बिहानको घाम झ्यालबाट भित्र पस्दै थियो। टेबलमाथि विश्वविद्यालयको प्रमाणपत्र, छेउमा केही सम्मानपत्र र दराजभित्र थन्किएका दर्जनौं जागिरका आवेदन थिए। ती कागजहरूबिच बसेको थियो अनिश–स्नातकोत्तर उत्तीर्ण, प्रविधिमा रुचि राख्ने र आफ्नै देशमा केही गरेर देखाउने सपना बोकेको एक युवा।
ऊसँग ज्ञान थियो, सिप सिक्ने इच्छा थियो, काम गर्ने ऊर्जा थियो तर एउटा कुराको अभाव थियो -आफ्नो भविष्यप्रतिको विश्वास। उसको मोबाइलमा फेरि एउटा सन्देश आयो- ‘माफ गर्नुहोला, यसपटक तपाईं छनोटमा पर्नुभएन।’
अनिशले मोबाइल बन्द गर्यो। यो पहिलो अस्वीकार थिएन। उसले कति आवेदन दियो, कति अन्तर्वार्ता दियो र कतिपटक आशा बोकेर घर फर्कियो भन्ने हिसाब राख्नै छाडिसकेको थियो। हरेक अस्वीकारसँगै उसको आत्मविश्वास घट्दै थियो तर परिवारको अपेक्षा र समाजका प्रश्न झन् बढ्दै थिए।
‘यति पढेर पनि के गरिरहेका छौ ?’ छिमेकीको यो सामान्य प्रश्न उसका लागि पीडादायी बनिसकेको थियो। आफन्तको जमघटमा उसको योग्यताभन्दा बेरोजगारीको चर्चा बढी हुन्थ्यो। साथीहरू विदेश जाने तयारीमा थिए। कोही अस्ट्रेलियाको भिसा पर्खिरहेका थिए, कोही जापानी भाषा सिकिरहेका थिए, त कोही खाडी मुलुकमा काम गर्न कागजपत्र मिलाउँदै थिए।
अनिश पनि सोच्थ्यो - के यही दिन देख्नका लागि उसका आमाबुबाले खेत बेचेर, ऋण लिएर र आफ्ना रहरहरू त्यागेर उसलाई पढाएका थिए ? उसको कथा कुनै एक घरको कथा थिएन। यो हजारौं घरभित्र चुपचाप दोहोरिइरहेको कथा थियो– प्रमाणपत्र बोकेर अवसर खोजिरहेका युवाको, आफ्नो क्षमता प्रयोग गर्न चाहे पनि बाटो नदेखिरहेका युवतीको र आफ्नै देशमा केही गर्न चाहे पनि अन्योलमा बाँचिरहेका प्रतिभाको।
हामीले वर्षौंदेखि आफ्ना छोराछोरीलाई भन्यौं, ‘राम्ररी पढ, राम्रो अंक ल्याऊ, विश्वविद्यालयको प्रमाणपत्र हासिल गर, त्यसपछि जीवन सफल हुन्छ।’ तर उनीहरूले प्रमाणपत्र हासिल गरेपछि उनीहरूलाई दिनुपर्ने अवसर, सिपअनुसारको काम र सम्मानजनक जीवनको आधार हामीले तयार गर्यौं त? समस्या युवाहरूले पढे भन्ने होइन, उनीहरूले सिकेको ज्ञान प्रयोग गर्ने अवसर पर्याप्त रूपमा सिर्जना गर्न नसक्नु हो।
हाम्रो शिक्षाप्रणालीले परीक्षामा उत्तीर्ण हुन सिकायो तर जीवनका वास्तविक चुनौती सामना गर्ने सिप कति दियो? प्रमाणपत्र लिन सिकायो तर समस्या पहिचान गरेर समाधान खोज्न कति प्रेरित गर्यो ? जागिर खोज्न सिकायो तर उद्यम स्थापना गर्न, रोजगारी सिर्जना गर्न र असफलताबाट फेरि उठ्न कति तयार पार्यो ?
