समाज

वैदेशिक रोजगारीका चोटहरू

विदेशका व्यथा

वैदेशिक रोजगारी धेरै नेपाली युवाका लागि केवल रोजगारीको विकल्प मात्र होइन, परिवारको भविष्य बदल्ने एउटा सपना हो । गाउँघरको सीमित आम्दानी, बेरोजगारी र आर्थिक अभावले थिचिएका युवाहरू घरपरिवारलाई सुखी बनाउने आशामा बिदेसिन्छन् । घरपरिवारको दुःख कम गर्ने, बच्चाको भविष्य सुरक्षित बनाएसँगै घरको ऋण तिर्ने सपना बोकेर उनीहरू विदेशी भूमिमा पाइला टेक्छन्।

यद्यपि विदेशको वास्तविकता फरक हुन्छ । सुन्दर कमाइको आशा बोकेर गएका धेरै नेपालीहरू त्यहाँ पुगेपछि कठोर श्रम, घुलमिल नभएको वातावरण, जोखिमपूर्ण काम र असुरक्षित कार्यस्थलको सामना गर्न बाध्य हुन्छन् । त्यति मात्रै नभएर भाषा नबुझ्ने, कानुनी प्रक्रियाबारे जानकारी नहुने र काम गर्ने कम्पनीको दबाबबिच उनीहरू दिनरात पसिना बगाइरहेका हुन्छन् । कतिपयले आफ्नो सपना पूरा गर्छन्, तर धेरैका लागि वैदेशिक रोजगारी जीवनभर नबिर्सिने पीडाको कारण बन्छ।

त्यस्तै वैदेशिक रोजगारबाट भरपुर कमाइ गरेर फर्किने सोचले सर्लाहीका ३९ वर्षीय ढाकाप्रसाद मैनाली करिब ३ वर्ष पहिले मलेसिया पुगेका थिए  तर त्यहाँ काम गर्ने क्रममा भएको दुर्घटनाले उनको शरीर मात्र होइन, सपना पनि चुँडियो।

परिवार पाल्ने सोचले बिदेसिएका उनी कामकै क्रममा गम्भीर घाइते भई शरीरका अंग गुमाएर अहिले स्वदेश फर्किएका छन् । जीवनभर काम गरेर खाने हात गुमाएका छन् । गाउँको सानो खेतीपातीले परिवार धान्न नसक्दा मैनालीले सन् २०२२ मा परदेश रोजे।

मलेसियामा दाहिने हात गुमाएर फर्किएका पीडित मैनालीका अनुसार जुन यात्रालाई कमाइ गर्ने बाटो ठानेको थिए, अन्ततः त्यही बाटो नै जीवनको सबैभन्दा ठुलो पीडाको कारण बन्यो।

  उनी भन्छन्, ‘मलेसिया जाने दिन लागेको थियो, केही वर्ष पसिना बगाएपछि घरको आर्थिक अवस्था फेरिनेछ । साथै छोराले राम्रो विद्यालयमा पढेसँगै पत्नीले अभावको महसुस गर्दिन थिइन्।’

मलेसियाको एक रबर उद्योगमा उनी मेसिन अपरेटरका रूपमा कार्यरत थिए । दैनिक जसो रबर फिल्टर गर्ने मेसिन चलाउनु उनको जिम्मेवारी थियो । काम नियमित चलिरहेको थियो । चलिरहेको मेसिन एकाएक विस्फोटन भएको उनले नागरिकलाई सुनाए।

‘हामी कामकै क्रममा थियौं,’ उनले त्यो पल स्मरण गर्दै भने, ‘अचानक मेसिन विस्फोट भयो । एक्कासी ठुलो आवाज आएको थियो । त्यसपछि के भयो मलाई केही थाहा भएन । केही बेरमा जब आँखा खुल्यो, मेरो दाहिने हात नै थिएन, कुइनोमुनिबाट काटिएको थियो । शरीरभर फलामको टुक्राहरू छिरेको थियो।’

