पानीलाई ओरालो बग्न कसैले सिकाइरहनुपर्दैन तर जति नै बगिरहे पनि सागरलाई कहिल्यै भर्न सकेन। त्यस्तै रहस्यमय छ यो मन पनि। कहिले सागरको पिँधमा पुर्याउँछ त कहिले ब्रह्माण्डतिर घुमाउँछ यो मनले। यस्ता अधीर मन नियन्त्रण गर्न खोज्दा अमूर्त विम्बहरूको जन्म हुन्छ। त्यसैमा विचार र अनुभवहरूको रङ घोलेपछि साहित्य सिर्जना हुने गर्छ। जो अनेक रूप र विधामा प्रकट हुन्छ, त्यसैको लहडमा जगमा उभिएका सर्जक हुन्– बोधराज पौडेल। पौडेलेको पछिल्लो निबन्धकृति हो -‘धमिराको देवल’।
प्रातःकालमा सूर्यको कलिलो किरणले टल्काएको शीतको थोपा मोतीझैं देखिए पनि त्यहाँ जीवन पनि झुन्डिरहेको देख्छन् निबन्धकार। भुइँमा झरेको शीतविन्दुले माटोलाई उर्वर मात्र बनाउँदैन, भँगेरालगायत ससाना जीवको प्यास मेटाइदिन्छ। मन्दिरमा चकचके बाँदरहरूको चलखेल, साँढे, परेवाको आआफ्नै गतिविधिसँग देशको राजनीति जोड्ने प्रयास गरेको पाइन्छ। पर्यटकीय क्षेत्रमा क्युरियोका व्यापारीले पर्यटकसँग गरेको व्यवहार र व्यापारिक शैलीमा मजबुरीको जीवन गाँसिएको देखिन्छ। शीतबाट सामानहरू बचाउन भरियाले कुनामा भोलिको भविष्य थुपार्छ र त्यहीं सामानसँगै भित्री सिरक ओढेर सुतेपछि शीतका बुँदहरूले असर नपार्ने जीवन भोगाइ कलात्मक तरिकाले उनेको पाइन्छ।
मनको रङ हुँदैन, न त स्पर्श नै गर्न सकिन्छ। लेख्दै गर्दा लेखकको मन पनि उडिरहेथ्यो कि भन्ने आभास गराउँछ। कहिले घामजस्तै प्रकाश फैलाएर धर्ती तताउँछ र बादल बनी आकाश ढाकेर बर्साद गराउँछ। कहिले मनलाई रोष, करुणा, पीडाबोध गराउँदै प्रकृति, हावाहुरी, भेल बाढीसित हुत्याउँदै मन शान्त बनाउन खोजे पनि लोभको भाँडो कहिल्यै नभरिने लेखकको बुझाइ ‘लुप्त मनले उघाएका तृष्णा’ निबन्धमा भेटिन्छ। क्षणभरमा ब्रह्माण्ड घुमाउने मनसँग दिक्क भएर होला, निबन्धकार भन्छन्, ‘लोभको अतृप्त चाहनाले नै मनरोगी भएको छ।’
‘सम्बन्ध’ निबन्धमा यहाँ विचारको सम्बन्ध खोजेको देखिन्छ। भिरमा फुलेको गुराँस टिप्न गाह्रो भए पनि देखिरहन्छ तर चन्द्रमालाई देख्न पन्ध्र दिन कुर्नुपर्छ। यिनीहरूको आआफ्नै विशेषता र सम्बन्धहरू फरक छन्। काँसकोे बोट समुन्द्रको बालुवामा फैलिन सक्दैन भने थातथलो छोड्दैमा सम्बन्ध जोडिँदैन भन्ने प्रसङ्ग छ। सृष्टिको संरचना बुझाउन सक्नु नै जीवनले सार्थकता पाउनु हो। अन्डा पकाएर खाने कि बचेराहरू हुर्काउने? लहराले अरूलाई बाँध्छ तर अरूबिना ऊ उभिन सक्दैन, सम्बन्ध त्यहाँ देखिन्छ। गजोबिनाको ढ्याङ्ग्रोको के अर्थ। नुन मसलाको मिश्रण तरकारीमा हुन्छ। जीवनयात्रामा बेगन्ती सम्बन्ध ठोकिरहन्छ। कहिले जोडिन्छ कहिले छोडिन्छ। ‘सम्बन्ध’ निबन्धले विषयवस्तु अनेक उठाएर आफूलाई अर्थपूर्ण बनाएको छ।
जब मनमा ज्वारभाटा चल्छ, त्यो बेला निस्कन्छ बाफिलो सोच विचारका असङ्ख्य भाव। जसले उठाएका अमूर्त विषयले कहिले गुँडमा हुर्कंदै गरेका बचेराहरू त कहिले धनी र गरिब, लोभी र पापीको व्याख्या–विश्लेषण गर्न थाल्छ। अनुभूत गरेका कतिपय विषयले त्यो हुर्कंदै गरेका बचेराहरू होस् या धनीको महलभित्र अशान्त र गरिबको छानोमुनि शान्त हुने प्रतीकात्मक लेखनशैली बेजोड छ। यस्ता प्रसङ्गहरू ‘अन्तरमनको आँधी’मा छन्।
