कला/साहित्य

लेफ्ट–राइटको अंग्रेजी संस्करण बजारमा

पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीतिको अंग्रेजी संस्करण प्रकाशनमा आएको छ। दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अंग्रेजी संस्करण दशैंको अवसर पारेर प्रकाशनमा हो।  

पुस्तकमा प्रमुख दलका शीर्ष नेताहरूले सत्ता र शक्ति प्राप्तिका लागि मूल्य–मान्यता, विधान र संविधानलाई बेवास्ता गरेर चालेका कदमहरूको विस्तृत विवेचना गरिएको छ। पन्थीका अनुसार नयाँ संविधान जारी भएपश्चात् पनि नेताहरूको सत्ताप्रतिको भोक नघटेको तथ्यलाई पुस्तकले पार्ने कोशिष गरेको छ । साथै, नेपालको राजनीतिमा भूराजनीतिक प्रभावलाई पनि पुस्तकले विशेष रूपमा उठान गरेको छ।  

प्रकाशक इन्डिगो इन्कका अनुसार पुस्तकले कहिले दायाँ त कहिले बायाँ मोडिने राजनीतिक नेतृत्वको चरित्र र त्यसका दुर्भाग्यपूर्ण परिणामलाई प्रस्ट्याउने प्रयास गरेको छ। नैतिक र अनैतिकको सीमारेखा मेटिँदै गएको नेपाली राजनीतिका अन्तरकथा उजागर गर्ने पुस्तकमा पछिल्ला सत्ता समीकरणका नाटकीय घटनाक्रम, गुप्त भेटघाट र सम्झौतासमेत समेटिएका छन्।

लेखक पन्थीका भनाइमा, ‘पुस्तकमा सत्ता र शक्ताका लागि भएका दाउपेच र एकापसमा गरिएका धोका–धडीका प्रसंगहरू मात्रै होइन, नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, व्यवस्था, विधि–विधान र संविधानलाई बेवास्ता गरिएको कैयौँ उदाहरण पनि समेटिएका छन्।’ पुस्तक चार सय पेजको छ ।  

यसअघि लेखक पन्थीका लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीति (२०८०) , डिभोर्सः प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसंघर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तकहरू प्रकाशित भइसकेका छन् । यसबाहेक उनले कैयौँ पुस्तक सम्पादन गरेका छन् । विभिन्न संचार संस्थानमा सम्पादकीय भूमिकामा काम गरेका पन्थी हाल नयाँ पत्रिका दैनिकमा आवद्ध छन् ।

प्रकाशित: ४ आश्विन २०८२ २०:३५ शनिबार