कला/साहित्य

प्रसिद्ध तामाङ सेलो गायिका इन्दिरा गोलेको निधन

प्रतिष्ठित लोक गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। क्यान्सर पीडित इन्दिराको ४८ वर्षको उमेरमा निधन भएको हो। 

बुधबार बिहान २ बजेतिर ललितपुरको हात्तिवनस्थित निवासमा इन्दिराको निधन भएको परिवारस्रोतले जानकारी दिएको छ। उनी दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको बताएको छ। स्वास्थ्य जटिल हुँदै गएपछि हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएर पछिल्लो दुई हप्तादेखि उनी घरमै आराम गरिरहेकी थिइन्।

इन्दिराले विभिन्न लोक भाषा र शैलीका करिब पाँच हजार गीतमा स्वर दिएकी छन्। विशेष गरी तामाङ सेलो गीतमा लोकप्रियता कमाएकी थिइन्। 

सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भरदेवमा जन्मिएकी इन्दिराले आफ्नो गायन करियरको सुरुवातमा रेडियो नेपालमा स्वर परीक्षा दिएकी थिइन्। उक्त परीक्षामा उत्तीर्ण भएपछि सुरु भएको उनको गायन यात्रामा तामाङ सेलोका साथसाथै आधुनिक गीत,  लोकदोहोरी गीतहरूमा विशेष पहिचान बनेको थियो।

नेपाल तामाङ कलाकार संघकी पूर्व अध्यक्ष रहिसकेकी इन्दिराले तामाङ संस्कृतिको संरक्षण र सम्बद्र्धनमा पनि भूमिका खेल्दै आएकी थिइन्।

श्रीमान् पहिले नै गुमाइसकेकी इन्दिराका दुई छोरी छन्। पछिल्लो समय कान्छी छोरीसँगै उनी हात्तिवनमा बस्दै आएकी थिइन्। 

इन्दिराको पार्थिव शरीरको अन्त्येष्टि बौद्ध संस्कारअनुसार गरिँदै छ। 

यस्तै इन्दिराको निधनको विषय प्रतिनिधिसभा बैठकमा समेत उठेको छ। नेपाली कांग्रेसकी सांसद सुशीला थिङले बुधबारको बैठकमा गायिका इन्दिराको मृत्युमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन्।

प्रकाशित: १८ भाद्र २०८२ १४:४९ बुधबार