कला/साहित्य

दसैंको सम्झनामा बाँचेका अनुहारहरू

निबन्ध

दसैंको सम्झनामा बाँचेका अनुहारहरू, यादहरू प्रिय हुन्छन्। अतीततिर लैजाँदै तिनले मिठा-मिठा खुसी दिन्छन्। ती खुसीमा दसैंको रमझम उत्सव बनेर आउँछन्। म तिनै अतीतका अनुहार र यादहरूमा बुर्कुसी मार्दै माथि डाँडामा चंगा उडाउन जान्छु। तल फाँटमा पिङ खेल्न दौडिन्छु। शारदीय मौसम जस्तै यतिबेला दशैंको आगमनमा मिलनोत्सवको क्षण पुराना दिनका सम्झनाहरू सुमधुर याद बनेर मेरा परेलीमा नृत्यमग्न हुन थाल्छन्।

दसैं आउँदा गाउँको बाटोहरू फरक रूपमा बोल्थे। आकाशमा अझ उज्यालो घाम, खेल्ने चौरमा अझ चहकिलो पिङ र घरघरहरू कमेरो माटोको उज्यालोमा पोतिएको देखिन्थ्यो। त्यो समय सम्झिँदा लाग्छ - दसैं केवल पर्व होइन, जीवनलाई गहिरो रङले रङ्गाइदिने एक सामूहिक चित्रपट हो, जसमा अनुहारहरू बोल्थे, स्मृतिहरू चम्किन्थे र सिंगो क्यानभासमा चित्र–सौन्दर्य प्रस्तुत हुन्थ्यो।

गाउँघरका टाठाबाठा मात्र होइन, गरिब किसानको पनि आँखा उज्यालो हुन्थ्यो। माछामासुको गन्ध, टिकाजमरा चढाउने दिदीबहिनीको न्यानोपन -सबै एकसाथ मिसिँदा जीवनलाई मिठास थपिदिन्थ्यो। आमा बिहानै उठेर सयपत्री र मखमली फूलको माला उठ्थिन्, बुबा गोठबाट फर्किँदा एउटा हल्का मुस्कानसहित भन्थे, ‘यो वर्ष पनि घरभित्र खुसीयालीको चहलपहल भयो नि।’

दसैंमा मैले भेट्ने धेरै अनुहार अब सम्झनामा मात्र बाँचेका छन्। यौटा मीठो याद बनेर ती सम्झनाले अतीतितिर मलाई लैजान्छन्। सुन जस्तै झुलेको धानबाली, पहेँलपुर भएर पाकेका केरा र रङ्गीचङ्गी फूलहरू। पुराना साथीहरू बुबा मात्रै होइन बाजे बनिसकेको कुरा। कतिपय अन्यत्रै गइसकेका। कसैको झपक्क सेताम्य दाह्रीजुँगा, कसैको अलि कर्कश तर आत्मीय बोली, कसैको तालु खुइलिइसकेको टाउको। फूलप्रसाद, टिका र दक्षिणाले मेरो बालापनलाई थामिदिएको थियो। ती सबै अनुहार अहिले फोटोका फिक्का छायामा वा मनको कुनाकाप्चामा मात्र बाँचिरहेका छन्। तर, दसैं आयो की, ती सबै फेरि ज्यूँदै भएर आउँछन् - मलाई आशीर्वाद दिन, मलाई मिठो विगतका कथा सुनाउन।

बाल्यकालको त्यो उत्साह, पिङ खेलेर हात चिलाउने, भुटेको मकैभटमासको मगमग सुगन्धमा लठ्ठिने, नयाँ कपडामा आफूलाई राजा ठान्ने। यी सबै अब सम्झनाको खजाना बनेका छन्। जीवनको संघर्षमा भुलिँदा–भुलिँदा पनि दसैंले हरेक वर्ष ती यादहरूलाई ढक्ढक्याएर भन्छ - सम्झनामा बाँचेका ती दिनहरूलाई तिमी भुल्न सक्दैनौ, किनभने यिनै अनुहारहरू तिमीभित्र बाँचिरहेका छन्। बाँचेका अनुहार र यादहरूमा तिम्रो जीवनको धरातल निर्माण भएको छ।’

दसैं देवीको पूजा मात्र होइन, स्मृतिको पूजास्थल पनि हो। यहाँ हामी आफ्ना प्रियजनलाई सम्झिन्छौं - त्यसले हामीलाई जीवनमा सानो खुसी बाँडेका थिए। आफ्नो छातीमा अँगालो हालेर हामीलाई सुरक्षित महसुस गराएका थिए। अब उनीहरू नहुँदा पनि, उनीहरूको अनुहार, उनीहरूको शब्द, उनीहरूको स्पर्श र मिठा–मिठा यादहरू हामीसँगै बाँचिरहेका छन्।

