भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक ‘माँ वन्दे’ को छायांकन सुरु भएको छ।
चलचित्रमा मोदीको भूमिका मलयालम अभिनेता उन्नी मुकुन्दनले निर्वाह गर्नेछन्। निर्माण पक्षले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो।
उन्नी मुकुन्दनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘माँ वन्देको एउटा नयाँ अध्याय सुरु हुन्छ जसले राष्ट्रको भाग्यलाई आकार दिने मानिसको कथा भन्नेछ।’
सेप्टेम्बरमा प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा यो चलचित्रको घोषणा गरिएको थियो। ‘माँ वन्दे’ प्रधानमन्त्री मोदीको जीवनमा आधारित छ। यो चलचित्र उनकी स्वर्गीय आमा हीराबेन मोदीसँगको गहिरो सम्बन्धमा केन्द्रित रहने छ। प्रधानमन्त्री मोदीले आमालाई आफ्नो जीवनको प्रेरणा बताउने गरेका छन्।
निर्माण पक्षका अनुसार चलचित्र सत्य घटनाहरूबाट प्रेरित छ। चलचित्रले प्रधानमन्त्री मोदीको व्यक्तिगत तथा राजनीतिक जीवनलाई प्रामाणिक रूपमा चित्रण गर्नेछ।
मलयालम चलचित्र उद्योगका सफल अभिनेता उन्नीले सन् २०११ को चलचित्र ‘सीडन’ बाट अभिनयमा डेब्यू गरेका थिए।
प्रकाशित: ७ पुस २०८२ १४:१२ सोमबार