कला/साहित्य

घामको समेत अन्त्य हुन्छ बेला बितेपछि...!

मुक्तक

१) मुक्तक

बेहोसमै रमाएँछु कर्म भुलेपछि

पछुतो छ ऐले मलाई होस खुलेपछि

समयमै सावधानी अपनाइएन

सक्यो दैलो देख्यो केश फुलेपछि।

२) मुक्तक

दर्शन गर्न आतुर छु म खोल देवी ढोका,

नबुझ्नेले सच्चा प्रेमलाई भन्छन् अचेल धोका

घामको समेत अन्त्य हुन्छ बेला बितेपछि

धेरै मैले भेटेकाे छु अहम्त्याइँले राेका।

३) मुक्तक

हिजोआज खाँदा हाँस्दा अल्झाउँछन् दाँतहरू,

सुत्दा पनि बिझाउँछन् पाखुरा र हातहरू

जसले पनि समयको अभावै छ भन्छन् तर

मलाई लामा लाग्न थाले घन्टा दिन र रातहरू।

मुक्तककार काजीप्रसाद खतिवडा

४) मुक्तक

छ्वाँके दाँतमा लिपिस्टिक छ अलिअलि चाट प्रिय,

तरकारीमा पस्ने कपाल भरिसक्के बाट प्रिय,

तिम्रो शृङ्गार मेरा लागि घटाउ भन्न पाप त लाग्ला

सिरकको खोल छिटो फाट्छ खुट्टाका नङ काट प्रिय।

५) मुक्तक

अहिले अक्करको भिरमा छु

आफैं मरेको झैं पिरमा छु

नखोज्नु खेद्न मलाई टाढा

उनिएर ऐले झिरमा छु।

प्रकाशित: २६ पुस २०८२ ११:२७ शनिबार