उनले पुनः भने, ‘पेटभित्र करिब चार सय ग्राम फलामको टुक्रा पसेको थियो । देब्रे खुट्टामा पनि गम्भीर चोट लाग्यो । घटनास्थलमै एक इन्जिनियर र एक हेल्परको ज्यान गयो । म भने बाँच्न त बाँचे तर त्यो बँचाइले जिन्दगी पूरै अधुरो भयो।’

आफ्नो जीवन बचाउन अस्पतालमा लामो समय बस्नुपरेको उनी बताउँछन् । उपचारका क्रममा उनले असह्य पीडा सहे तर त्यो पीडाभन्दा ठुलो घाउ परिवारको भविष्य थियो । ‘परिवारका लागि कमाउन गएको थिएँ तर आज आफैं परिवारको बोझ बनेर फर्किएको छु,’ उनले भक्कानिँदै भने।

कम्पनीले मलेसियामै आफूलाई उपचारका लागि करिब २५ लाख नेपाली रुपैयाँ बराबर खर्च भएको जानकार गराएको उनले बताए । अस्पतालमा सबै उपचार कम्पनीकै व्यवस्थामा भए पनि जीवनभर अपांगता बोकेर बाँच्नुपर्ने अवस्थाका लागि नगद क्षतिपूर्ति भने नदिएको उनको गुनासो छ।

‘उपचार गरिदियो तर त्यसपछि कसरी बाँच्ने ? एउटा हात गुमाएर नेपाल फर्किए । परिवार  कसरी चलाउने ? त्यो कसैले सोचेको छैन,’ उनको गुनासो छ।

गत चैत ४ गते नेपाल फर्किएका उनले वैदेशिक रोजगार बोर्डबाट सात लाख रुपैयाँ आर्थिक सहायता पाएका छन् । त्यो रकमले तत्काल राहत दिए पनि गुमेको हात र स्वास्थ्य फर्काउन सकेको छैन । सर्लाहीमा पत्नी र ६ वर्षीय छोराको सहारामा बसिरहेको उनी बताउँछन् । ‘श्रीमतीले खेतीपाती गरेर घर धान्ने प्रयास गरिरहेकी छिन् । म भने छोरालाई काखमा उठाउन पनि सक्दिन,’ मलिनो स्वरमा उनले नागरिकसँग भने।

वैदेशिक रोजगारी धेरै नेपालीका लागि अवसरको बाटो बनेको छ । तर त्यही बाटो कतिपयका लागि अन्त्य बनेको छ । त्यति मात्र नभएर अधुरो शरीर र उजाडिएको सपना बोकेर नेपालीहरू फर्किएका छन्।

पीडित मैनालीजस्तै संयुक्त अरब इमिरेट्स (युएई) मा १० वर्ष बिताएर फर्किएका मोरङका (नाम उल्लेख गर्न नचाहेका) अर्का ३६ वर्षीय एक पुरुषको पनि तितो किस्सा छ।

उनी पनि परिवारको आर्थिक अवस्था सुधार्ने आशामा परदेशिएका थिए । तर, उनको पनि मैनालीको जस्तै अवस्था आयो । उनको वैदेशिक रोजगारीको यात्रा पीडामा बदलियो।  

ती पुरुषका अनुसार सन् २०२४ जनवरी २३ मा हाइवेमा डेलिभरीका क्रममा मोबाइलमा आएको अर्डर हेर्दै बाइक चलाइरहेको थिए । त्यही क्रममा विपरीतबाट आएको सवारीसाधनसँग ठोकिए । त्यसपछि जीवनभर निको नहुने चोट लागेको उनी बताउँछन्।

उक्त दुर्घटनामा उनको कम्मरको हड्डी तीन ठाउँमा भाँचियो, देब्रे खुट्टाको घुँडामा गम्भीर चोट लाग्यो र दाहिने हातको नाडीसमेत क्षतिग्रस्त भएको पीडा सुनाए । ‘त्यो दिन मरेर बाचेको मान्छे हुँ म,’ उनी भन्छन्, ‘त्यो एक्सिडेन्टले शारीरिक मात्र होइन, मानसिक र आर्थिक जीवनलाई पनि गहिरो चोट दियो ।’ अहिले सामान्य हिँडडुल गर्न सक्ने अवस्था पनि नभएको उनको अनुभव छ।