सबै शिक्षित युवा उद्यमी बन्नुपर्छ भन्ने होइन। देशलाई शिक्षक, चिकित्सक, इन्जिनियर, अनुसन्धानकर्ता, प्रशासक, कलाकार, किसान, प्राविधिक र कुशल श्रमिक सबै चाहिन्छ तर उनीहरूले प्राप्त गरेको ज्ञान र सिपअनुसार काम गर्ने अवसर पाउनुपर्छ।
शिक्षाको प्रतिफल प्रमाणपत्रमा मात्र होइन, व्यक्तिको आत्मनिर्भरता र राष्ट्रको उत्पादन क्षमतामा देखिनुपर्छ। जब विश्वविद्यालयबाट निस्केको युवाले आफ्नो योग्यताअनुसारको काम खोज्न वर्षौं बिताउँछ, तब प्रश्न उसको क्षमतामाथि मात्र उठाउनु अन्याय हो। शिक्षाको गुणस्तर, श्रमबजारको आवश्यकता, सरकारी नीति, निजी क्षेत्रको लगानी र रोजगारी सिर्जना गर्ने आर्थिक वातावरणमाथि पनि प्रश्न उठ्नुपर्छ।
हामी युवालाई देश छाडेको आरोप लगाउँछौं तर उनीहरू किन बाहिरिन बाध्य हुन्छन् भन्ने प्रश्नको उत्तर कहिल्यै खोज्यौं ? विदेश जाने हरेक युवा देशप्रति निराश भएर गएको हुँदैन।
धेरै युवा ज्ञान, अनुभव र अवसर खोज्दै जान्छन् तर जब आफ्नै देशमा श्रमको उचित मूल्य हुँदैन, क्षमताको सम्मान हुँदैन, व्यवसाय सुरु गर्न सहज वातावरण हुँदैन र भविष्य निर्माण गर्ने स्पष्ट बाटो देखिँदैन, तब विदेश जाने निर्णय रहरभन्दा बाध्यता बन्न थाल्छ।
यो केवल जनशक्ति पलायनको विषय होइन। यो परिवारको विछोड, उत्पादनशील जनशक्तिको अभाव र देशको भविष्यसँग जोडिएको विषय हो। युवा विदेश जान्छ, उसका आमाबुबा एक्लिन्छन्, गाउँका खेत बाँझिन्छन्, स्थानीय बजारको कारोबार घट्छ र देशभित्रै सिर्जना हुन सक्ने सम्भावना बाहिर जान्छ।
रेमिट्यान्सले परिवार चलाउन र अर्थतन्त्रलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। विदेशमा काम गर्ने युवाको श्रम र त्यागको सम्मान हुनुपर्छ तर देशको दीर्घकालीन समृद्धि नागरिकले विदेशमा कमाएको पैसामा मात्र निर्भर रहन सक्दैन। देशभित्रै उत्पादन, रोजगारी, नवप्रवर्तन र अवसर सिर्जना गर्ने वातावरण पनि उत्तिकै आवश्यक छ।
युवालाई केवल पीडितका रूपमा प्रस्तुत गरेर पनि समस्याको समाधान हुँदैन। शिक्षित पुस्ताले आफ्नो ज्ञान अद्यावधिक गर्नुपर्छ, सिप विकास गर्नुपर्छ, नयाँ प्रविधि सिक्नुपर्छ र श्रमको सम्मान गर्नुपर्छ। अवसर खोज्ने मात्र होइन, सम्भव भएसम्म अवसर सिर्जना गर्ने सोच पनि विकास गर्नुपर्छ तर व्यक्तिगत मेहनतले मात्रै संरचनागत समस्या समाधान हुँदैन। युवाको क्षमतालाई परिणाममा बदल्न राज्यको नीति, बजारको पहुँच, वित्तीय सहयोग र संस्थागत विश्वास चाहिन्छ।
अब हाम्रो प्राथमिकता बदलिनुपर्छ। विश्वविद्यालयले आगामी समयको आवश्यकता पहिचान गरेर शिक्षा दिनुपर्छ। प्राविधिक तथा व्यावसायिक शिक्षालाई कम प्रतिष्ठाको विकल्प होइन, सम्मानजनक करियरको बाटो बनाइनुपर्छ। अनुसन्धानलाई कक्षाकोठामा सीमित नराखी कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, उद्योग र स्थानीय उत्पादनसँग जोड्नुपर्छ।