दसैं आउँदा पूजा कोठमा चिटिक्क राखिएको जमरा हेरेर, म मनमनै भन्छु, ‘यी जमरा जस्तै तिमीहरू पनि मभित्र बढिरहेका छौ, स्मृतिको माटोमा, मायाको जलले सिंचित भई।’

दसैं आउँदा मेरो बाल्यकालको गाउँ अझै जाग्रत हुन्छ। आँगनमा आमा बिहानै उठेर चुलो लिप्दै नौरथाको लोकलय गोबरमा घोल्दै पोत्थिन्। आमाको त्यो मुस्कान नै मेरो लागि दसैँको पहिलो आशीर्वाद थियो।

बुबा गोठबाट दूधको ढुंग्रो बोकेर फर्किँदा ढोकैमा मलाई पुकार्नुहुन्थ्यो, ‘ए छोरा, दसैँको दिन हो आज बस्तुभाउलाई पनि घाँस बढी हाल है!’

त्यो शब्दमा जीवनको कामकाजीपन मात्रै होइन, पर्वको उत्सव–रङ पनि मिसिएको हुन्थ्यो। बुबाको त्यो कठोर तर आत्मीय स्वर सम्झिँदा आज पनि मन भारी हुन्छ। पल्लो गाउँ, तल्लो गाउँमा बजाएको मादल, बाँसुरीको स्वर कानसम्म सुनाउन आइपुग्थ्यो।

दसैंको मेलामा साथीहरूसँग पिङ खेल्न जाने मेरो आतुरता शब्दले बयान गर्न सक्दैन। बाँसको उचालो पिङमा आकाशतिर हाम फाल्दा लाग्थ्यो– म वास्तवमै उड्न सक्छु, हावा नै मेरो साथी हो। पिङ खेलेर हातमा ठेला उठ्दा पनि त्यो पीडा मीठो लाग्थ्यो, किनकि त्यो पीडामा उत्साह मिसिएको हुन्थ्यो।

नयाँ कपडा लगाउँदा आफूलाई राजा ठान्ने त्यो आत्मविश्वास अझै स्मृतिमा ताजै छ। हातमा खस्न लागेको रङ्गीचङ्गी पतंग समातेर गाउँको टुप्पोमा हाँक्न खोज्दा, छेउमै ठट्यौली गर्दै हाँस्ने साथीहरूको अनुहार अहिले सम्झनामा मात्र बाँचेका छन्। उनीहरूको हाँसो, उनीहरूको आँखा, उनीहरूको बोली। यी सबै अहिले मेरो दसैंसँगै पुनर्जीवित हुन्छन्।

टिका लगाउने दिन सबैभन्दा विशेष हुन्थ्यो। आमाबुबाले दैलाका संघारमा पर्खिरहेको त्यो क्षणमा, सेतो प्लेटमा राखिएको जमरा, रातो टिका अनि दक्षिणासँगै बाँडिने आशीर्वाद जीवनको सम्पत्ति जस्तो लाग्थ्यो। आज ती दाजुभाइ, दिदीबहिनीहरूमध्ये कतिपय टाढा परे, कतिपय संसारबाटै बिदा भए। तर, दसैँ आयो कि उनीहरू सबै फेरि फर्केर आउँछन्– मेरो निधारमा टिका लगाउन, मेरो हृदयमा सम्झना जगाउन।

दसैं अब केवल वर्तमानको उत्सव होइन, अतीतको पुनरागमन पनि हो। बाँचेका अनुहारहरू त आँखा अगाडि छन् नै तर नबाँच्ने अनुहारहरू पनि अझ गहिरो भएर सम्झनामा बाँचिरहेका छन्। ती सबै अनुहारले मलाई हरेक वर्ष सम्झाउँछन्, ‘जीवन क्षणभंगुर छ, तर माया र सम्झना अमर हुन्छ।’

जमरा हेर्दा लाग्छ - यी पहेला, हरिया पातजस्तै मेरो प्रियजनहरूको सम्झना पनि हरेक वर्ष उम्रिन्छ, बढ्छ।

म मनमनै भन्छु, ‘दसैं त केवल पर्व होइन, मेरो जीवनको स्मृतिग्रन्थ हो। त्यहाँ अनुहारहरू र यादहरू अमर भएर बाँचिरहेका छन्।’

प्रकाशित: १५ आश्विन २०८२ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App