सकिमना पुन्हीको दिन मंगलबार भक्तपुरका विभिन्न ठाउँहरुमा अन्नबाट बनाइएका देवीदेवताहरुको चित्रहरु तयार गरी कला प्रदर्शन गरिएको छ । भक्तपुर नगरको हरेक मठ, मन्दिर, पाटी, देवतास्थलहरु अगाडि अन्नहरुबाट विभिन्न देवीदेवतासँग सम्बन्धित चित्रहरु तयार गरी कला प्रदर्शन गरिएको हो । भुटेको मकै, कालो भटमास, गहुँ, गेडागुडी, स्वारी, मालपुवा आदि सामग्रीहरुबाट बनाइएका आकर्षक चित्र पर्वको दिन साँझ प्रदर्शन गरिएको थियो ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमामा मनाइने सकिमना पुन्ही नेवारहरुको विशेष पर्व हो । यसलाई हलिमलि पर्व पनि भनिन्छ । नेपाल भाषामा ‘सकी’ भन्नाले पिँडालुर र ‘मना’ भन्नाले उसिन्ने भन्ने अर्थ लाग्छ । यस अर्थमा सकिमना पुन्ही भन्नाले पिँडालु उसिनेर मनाइने पर्वको रुपमा बुझिन्छ ।
यस दिन साँझ नगरका ठाउँठाउँमा सर्वप्रथम सफा ठूला कपडा तथा त्रिपालमाथि भुटेको गहुँ बिछ्याइन्छ । गहुँमाथि भुटेको मकैबाट सम्बन्धित देवदेवीको चित्र बनाइन्छ । त्यसमा आँखा, कान, नाक, टीकालगायत स–साना आकृति कालो भटमासबाट तयार गरिन्छ । चारैतिर स्वारी मालपुवाजस्ता रोटीले सजाइन्छ । गणेश, नारायण, भैरव, सरस्वती, महादेव, त्रिशूल, मुसा, हात्ती, चैत्यजस्ता विभिन्न चित्रहरु बनाइने गरिन्छ ।
धेरै मन्दिर अगाडि यस्ता चित्र बनाइएको पाइए पनि भक्तपुरको पाँचतल्ले मन्दिरमा बनाइने चित्र भन्ने बढी आकर्षक हुने गर्छ । यहाँ विस्का जात्रामा प्रयोग हुने भैरवको रथ र ल्योसिङ (लिंगो) को चित्र बनाइन्छ । भक्तपुरमा अन्य ठाउँमा भन्दा यस ठाउँमा बनाइने चित्र सबैभन्दा ठूला हुने गर्छ ।
इतिहास एवं संस्कृति विषयका उपप्राध्यापक विश्वमोहन जोशी यो पर्व मौसमसँग सम्बन्धित रहेको जनाउँछन् । जाडो याम सुरु भएको सङ्केतको पर्वको रुपमा यो पर्व मनाउने उनी सुनाउँछन् । जाडो याममा तात्तातो पिँडालु उसिनेर खाने चलनको रुपमा यो परम्परा सुरु भएको उनी बताउँछन् । कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनको रुपमा पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ आदि) बाट भगवानका आकृति बनाइ त्यसलाई प्रसादको रुपमा बाँड्ने प्रचलन रहेको उनी बताउँंछन् । उनका अनुसार भक्तपुरमा यो पर्व विशेष रुपमा घरघरमा मनाइन्छ । तथापि यस्तो कला भने टोलटोलमा मात्रै गरिन्छ ।
पर्वको दिन दिन भक्तजनहरु बिहानदेखि नै मन्दिरहरुमा दर्शन गर्न जाने परम्परा यहाँं छ । विशेष गरेर यस दिन नारायण मन्दिर र शिवको मन्दिरमा घुइँचो लाग्ने गर्दछ । देवी देवताहरुलाई पिँडालु, सखरखण्ड, मकै, भटमास लगायत गेडागुडी चढाउने गरिन्छ ।
पर्वको क्रममा मंगलबार बिहानदेखि ठाउँठाउँका महादेव, नारायण मन्दिरहरुमा विशेष मेला लागेको थियो । यस क्रममा दिनभर जिल्लाको चागुनारायण मन्दिर, कमलविनायकस्थित यातु गणेश, काभ्रे र भक्तपुरको सिमानास्थित आशापुर महादेव, गुण्डुको अनन्तलिंगेश्वर, सिपाडोलको डोलेश्वरलगायतका मन्दिरमा विशेष मेला लागेको थियो ।
प्रकाशित: ८ मंसिर २०८३ १८:०५ मंगलबार