सरकारले युवा उद्यमका लागि कर्जा घोषणा गरेर मात्र पुग्दैन। कर्जा वास्तविक उद्यमीको पहुँचमा पुगेको छ कि छैन? धितो र प्रशासनिक प्रक्रियाले कति युवालाई रोकिरहेको छ? व्यवसाय असफल भए फेरि उठ्ने अवसर छ कि छैन? भन्ने मूल्यांकन गर्नुपर्छ।
उद्यमशीलता नाराबाट होइन, सहज नीति, व्यावहारिक तालिम, प्रविधिको पहुँच र बजारको सुनिश्चितताबाट हुर्किन्छ। निजी क्षेत्रले पनि युवालाई सस्तो श्रमका रूपमा मात्र हेर्नुहुँदैन। उनीहरूलाई तालिम, कामको अनुभव, सिपअनुसारको पारिश्रमिक र करियर विकासको अवसर दिनुपर्छ। स्थानीय तहले पनि आफ्ना क्षेत्रमा उपलब्ध स्रोत र सम्भावनाका आधारमा युवा उद्यमलाई प्रोत्साहन गर्न सक्छन्। गाउँमा कृषि, जडीबुटी, पर्यटन र स्थानीय उत्पादनका अवसर छन्, सहरमा डिजिटल सेवा, सिर्जनात्मक उद्योग र नयाँ प्रविधिका सम्भावना छन्। चुनौती ती सम्भावनालाई वास्तविक आय र रोजगारीमा बदल्नु हो।
अनिशको चिन्ता बेरोजगारीमा मात्र सीमित थिएन। उसको मनमा अर्को प्रश्न उठिरहेको थियो। नेपालमै बसेर भविष्य कसरी बनाउने, जब प्राकृतिक विपद्ले पनि जीवनभरको मेहनत एकै रातमा नष्ट गर्न सक्छ?
भोटेकोसी, त्रिशूली र कालीगण्डकीलगायतका नदीमा आएका बाढी तथा विभिन्न क्षेत्रमा गएको पहिरोले घर, सडक, पुल, व्यवसाय र समुदायमा पुर्याएका क्षतिका दृश्यले उसलाई चिन्तित बनाउँथे। कतिपय परिवारले घर र जीविकोपार्जन गुमाएका थिए, कतिपयले आफ्ना आफन्त र वर्षौंको मेहनतबाट जोडेको सम्पत्ति।
जलवायु परिवर्तनका असरले यस्तो जोखिम अझ गम्भीर बनाइरहेका बेला नयाँ व्यवसाय सुरु गर्ने युवाले आफ्नो लगानी र भविष्य कसरी सुरक्षित ठान्ने ? बैंकले चार प्रतिशत ब्याजदरमा कर्जा दिने प्रस्ताव गरे पनि सस्तो ऋण मात्रै व्यवसाय सफल हुने आधार होइन। बजारको सुनिश्चितता, व्यवसायमैत्री सरकारी नीति, सरल प्रशासनिक प्रक्रिया, बिमा र विपद्पछिको सहयोग नहुँदा युवा ऋण लिएर जोखिम मोल्न हिचकिचाउँछन्। अनिशले सोच्यो, युवालाई नेपालमै बस्न आग्रह गर्नुअघि व्यवसाय गर्न सहज वातावरण, सुरक्षित पूर्वाधार र विपद्बाट उठ्न सक्ने भरपर्दो व्यवस्था निर्माण गर्नुपर्छ। सपना देख्न युवालाई सिकाउने देशले ती सपना जोगाउने प्रणाली पनि बनाउनुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा असफलतालाई अपराधजस्तो व्यवहार गर्ने सामाजिक सोच बदल्नुपर्छ। पहिलो व्यवसाय असफल भयो भन्दैमा युवा अयोग्य हुँदैन। एउटा जागिर नपाउँदैमा उसको शिक्षा व्यर्थ हुँदैन। जीवनको सुरुआती चरणमा संघर्ष गर्नु भविष्य समाप्त हुनु होइन तर राज्य र समाजले बारम्बार अवसर बन्द गरिदिँदा युवालाई धैर्य गर्न भन्नु मात्रै पर्याप्त हुँदैन। एक साँझ अनिश आफ्ना बुबासँग आँगनमा बसिरहेको थियो। बुबाले सोधे, ‘अब के सोच्यौ? विदेश जाने हो?’
