‘नमस्ते बहिनी, म त भोट माग्न आए नि।’ रञ्जितले दुवै हात जोड्यो र भन्यो।
‘हजुर राम्रो गर्नुभयो।’ विमलाले पनि दुवै हात जोड्दै भनी।
‘अनि आमालाई कस्तो छ? अचेल अहिले त सञ्चै देखिनुभाको छ।’ रञ्जितले आँगनीमा बसेकी आमातिर हेर्दै भन्यो।
‘हजुर दाइ, ठिकै हुनुहुन्छ।’ उसले सन्तोषजनक उत्तर दिई।
विमलाले आमाको नजिकै पेटीमा बसेर चामलबाट कङ्कट् चुन्दै थिइन्।
‘ए भाइ, लौ हाम्रो फोटा खिच त।’ आफ्नो मोबाइलसँगै आएको साथीको हातमा थमाउँदै भन्यो।
‘ल्याऊ त बहिना म तिम्रो चामल बिन्दिन्छु।’ विमलाको हातबाट चामलको थाली छोप्न खोज्यो।
विमलाले थाल आफूतिर तान्दै भनी, ‘भैगो दाइ, यो खानेकुरा हो। हामी अरूलाई छुन दिंदैनौं।’
‘एए हो र! ठिकै छ त्यसो भए। ला एउटा फोटा आमासँग खिचिहालौं।’ रञ्जितले आमाको नगिचै गुन्द्रीमा बसन खोज्यो।
‘किन खिच्नुपर्याे?’ आमा चर्को बोल्दै जुरूक्कै उठिन् र भित्रतिर हिंडिन्।
हस् भोट दिनुहोला है भन्दै रञ्जित बाटो लाग्यो। अलि पर पुगेर फोटा खिच्दै गरेको साथीले भन्यो, ’नेताजी, फोटा अप्लोड गरौं न।’
रञ्जितले भन्यो, ‘त्यो विरोधीको घर परेछ भैगो नगरौं।’
‘ओहो गल्ती भएछ नेताजी! त्यहाँ खिचेको त लाइव पो गएछ त। धेरैले सेयर पनि गरेछन्।’ साथीले मोबाइल दिंदै भन्यो।
प्रकाशित: १६ फाल्गुन २०८२ १३:३० शनिबार



