनालाई प्रदान गरिने छ।

कार्यक्रममा मानार्थ सदस्यहरू सुशील श्रेष्ठ र उद्धव खनाल, आजीवन सदस्यहरू नवराज भट्ट, महेशराज खरेल र नरराज आचार्यले मन्तव्य प्रस्तुत गरेका थिए।

वक्ताहरूले समाजको स्थापनाले समाज सम्बद्ध सबैमा साहित्यप्रति अभिरुचि बढाएको भन्दै समाजका क्रियाकलापको प्रशंसा गरेका थिए। कार्यक्रममा समाजका नयाँ सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पहाडीले समाजका साहित्यिक क्रियाकलापको प्रशंसा गर्दै आगामी दिनमा पनि समाजले अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।

दोस्रो सत्रमा आयोजित साधारण सभाले कोषाध्यक्ष हरिश्चन्द्र गौतमले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन तथा सचिव शैलेन्द्रकुमार शाहद्वारा प्रस्तुत सोही आर्थिक वर्षको साङ्गठनिक प्रतिवेदन पारित गरिएकाे थिए।

विनोद नेपालकाे अध्यक्षतामा  सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ। अध्यक्ष विनोद नेपाल, उपाध्यक्ष दिनेशविक्रम थापा, सचिव शैलेन्द्रकुमार शाह, कोषाध्यक्ष हरिश्चन्द्र गौतम,सदस्यहरू ओमप्रकाश आचार्य, मुकुन्द अर्याल, गीता निरौला भण्डारी, कालीचरण बस्नेत र नरराज आचार्य छन्।

समाजको सभाकक्ष दरबारमार्गमा आयोजना गरिएको कार्यक्रममा उपाध्यक्ष दिनेशविक्रम थापाले स्वागत मन्तव्य राखेका थिए। समाजका अध्यक्ष विनोद नेपालको अध्यक्षतामा   भएको कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव शैलेन्द्रकुमार शाहले गरेका थिए।

स्मरणीय छ, भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैँकबाट निवृत्त स्रष्टाहरूद्वारा स्थापित साहित्यिक संस्था हो र यसको स्थापना र दर्ता २०७६ सालमा भएको हो।

प्रकाशित: ७ आश्विन २०८३ १३:२० बुधबार