चलचित्र पत्रकार संघ नेपालले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने सरकारकाे निर्णयप्रति असहमति जनाएकाे छ।
चलचित्र पत्रकार संघले सरकारले गरेकाे उक्त निर्णय उचित नभएकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ। ‘निजी संचारमाध्यममाथि प्रत्यक्ष प्रहार गरेको हाम्रो ठहर छ। निजी संचारमाध्यमले लोकतान्त्रिक मूल्यमान्यतामा रही नागरिकलाई सूचित गर्दै आएको छ। खुला र प्रतिस्पर्धात्मक सूचना प्रणालीलाई ‘सिन्डिकेट’ तर्फ उन्मुख गराउने यस कदमले निजी तथा सामुदायिक सञ्चारमाध्यम कमजोर बनाउँदै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने स्पष्ट संकेत दिएको छ। लोकतन्त्रमा यस्तो प्रवृत्ति स्वीकार्य हुँदैन।’
चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएकाे छ, ‘स्थानीय सरकारसँग सहकार्य गर्दै सुशासन, आर्थिक पारदर्शिता तथा विकासमुखी खबरदारीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका निजी सञ्चारमाध्यमहरूको प्रवर्द्धनमा समेत यस निर्णयले असर पार्ने निश्चित देखिन्छ।’
चलचित्र पत्रकार संघ नेपालले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारको संरक्षणका लागि उक्त निर्णय तुरुन्त सच्याउन विज्ञप्तिमा उल्लेख गरेकाे छ।
प्रकाशित: २० चैत्र २०८२ १३:२४ शुक्रबार



