केन्द्रबाट नियमित र समान सतहमा गरिएको समविस्तारले त्यसको परिधि निर्माण गर्छ र केन्द्र स्थिर देखिन्छ। परिधिका यावत् कुराहरू त्यसैको सापेक्षमा हेरिन्छन्। यस मानेमा केन्द्र कुनै पनि विषय, परिवेश वा सन्दर्भको सत्य हो, चेतना हो, आत्मा हो, मूल तत्त्व हो। त्यो स्वयं नदेखिए पनि त्यसको अस्तित्व बिनापरिधि सम्भव हुँदैन। परिधि त्यही सत्य, चेतना वा आत्माको अभिव्यक्ति हो, त्यसैको देखिने संसार हो, रूप वा घटना हो, अनुभव तथा अभिव्यक्तिको विविधता हो । केन्द्र हराउनु वा गुमाउनु भनेको जीवन दिशाहीन हुनुजस्तै हो र परिधि मात्र भेटिनु वा समात्नु पनि जीवन सतही हुनु हो, आफ्नो स्व गुमाउनु हो, गुरुत्व हराउनु हो। केन्द्रको अनुपस्थिति हुनु परिधि शून्य हुनु हो र परिधि नहुनु केन्द्र अर्थहीन हुनु पनि हो। आत्मा र शरीर, जन्म र जीवन, विचार र कर्म, सिद्धान्त र व्यवहार स्वभावैले केन्द्रदेखि परिधिसम्मका विस्तार हुन्।
के आत्मा केन्द्र हो र देह वा दृश्य परिधि हो? उपनिषद् भन्छ– ‘आत्मा द्रष्टा हो, श्रोता हो तर स्वयं दृश्य होइन।’ यस अर्थमा आत्मा परिवर्तन हुँदैन र यो जन्म वा मरणभन्दा पर छ। आत्मा अनुभव गर्ने चेतना हो र देह अनुभवको माध्यम हो । देह जन्मिन्छ, बढ्छ, क्षय हुन्छ, जसरी परिधि देखिन्छ, बदलिन्छ र फैलिन्छ। जब मानिस बाह्य परिधिमा मात्र रमाउँछ, ऊ केन्द्रबाट टाढा हुँदै जान्छ। जब खोज गहिरिँदै जान्छ, परिधि साँघुरिँदै जान्छ र केन्द्र प्रकट हुन्छ । त्यसलाई हामी आत्मबोध, निर्वाण वा मोक्ष भन्न सक्छौं। यो स्वभावैले आत्मानुभूति जस्तै हो। विज्ञान भन्छ– सत्य सापेक्ष हुन्छ। त्यसो भए सापेक्षमा यिनीहरूको अस्तित्व कहाँ रहन्छ?
बुद्ध केन्द्रलाई शून्यता भन्छन् र उनका मतमा स्थायी केन्द्र असम्भव छ । यसको अर्थ केन्द्र छैन भन्ने होइन। शून्यता हुनु नहुनु होइन, केन्द्र बोधको खालीपन हो। शंकराचार्य ब्रह्मलाई नै केन्द्र मान्छन् । उनका मतमा केन्द्र छ तर अज्ञानले ढाकिएको छ। गीतामा कृष्णको उपदेशलाई केन्द्र स्वीकार्ने हो भने अर्जुनको विषादलाई परिधि मान्न सकिन्छ।
ऋग्वेद भन्छ– सत्य एकै हो, ज्ञानीहरूले अनेक नाम दिन्छन्। त्यही सत्य नै केन्द्र हो। हाम्रा पुराणहरू शिवलाई केन्द्र र शक्तिलाई परिधि मान्छन्। पूर्वीय मान्यतामा मन्दिरको गर्भगृहलाई केन्द्र र प्रदक्षिणा मार्गलाई परिधि मानिएको छ। ओशो भन्छन्– तिमी भौंतारिँदै हिँडिरहेको केन्द्रतिर होइन, केन्द्रबाट टाढा हिँडिरहेको परिधि मात्रै