अनिश केही बेर मौन रह्यो। त्यसपछि भन्यो, ‘विदेश जानु गलत होइन बुबा ! तर विदेश जानुअघि आफ्नै देशमा एकपटक प्रयास गर्न चाहन्छु। हाम्रो गाउँका किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुर्याउने डिजिटल सेवा सुरु गर्ने सोच छ। ठुलो लगानी चाहिँदैन तर तालिम, केही उपकरण र बजारसँग जोडिने सहयोग चाहिन्छ।’
बुबाले उसको अनुहार हेरे। पहिले उनलाई छोराले जागिर नपाएकोमा चिन्ता थियो। अब छोरा आफ्नै खुट्टामा उभिन खोजिरहेको थियो तर उनको अर्को प्रश्न थियो, ‘योजनाले काम गरेन भने?’
अनिशले भन्यो, ‘त्यसबाट सिक्छु, फेरि प्रयास गर्छु तर योजना सफल हुने सम्भावना छ कि छैन भनेर जाँच्ने अवसर त पाउनुपर्यो नि बुबा !’ त्यो वाक्यमा एउटा पुस्ताको माग थियो। सफलताको ग्यारेन्टी होइन, प्रयास गर्ने अवसर, निःशुल्क सुविधा होइन, निष्पक्ष पहुँच, खोक्रो आश्वासन होइन, काम गर्न सक्ने वातावरण।
अनिशको कथा सुखान्त भयो कि भएन? त्योभन्दा महत्त्वपूर्ण प्रश्न के हो भने देशमा कति अनिशहरू छन्, जससँग विचार छ तर पुँजी छैन, सिप छ तर अवसर छैन, ऊर्जा छ तर मार्गदर्शन छैन ? कति युवती सामाजिक अवरोधका कारण आफ्नो क्षमता प्रयोग गर्न पाएका छैनन् ? कति प्रतिभाशाली युवा केवल योग्यताअनुसारको अवसर नपाएकै कारण विदेश जाने निर्णय गर्न बाध्य छन् ?
यी प्रश्नको उत्तर कुनै एक भाषणले दिँदैन। त्यसका लागि शिक्षा, अर्थतन्त्र र रोजगारीलाई एउटै राष्ट्रिय प्राथमिकतामा जोड्नुपर्छ। युवा नीति कागजमा सीमित हुनुहुँदैन। प्रत्येक कार्यक्रमको सफलता कति युवाले काम पाए ? कति उद्यम टिके ? कति नयाँ रोजगारी सिर्जना भए ? कति युवाले आफ्नै क्षेत्रमा सम्मानजनक जीवन बनाउन सके ? भन्ने आधारमा मापन गरिनुपर्छ।
आज हामी युवालाई भविष्यका कर्णधार भन्छौं तर भविष्यका कर्णधारलाई वर्तमानमा अवसर नदिएर भविष्यको जिम्मेवारी कसरी सुम्पिन सक्छौं ? उनीहरूलाई देशको नेतृत्व गर्ने दिनको प्रतीक्षा गर्न भनिरहँदा आज आफ्नै जीवनको निर्णय गर्ने अवसरबाट वञ्चित गर्नु कस्तो न्याय हो ?
