कला/साहित्य

चलचित्रकर्मी खड्काले लेखे आत्मजीवनी ‘नवल खड्का’

चलचित्रकर्मी नवल खड्काले ‘नवल खड्का’ नामक आत्मजीवनी लेखेका छन्। खाेटाङकाे सिम्पानीमा जन्मिएका खड्काले नायक, निर्माता, लेखक, निर्देशक, सामाजिक अभियन्ता जस्ता बहुआयामिक रूपमा आफूलाई चिनाएका छन्। उनले यही सफलताकाे कथा आत्मजीवनीमा शब्दमार्फत सुन्दर रूपमा प्रस्तुत गरेका छन्।

विभिन्न संघसंस्थामा आबद्ध उनले सामाजिक तथा राष्ट्रिय याेगदान उल्लेख्य छ। उनी बागमती सफाइ महाअभियानका प्रारम्भिक अभियन्ता, अवधारणाकर्ता तथा आयाेजक र सिमानामा काँडेतार अभियानका प्रमुख अभियन्ता हुन्।

उनले भनेका छन्, ‘मेरो जीवनका अनुभव, संघर्ष र अनुभूतिहरू शब्दमा उतार्दै ‘नवल खड्का’ पुस्तक तपाईंमाझ ल्याएको छु।

मेराे चलचित्रको यात्रा होस्, समाजसेवा अथवा अभियानहरू हुन्, स्वदेशी तथा विदेशी शक्तिहरूबाट भोग्नुपरेका षड्यन्त्र वा चुनौतीहरू - यी सबै कठोर यथार्थलाई मैले निसंकोच रूपमा यस पुस्तकमा उजागर गरेको छु।

‘म’ बाट ‘हामी’ बन्ने साहस, आफ्नो पहिचान स्थापित गर्ने अठोट, देश विकासप्रतिको मेरो दृष्टिकोण र देशभक्तिलाई जोगाइराख्ने दृढ संकल्प, देशलाई सबैभन्दा माथि, सर्वाैपरि राख्ने मेराे चट्टानी अडान, नेपालीपनकाे गहिरो अनुभूति यस कृतिको मूल आत्मा हुन्। यसमा एउटा भाव, एउटा उद्देश्य र एउटा समर्पण तपाईंले  महसुस गर्न पाउनुहुनेछ।’ 

प्रकाशित: १४ वैशाख २०८३ १३:०९ सोमबार