हौ। केन्द्रलाई समात्ने बित्तिकै त्यो परिधि बन्छ। बाइबल भन्छ– ईश्वर समय र स्थानभन्दा बाहिर केन्द्रमा छ र सृष्टि परिधिमा फैलिएको छ । कुरान अल्लाहलाई केन्द्र र सारा सृष्टिलाई परिधि मान्छ । गीता दर्शनका अनुसार कृष्णले अर्जुनलाई भनेको ‘आशक्ति त्याग’ केन्द्र हो र ‘कर्म गर’ परिधि। त्यस अर्थमा महाभारत स्वयं परिधिको महाकाव्य हो । भीष्मको शरशड्ढया, विदुरको नीति, कृष्णको मौनता पनि विभिन्न समय र परिवेशका केन्द्रहरू हुन् । सम्भवतः संसार परिधिमा घुम्छ र धर्म केन्द्रमा उभिन्छ। धर्म नियम होइन, यो त अन्तर्बोध हो। धर्मको अभिष्ट नयाँ परिधि निर्माण गर्नु होइन, केन्द्रको स्मरण गराउनु मात्र हो। जो परिधिमा मात्र बाँच्छ, ऊ भड्किरहन्छ।
वैदिक गणितको विस्तार केन्द्रबाट परिधितर्फ फैलिने ढाँचामा भएको विश्वास गरिन्छ। युक्लिडियन ज्यामितिमा केन्द्रबिना परिधि सम्भव छैन। परिधिबिना केन्द्र देखिन सक्छ, तर हुन सक्दैन। छाया देखिन्छ, प्रकाश नदेखिन सक्छ तर प्रकाशबिना छाया सम्भव छैन। परम सत्यमा दुवै छैनन् तर केन्द्र र परिधि अविभाज्य छन्। यो गणितीय सीमाभन्दा पनि अस्तित्वगत सीमा हो।
आर्याको जामा पहिरिएर आख्यानकार उमा सुवेदीले परिधिमा कतै परिधि बाँचेकी छिन्, कतै केन्द्रतिर त कतै परिधितिर भड्काएकी छिन् आफ्ना पात्रहरूलाई । कोही केन्द्र निर्माणमा जुटेजस्ता, कोही केन्द्र भत्काएर उपकेन्द्र बनाउलान् जस्ता। भ्रमपूर्ण मानसिकता, विषाद, असन्तुलन तथा अधिकांश छलछामपूर्ण मुखुण्डो लगाएका पात्रहरूले निर्माण गरेको मायावी केन्द्र र त्यसैको वरपर रहस्यपूर्ण तवरले स्वैरकाल्पनिक रंगहरूमा पोतिएका कथा–उपकथा र भ्रान्तिहरू क्यानभासमा जेलिँदै–फुस्किँदै, फुस्किँदै र फेरि जेलिँदै गरेको परिधिको परिधि हो उनको परिधि । बनोट, बुनोट, कथ्यहरूको प्रयोग र शैलीका हिसाबले फरक खाले स्वाद पस्कन सफल उपन्यास ‘परिधि’ उनका पूर्ववर्ती उपन्यासहरूभन्दा धेरै अर्थले उत्कृष्ट उपन्यास हो।
एउटा रहस्यमय कार दुर्घटना र त्यससँग गाँसिएका पात्रहरूको खोजी गर्दै जाँदा कथाभरि एकपछि अर्को रहस्य थपिँदै जान्छन्। कताकति रहस्य खुल्दै पनि जान्छन् तर खुलेको रहस्यले अर्को रहस्य निम्त्याउन पनि छोड्दैन। रहस्यको पर्दा अलिकति खोलिन्छ, पाठक मायावी स्पर्शले तानिन्छ– कहिले परिधिबाट केन्द्रतिर त कहिले केन्द्रबाट परिधितिर। ऊ ठान्छ कि ऊ क्रमशः केन्द्र उन्मुख छ तर ऊ केन्द्रको सम्मोहनमा तानिँदै गर्दा केन्द्र भुलभुलैयामा कतै विलीन भइसकेको हुन्छ र अर्को केन्द्र स्थापित भइसकेको हुन्छ । पाठक कहिले परिधि समातेको भ्रममा रमाउँछ त कहिले केन्द्र भेटिएको भुलभुलैयामा। केन्द्र भेटिएको भ्रममा रमाउँदै गर्दा अचानक त्यही केन्द्र अर्कै उपकथाको परिधि बनिसकेको हुन्छ। कथाले नयाँ उपकेन्द्र निर्माण गरिसकेको हुन्छ।