शिक्षित पुस्ता बेरोजगार हुनु केवल व्यक्तिगत असफलता होइन, यो राष्ट्रको मानवपुँजी उपयोग गर्न नसकेको संकेत पनि हो। डिग्री हासिल गरेको युवा निराश भएर बस्नु, आफ्नो क्षमतामा शंका गर्न थाल्नु वा बाध्यताले देश छाड्नु भनेको उसले मात्रै अवसर गुमाउनु होइन, देशले पनि सम्भावना गुमाउनु हो।
राष्ट्र निर्माणको अर्थ अग्ला भवन, फराकिला सडक र ठुला आयोजनाहरू मात्रै होइनन्। आफ्ना नागरिकले सिकेको ज्ञान प्रयोग गर्न पाउनु, श्रमको उचित मूल्य पाउनु, आफ्नो भविष्यबारे आशावादी हुन सक्नु र परिवारसँगै सम्मानपूर्वक बाँच्न सक्नु पनि विकासका आधार हुन्।
हामीले युवालाई देशमै बस्न आदेश दिएर रोक्न सक्दैनौं। उनीहरूलाई बस्न मन लाग्ने देश बनाउनुपर्छ। विदेश जाने बाटो बन्द गरेर होइन, स्वदेशमै सम्भावनाका ढोका खोलेर उनीहरूलाई जोड्नुपर्छ। भाषणमा युवाको प्रशंसा गरेर होइन, नीति र बजेटमा उनीहरूलाई प्राथमिकता दिएर विश्वास दिलाउनुपर्छ।
आजको शिक्षित पुस्ता भविष्यविहीन होइन, भविष्य निर्माण गर्ने अवसरको प्रतीक्षामा छ। उसको हातमा प्रमाणपत्र छ, मस्तिष्कमा विचार छ र मनमा सम्भावनाको सपना छ। अब प्रश्न युवाले के गर्न सक्छन् ? भन्ने मात्रै होइन। प्रश्न यो पनि हो– उनीहरूले गर्न सक्ने कामका लागि देशले कस्तो वातावरण तयार गरिरहेको छ ?
कुनै पनि राष्ट्रको सबैभन्दा ठुलो सम्पत्ति त्यसका प्राकृतिक स्रोत मात्रै होइनन्, ती स्रोतलाई सम्भावनामा बदल्न सक्ने नागरिक हुन्। ती नागरिकलाई शिक्षित बनाएर अवसर नदिनु लगानी गरेर प्रतिफल लिन नसक्नु हो। युवालाई निराश हुन दिनु र त्यसपछि उनीहरू देश छाडे भनेर चिन्ता गर्नु समाधान होइन। अब समय आएको छ– शिक्षित युवालाई बेरोजगारको परिचयबाट बाहिर निकाल्ने, उनीहरूको सिपलाई उत्पादनसँग जोड्ने, उद्यमशीलतालाई व्यवहारमा उतार्ने र सम्मानजनक रोजगारीलाई राष्ट्रिय अभियान बनाउने किनकि देशको भविष्य विदेश गइसकेका युवालाई सम्झेर मात्रै बन्दैन, देशमै रहेका युवाको सम्भावना पहिचान गरेर पनि बन्छ।
राष्ट्रको वास्तविक सफलता कति युवाले डिग्री पाए ? भन्नेमा मात्रै होइन, कति युवाले आफ्नो ज्ञानअनुसारको जीवन पाए ? कति परिवारले आशा पाए ? कति प्रतिभाले आफ्नै देशमा भविष्य देख्न सके ? भन्नेमा मापन हुन्छ। शिक्षित पुस्तालाई भविष्यविहीन बनाइराखेर समृद्ध राष्ट्रको सपना पूरा हुन सक्दैन। अब प्रमाणपत्रलाई अवसरसँग, शिक्षालाई उत्पादनसँग र युवाको सपनालाई राष्ट्रिय विकाससँग जोड्ने समय आएको छ।
- ज्ञवाली सामाजिक-आर्थिक अभियन्ता तथा लेखक हुन्।
प्रकाशित: १४ कार्तिक २०८३ ०६:१९ शनिबार