सिनेमाघरमा अभूतपूर्व सफलता हात पारेको चलचित्र ‘हनुमान अंश’ अब डिजिटल प्लेटफर्म (ओटीटी) मा स्ट्रिमिङ हुने भएको छ।
फिल्मका निर्माताहरूले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्। यद्यपि, चलचित्रको प्रसारण अधिकार र नाफा बाँडफाँटलाई लिएर निर्माताहरूबीच विवाद चलिरहेकै बेला यो घोषणा बाहिरिएको हो।
हल प्रदर्शनका क्रममा दर्शकबाट अत्यधिक रुचाइएको ‘हनुमान अंश’ ले आफ्नो लगानीको तुलनामा कैयौं गुणा बढी व्यापार गरेको थियो। हलमा हेर्न छुटाएका वा फेरि हेर्न चाहने दर्शकका लागि निर्माताहरूले धनतेरसको अवसर पारेर डिजिटल रिलिजको मिति तय गरेका हुन्।
निर्माताहरूका अनुसार यो फिल्म आगामी नोभेम्बर २७, २०२६ देखि ‘सोनी लिव’ एपमा उपलब्ध हुनेछ। यो फिल्म सन् २०२६ अगस्ट ७ मा सिनेमाघरमा प्रदर्शनमा आएको थियो।
सामान्य प्रचलनअनुसार चलचित्र हलमा लागेको एक महिना अर्थात् सेप्टेम्बरभित्रै ओटीटीमा आउनुपर्ने थियो। तर, सिनेमाघरमा लगातार धेरै सातासम्म दर्शकको उच्च चाप र उत्कृष्ट व्यापार जारी रहेका कारण यसको ओटीटी प्रदर्शन पछाडि धकेलिएको बताइएको छ।
विभिन्न रिपोर्टहरूका अनुसार अहिले फिल्मका निर्माताहरूबीच व्यावसायिक नाफा बाँडफाँटलाई लिएर आन्तरिक विवाद चुलिएको छ।
विवादका बीच यस विषयमा स्पष्ट पार्दै नम्रता जी सिंह र फिल्मका निर्देशक डा. विशाल चतुर्वेदीले स्वम्भू मिडिया नेटवर्क मार्फत आधिकारिक वक्तव्य जारी गरेका छन्।
उक्त वक्तव्यमार्फत उनीहरूले फिल्मको कानुनी अधिकार, वितरण प्रक्रिया तथा सञ्चार व्यवस्थापनसम्बन्धी जिम्मेवारीबारे प्रस्ट पारेका छन्।
आफूहरू सम्बन्धित कम्पनीको कार्यकारी निर्देशकसमेत रहेको उल्लेख गर्दै उनीहरूले फिल्मको प्रचारप्रसार, मार्केटिङ, अवार्ड तथा अन्य व्यावसायिक साझेदारीसम्बन्धी जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयको क्षेत्राधिकार स्पष्ट पारेका छन्।
योसँगै फिल्मको अधिकार र स्वामित्वलाई लिएर बाहिर आएका अन्योलबारे मुख्य निर्माताहरूले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।
नीम करोली बाबाको जीवनमा आधारित यस चलचित्रले भारतीय बक्स अफिसमा ४०३.०२ करोड भारु र विश्वव्यापी रूपमा कुल ४५१.२२ करोड भारुको ऐतिहासिक व्यापार गरेको थियो।
जम्मा २ करोड भारुको सानो बजेटमा निर्माण भएको यस फिल्मले बक्स अफिसमा विश्वभरि नै चामत्कारिक सफलता हासिल गरेको थियो।
प्रकाशित: २१ कार्तिक २०८३ १४:५५ शनिबार