धमिराको जीवन, सृष्टि र विशेषताबारे मिहिन ढङ्गले खोजअनुसन्धान गरी लेखिएको निबन्ध हो -धमिराको गुडँमा छिचिमिराको साम्राज्य। धमिराको रूप र उसले गरेको मेहनतले धेरै कुरा सिकाएको छ भने छिचिमिरा हुनुको दम्भ, रूप र रङ बदलेपछि भुलिने संस्कार। मानवजीवनलाई यस्ता दर्शनका सन्देशात्मक लेखरचनाले ठुलो प्रभाव पार्न सक्छ।
‘समयको चक्र’ निबन्धमा लेखकले समयको चक्रभित्र जीवन र जगत्मा हुने घटनाक्रम उचित ढङ्गले उतारेका छन्। जीवनमा भइपरी आउने हरेक गतिविधि र शरीरको प्रत्येक अङ्गले गर्ने कामदेखि व्यावहारिक पक्षसमेत उतारेका छन्। यो जगत्मा जन्मेपछि मृत्यु हुने सृष्टिचक्रलाई बोटबिरुवा, वनस्पति, जीवजन्तुको जीवनदेखि घामपानी, ऋतु परिवर्तन, सूर्यको महिमा, दियोमा तेल राखेर बालिने परम्परागत संस्कारभित्र गहिरो विचार विज्ञान र पुजारी पण्डितलाई तुलना गर्न बाध्य बनाउँछ। निबन्धकार आफ्नो विचार पोख्छन्, ‘ज्ञान बाँड्न सजिलो छ तर आफैं ज्ञानी हुनु करोडौं गुणा गाह्रो।’
जीवन मान्छेको होस् या कुकुरको, समान हुन्छ तर जिउने शैली फरक हुन्छ भने आयु सृष्टिकर्ताले तोकिदिएको हुन्छ। कुनै कुकुर जन्मेपछि कसैको शरण लिएर बाँच्छ भने कुनैले डुलेर घुमेरै जीवन सिध्याउँछ। बाँचुन्जेल फुर्सद हुँदैन। बफादार कुकुरले राम्रो रेखदेख गर्छ भने मान्छेले पनि राम्रा र नराम्रा सबै कर्म गरिरहेका हुन्छन्। यस्तै सामान्य विषय गर्वबोध गर्दै बुढी हजुरआमा र बुढो कुकुरको गतिविधिलाई लेखक पौडेलले विचारणीय र उदाहरणीय सन्देश प्रस्तुत गरेको छ।
शरीरलाई आवश्यकता र आत्माको जलनलाई तृप्त पार्ने जलको महिमा कहेर कहिल्यै पूरा नहुने बुझाइ भेटिन्छ। केही छिनको तृष्णा शान्त पारे पनि फेरि अतृप्त नै हुने गर्छ। विभिन्न जलको प्रयोगलाई व्यङ्ग्यात्मक प्रहार गर्दै नसालु जल लिनेको खुट्टा डोरीजस्तै बटारिने प्रसङ्गले हाँसो जगाए पनि यथार्थ पस्केको छ। लोकल होस् या बारमा सजिएको रङ्गीन पदार्थ, सबै जलै हो। कुन पिउने? जसलाई गोजीले निर्धारण गर्छ भन्ने बुझाइ पसलेसँग जोड्दै पुरानो बाँकी उठाउन फेरि उधारो दिनुपर्ने बाध्यतामा व्यावहारिक ज्ञानमा जोडेको पाइन्छ। पिउनेले जलदेउता खुसी पार्छ भने घरपरिवारको ख्यालै गर्दैन, ‘छ त एउटै सत्य, पियो र जियो।’
सामान्य विषय मिठो शैलीमा प्रस्तुत गर्न सिपालु पौडेलले दैनिक मजदुरी गरेर पेट पाल्ने जीवनलाई ‘ग्रहणले लुकाएको सूर्यमा सियोको डोब’ निबन्धले उजागर गरेको छ। युगहरू धेरै बितेर गए, हामी बाँचिरहेको कलियुगमा सफा मन भएको मानव भेट्न मुस्किल पर्छ। के पाप, के पुण्य, के नर्क, के स्वर्ग। यो नाशवान् शरीर रहुन्जेल मात्र हो। यस्ता अभिव्यक्ति ‘कपटीहरूको सङ्गत’मा पाइन्छ।
एउटा बाँसबाट बन्ने विभिन्न सरसामानको उदाहरण दिँदै कुन बेला, केका लागि, कुन भाग, कस्तो आकार, कलिलो या छिप्पेको, सबै सबैको ज्ञान भएजस्तै एउटा निबन्धकारमा पनि निबन्धचेत हुनुपर्ने देखाउँछ। नत्र त्यो निबन्ध नभएर टिपोट गरिएको लेखजस्तो हुने भनाइले बोधराज पौडेललाई गहिरो अध्ययन, फराकिलो विचार र चेतनशील लेखक भएको पुष्टि गराउँछ। शीर्षकहरू अलि लामा अनि एउटै निबन्धको धेरै उदाहरणले अलमलाउन खोजे पनि लेखनशिल्पको सौन्दर्यले तान्दै लान्छ।
प्रकाशित: १९ पुस २०८२ ०६:३५ शनिबार