परिधिको सुरुवातमै उल्लेख गरिएका नाट्यकर्मी आर्या र न्यायाधीश अस्मिता अनि उनीहरूले भोगेको जीवन, मनोदशा र मनोविज्ञानलाई प्रस्तुत गर्ने सिलसिलामा पूर्वा, विम्ब, सोफिया, सारा, अभयसुन्दरलगायत दर्जनौं पात्रहरू क्रमैसित यसरी रहस्यको पर्दा खोल्दै आइपुग्छन् कि पाठकले आख्यान सकिएको पत्तै पाउँदैन। हरेकको कथा एकअर्कामा यसरी जेलिएका छन् कि कुन कहाँ, कति बेला फुस्किन्छ पत्तै हुँदैन। आर्या र अस्मिताको चरित्रमार्फत न्याय, पितृसत्ता र मानवीय कठोरताको गहिरो प्रश्न उठाइएको छ।
आर्या आफैंमा मानसिक अवसादग्रस्त छे, कतिखेर कहाँ के गर्छे, केही पूर्वानुमान गर्नै सकिन्न। त्यस्तो पात्रले निर्माण गरेको आख्यानको संसार कस्तो होला, कसरी अनुमान गर्नु? जब केन्द्रमै अवसाद, मानसिक असन्तुलन र विषमता छ भने परिधि कस्तो निर्माण होला? अधिकांश पात्रहरू बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै घुटन, मौन पीडा र आत्मसंघर्षमा बाँचेका छन्। कतिले अनुहारमै मुखुन्डो लगाएका छन्, कतिले हृदयमा।
कथाको केन्द्रीयता डर, अपराधबोध, पागलपन र मानसिक आघातमा आधारित छ। कथावाचक आफैं अविश्वसनीय छे। ऊ आफ्ना पात्र, कथानक र पाठकलाई शंका, त्रास र भ्रममा राख्न सफल छे। प्रत्येक उपकथाले एउटा शंका जन्माउँछ र अर्को केन्द्र भत्काउँछ।
समाज, धन, सम्बन्ध, प्रेम र त्यागका अनेक उपकथाहरू एकअर्कामा गाँसिएका छन्। विम्ब, अभयसुन्दर र सोफियाको त्रिकोणात्मक सम्बन्ध, पूर्वाको संघर्ष र जीवनका विवशताहरू कथामा गहिराइ थप्छन्।
अधिकांश पात्रहरू कुनै न कुनै विषादले ग्रस्त छन्। उपन्यासले स्त्री चेतना, पितृसत्ता र मानवीय पीडालाई गहिरो रूपमा प्रस्तुत गरेको छ। परिधि सहअस्तित्वको नारीवादी आख्यान हो।
अन्त्यतिर जादुयी यथार्थवाद, प्रतीकात्मकता र रहस्यको प्रयोगले कथा अझ रोचक बनेको छ तर कतिपय स्थानमा नाटकीयता बढी हुँदा कथानक अलिक जटिल र खजमजिएको पनि देखिन्छ।
समग्रमा, परिधि एक रोचक, रहस्यमय र दार्शनिक उपन्यास हो, जसले पाठकलाई निरन्तर सोच्न बाध्य बनाउँछ– के जीवन स्वयं केन्द्रविहीन परिधि मात्र हो?
प्रकाशित: २१ चैत्र २०८२ १२:५४ शनिबार