कला/साहित्य

‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ सार्वजनिक

ललितपुरको जाउलाखेलमा आयोजित एक कार्यक्रममा गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ द्वारा रचित ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ बोलको गीत गायिका रितु कँडेलले  प्रत्यक्ष गीत गाएर जेठ २१ गते बिहीबार सार्वजनिक  गरिएको छ।

कँडेलकै स्वर र सङ्गीत तथा मनोहर सुनामको सङ्गीत संयोजनमा रेकर्डिङ भएको सो गीत सार्वजनिक गर्दा भीमफेदीयाले आफ्ना शुभेच्छुकहरू निम्त्याएर जाउलाखेलमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो।

शब्दपथद्वारा आयोजना गरिएको कार्यक्रममा उक्त गीतको रचनागर्भ बारे बोल्दै एउटा प्रकाशित मुक्तकलाई गीतको ढाँचामा ल्याइएको बताइएको छ। गीतकार भीमफेदीयाले उहिले तीसको दशकमा रेडियो नेपालले रेकर्डिङ् गर्न पास गरिसकेको गीत ‘गाइदिन्छु’ भनी लिएर त्यो बेलाका चर्चित सङ्गीतकारले निकै लामो समयसम्म रेकर्डिङ गर्ने वातावरण नबनाइदिएर फिर्ता गरेको अतीतको सम्झना गरे।

भनसुनको आधारमा गरिने यस्ता कार्यले प्रताशाली अर्थात् क्षमतावान स्रष्टाहरुलाई निरुत्साहित पारेको देखिन्छ। उपस्थित स्रोताहरूमध्ये पत्रकार तथा लेखक श्रीरामसिंह बस्नेतले यो गीत शास्त्रीय सङ्गीतबद्ध भएको हुनाले मीठो सुनिएको छ भनेर खुलेर प्रशंसा गरे।

शब्दपथका प्रधान सम्पादक किशोर पहाडीले आजभोलि गीतहरू रेकर्डिङ् गरे तापनि रेडियोमा नबज्दा, क्यासेटमा बजाउन नसकिँदा थन्किने मात्र हो कि भनी प्रश्न गरे, त्यसको जवाफमा गायिका रितु कँडेलले आजभोलि  रेकर्डिङ् गरिने गीतहरू टिकटकमा हामी प्रयोग गर्दछौँ भनेर गीत बजाउने आधुनिक माध्यमबारे जानकारी दिइन्। साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ ले भीमफेदियाले अहिले आएर निरन्तर गीतहरु लेख्दै जानुमा त्रिवेणीको लहरको प्रेरणा र लगाव जस्तो लागेको बताए।

साहित्यकार डा. शेखरकुमार श्रेष्ठले गीतकार भीमफेदीयाको यस अगाडिका गीतहरू सुनेकोमा यो गीत अर्थपूर्ण र कर्णप्रिय लागेको बताए। कवि शिव घिमिरेले भीमफेदीयाको यो गीत दुई तीन पटक सुनेको कुरा स्मरण गरे। उनले निकै मीठो लाग्यो भन्दै आज यसरी वरिष्ठ साहित्यकारहरूसँग यस परिचर्चामा सामेल हुनु आफूलाई गर्व लागेको बताएका थिए।

शब्दपथका प्रवन्ध सम्पादक मुरारि सिग्देलले यो गीतको गायकी शैली शास्त्रीय भएकोले गायिका र रचनाकारलाई सबैले खोजी खोजी सुन्नेछ भन्दै दुवै सर्जकलाई बधाई दिएका थिए। कार्यक्रमको सहजीकरण मुरारि सिग्देलले गरेका थिए। गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ का हालसम्म आधा दर्जन गीतहरू रेकर्ड भई युट्युबबाट प्रशारण भइआएका छन्।  

प्रकाशित: २३ जेष्ठ २०८३ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App