दुर्घटनाको पीडा झन् गहिरो भएको अर्को कारण बताउँदै उनी भन्छन्, ‘दुर्घटनाको केही दिनअघि मात्रै भिसा सकिन लागेको थियो । इन्स्योरेन्सको अवधि पनि समाप्त भइसकेको थियो । त्यसपछि उपचार खर्चदेखि अन्य व्यवस्थापनसम्म सबै जिम्मेवारी आफैंले बेहोर्नुपर्‍यो।’

उनका अनुसार खाडी मुलुकमा डेलिभरी क्षेत्रमा काम गर्ने श्रमिकमध्ये धेरैजसोले कम्पनीबाट अपेक्षित सहयोग पाउँदैनन् । ‘डेलिभरीको काममा दुर्घटना भएपछि कम्पनीले धेरैजसो साथ दिँदैन । भिसा, इन्स्योरेन्स र उपचारको खर्च आफैंले बेहोर्नुपर्ने हुन्छ । तीन–चार लाख रुपैयाँ खर्च गरेर विदेश जानुभन्दा नेपालमै केही काम गर्नु राम्रो हुन्छ किनकि विदेशमा धेरै जोखिमपूर्ण काम हुन्छ,’ उनले आफ्नो अनुभव भने।

नेपाल फर्किएपछि भने उनले वैदेशिक रोजगार बोर्डबाट तीन लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग पाएका छन् । तर त्यो सहयोगले उनको शरीरमा लागेको चोट र परिवारको भविष्यलाई पूर्ण रूपमा भरपाई गर्न नसकिने उनको गुनासो छ।

घरमा आमाबुबा, पत्नी र ६ वर्षकी छोरीको जिम्मेवारी बोकेका ती पुरुष अहिले आफ्नो अनुभवलाई अरूका लागि चेतावनीका रूपमा बाँडिरहेका छन् । उनका अनुसार विदेश जानुअघि धेरैले कमाइको सपना मात्र देख्छन् तर त्यहाँको जोखिम, श्रमको प्रकृति र दुर्घटनापछिको असुरक्षा बुझ्दैनन्।

उनले अन्त्यमा भावुक हुँदै भने, ‘विदेशमा पैसा कमाउने सपना देखेर जान्छौं तर मृत्युभएसँगै कतिपय अंगभंग भएर फर्किनुपर्छ । कमाइभन्दा ज्यान ठुलो रहेछ ।’ अन्ततः वैदेशिक रोजगारीले अधिकांशलाई खुसीभन्दा पीडासँगै चोट धेरै दिएको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु र अंगभंग हुने क्रम दिन प्रतिदिन बढ्दो छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को (साउनदेखि वैशाख २८ सम्म) १० महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका एक हजार २७३ नेपालीले ज्यान गुमाएका छन् भने ५ सयभन्दा बढी अंगभंग भएर स्वदेश फर्किएको बोर्डको तथ्यांक छ । यो तथ्यांक केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको मात्रै हो।

विशेष गरी खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीहरू मृत्यु र अंगभंग बढी हुने गरेको उनी बताउँछन् । सापकोटाले विगतमा विदेशमा मृत्यु र अंगभंग भएका सबै श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्डमा क्षतिपूर्ति दाबी गर्न आउने नगरेको तर प्रचारप्रसार बढेसँगै अहिले धेरै परिवार दाबीका लागि आउने गरेको बताए।

‘पहिले सबै घटनाको जानकारी बोर्डसम्म आउँदैनथ्यो,’ उनले भने, ‘अहिले सचेतना बढेकाले परिवारहरू दाबी गर्न आउँछन् । जसले गर्दा तथ्यांक केही मात्रामा बढी देखिन्छ।’ नेपाली युवाहरूका लागि खाडी मुलुकहरू तथा मलेसिया प्रमुख गन्तव्य मानिएसँगै त्यहाँको उच्च तापक्रम, जोखिमपूर्ण कार्यस्थल र लामो श्रम समयका कारण श्रमिकहरू मृत्यु र अंगभंगको सिकार हुने गरेको उनले नागरिकसँग बताए।

प्रकाशित: २ जेष्ठ २०८३ ०५:५१ शनिबार