कला/साहित्य

निबन्धकार डा.योगीको २४औं कृति ‘चेतना यात्रा’ लोकार्पण

नेपाल स्रष्टा समाजले डा.चिन्तामणिनाथ योगीको ‘चेतना यात्रा’ आध्यात्मिक निबन्धसङ्ग्रह लोकार्पण गरेको छ।

नेपाल स्रष्टा समाजको अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’ को अध्यक्षतामा आयोजित कार्यक्रममा प्राडा प्रेमनारायण अर्याल, प्राडा भागवत ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’, अम्बिका केसी र निबन्धकार डा.योगी लगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

प्राडा भागवत ढकालले लाेकार्पित कृति ‘चेतना यात्रा’ काे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले उक्त कृति गीताको आदर्शमा लेखिएको बताए। जीवन, जगत् र समाज उपयोगी कृतिले मान्छेको जीवनमा सकारात्मक प्रभाव पार्नेमा जोड दिए।

उनले भने, ‘ज्ञानविज्ञान र चेतना समेटिएर कृति आएको छ। जीवनदर्शन जोडेर लेखिएको कृति आएको छ।’

पोखरा विश्वविद्यालयका प्राडा अर्यालले डा.योगीसँगको पुरानो सम्बन्धको चर्चा गर्दै पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा डा. योगीलाई प्रवचन गर्न लगेको स्मरण गरे।

कृतिकार डा. योगीले अध्यात्म र दर्शनबारे बोल्दै कृतिको रचना गर्भबारे बताए। उनले आफू मातृभूमिको सेवक भएको भन्दै स्वान्त सुखायको निम्ति लेख्ने गरेको बताए। उनले अगाडि भने, ‘म ॐकारको साधनामा छु। लेखक भएँ भइनँ थाहा छैन।’

निबन्धकार प्रदीप सापकाेटाकाे अनुसार साहित्यिक अभियन्ता शंकर भारतीकाे स्वागत मन्तव्य र समालाेचक शान्तिमाया गिरीकाे सञ्चालनमा कार्यक्रम भएकाे हाे।

उक्त कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार पवन आलोक, पूर्वप्रशासक अम्बिका केसी र भुँडीपुराण प्रकाशनका प्रबन्धनिर्देशक केशव पराजुलीले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: २८ मंसिर २०८२ १३:२६ आइतबार