स्नेहमय ममतालु टोल छिमेक श्रद्धाका स्रोत गौरीबहादुर कार्की बन्धु! ‘बडीमालिका’ आफ्ना कृतिसहित निष्ठाछें पाल्नुभएथ्यो। उमेरले नेटो काट्दा छिटै स्वाँफ्वाँ गर्नुपर्दो अनुभूति आर्जिंदै छु, आफैंसित। प्रकृतिका लीलामाथि चल्दोरहेनछ छ्या!
भोलिपल्ट सखारै पाँच बजे उठ्नेबित्तिकै सयनागर छेउकै पढ्ने–लेखे टेबलमाथि ‘बडिमालिका’ पुस्तक देखेँ। टप्प टिपी हरेँ। लेखन एवं प्रस्तुति– गौरीबहादुर कार्की। सरसर्ती दृष्टि दौडाएँ। हिराइका सरसर भेउ पाउनु मात्र। गहिराइ भेटाउन गोटाखोरी चाहिँदो रहेछ, सिकिँदैछु!
पुस्तक लेखन एवं गौरीबहादुर काकी सरर पल्टाउँदै बालककालमा हजुरआमाले मायालु स्वरमा ‘किसानी’ गीताका यति श्लोक वाचन गर अनि खाना खाऊ, पढाएको कण्ठस्थ सम्झें। श्रीमद्भगवद्गीता अध्याय श्लोक ४७ झसङ्ग सम्झेँ:
कर्मण्य वाधिकारस्ते माफलेषु कदाचन।
मा कर्मफलहेतुर्भूमि ते सङ्केचऽस्तुकर्मणि’
काम गर्नु धर्म हो। कर्ममा अधिकार छ। त्यसको फलमा आश गर्ने होइन। कर्मको फल कामैले दिन्छ। इमान नै धर्म। आस्थावान् कर्मसँगै फल झुन्डिएको हुन्छ। यसको व्याख्या बृहद विस्तार गर्न सकिन्छ। बुझ्नेलाई इसारा काफी! ‘बडीमालिका’ पुस्तक ग्रन्थका सन्दर्भ पुष्पमालाकार गौरीबहादुर कार्कीका निष्पक्ष इमानधर्मले बृहद्–व्यापकतामाथि इमानधर्म तराजुमा राख्दा गीता गेयका श्लोक स्मृतिमा तैरिन्छ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानाय धर्मस्य तदात्मनाम सृजाम्यहम्।।
श्रीमद्भगवद्गीताका यी दुई श्लोक! गौरीबहादुर कार्कीको प्रस्तुत ‘बडीमालिका’ पुस्तकाकार ग्रन्थ सारगर्भित लाग्यो। सर्वप्रथम मनोभावनात्मक कमण्डलु घोट्याउँछु। मनोभाव मनको भावना। कमण्डलु कमलका डल पलाउने दह। दहको सुक्ष्म रूप कमण्डलु। हाम्रो राष्ट्रभाषाको मूल स्रोत संस्कृत वाङ्मय। संस्कृत देववाणि। नेपाली राष्ट्रभाषा देववाणिको हाँगो।
गौरीबहादुर कार्की उमेरले अनुज! उमेरले भाइ। उमङ्ग, उत्साह, स्वविवेकले अग्रज। आधारशिला बडीमालिका ग्रन्थकै पृष्ठ जिल्लमा उल्लेखित चिनेरी मौन अभिव्यक्ति! तर बलशाली मौन वाचन गर्दै स्पष्ट अवधारणामय अभिव्यक्ति बनेका छन्। झलझलाकार राष्ट्रका मुद्रामय आकार।
नेपाल आमाका छोराछोरीलाई इमानधर्मसाथ कर्म गर्नु गीताका गेय प्रेरणा मन्त्र! अघि नै जपिसक्यौं। मात्र मनमनै जपी सच्चा कर्म गरे पुग्छ। बाबाजी बन्ने ? संकल्पित जीवनपथ सदाचारी सदासुखी’ कर्मवीर राजमार्ग मन्त्र बनून्! गौरीका बहादुर पनि कार्की सूर्यविनायक मार्ग सुविख्यात बनून्।
गौरीका बहादुर पति कार्की सूर्यको पहिलो स्वर्णिम घाम गणेशका मूर्तिमा छर्किने सास्वत सत्य। सास्वत सत्य सदा बहार। जब जब पर्दछ संकट नेपाललाई, त्यहाँ गौरीकी पति बहादुर उनै कार्की। ‘सहकारी २०७०, चिकित्सा शिक्षा २०७४, मिटर ब्याज २०१९, जेनजी घटना जाँचबुझ आयोग २०६२ को अध्यक्षमा नियुक्त हुनुको महिमा दसी हुन् यिनै।
बडीमालिका सुदूरपश्चिम बाजुरा जिल्लाको उच्च पर्वतीय भूमिमा अवस्थित शिखरवर्ती धार्मिक तीर्थस्थल। तीर्थस्थल स्वतः दर्शन– अवलोकनीय भूमि। यसमा दुईमत नहोला– दर्शनीय अवलोकन भूमि, पर्यटकीय आकर्षण बिन्दु। पर्यटकीय पथका दुईतीन घण्टाको अन्तरालमा गेस्ट हाउस, पर्यटक विश्राम, आवास गृह, लेकाली उपचार सुविधामा पर्याप्त चिन्तन हुनु मननीय बन्छ।
वडीमालिका स्थान दुर्गम शीतोष्ण स्थान, देवी लीलामय भावभक्ति स्थल। उहिले बाजेका पाला रुपैयाँ हुने पालाका धार्मिक धाम। अहिले नाति–नातिनाका पालामा प्राकृतिक पर्यावरण समाहित आर्थिक उपार्जनका सबल–सार्थक–आर्थिक उपार्जन स्थल! राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्थोपार्जनका अजय स्रोत धाम! परिवर्तन परिवेशका प्रभाव!
बडीमालिका माई नेपाली सेनाका आराध्य आत्मबलका अदम्य साहस, कर्मनिष्ठ समर्पण भावका नैसर्गिक धाम महान्। टप्किन्छ जहाँ टपटप निःशब्द अन्तिम धाम! न शब्द, न वैभव, न सेखी–तुजुक, दुई दृष्टि चिम्लेर परित्याग! बडीमालिका धाम! रामनाम!
बडीमालिका ग्रन्थमा छायाङ्कृत चित्रमाला हजार शब्दभन्दा सार्थक, बलवान् मुक्तकण्ठका प्राण। लेखन सिप चित्ताकर्षक छन्दोहार!
प्रकाशित: ६ भाद्र २०८३ ०७:१९ शनिबार