कला/साहित्य

डा. पुडासैनीको आँसुले लेखिएको ‘कालो आँधी’ बजारमा

प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित अस्तित्ववादी मनाेलाप कृति कालो आँधी बजारमा आएको छ।

शारीरिक रूपमा अत्यन्त स्वस्थ, हृष्टपुष्ट, सधैँ हँसिलो र सधैं रसिलो डा. पुडासैनीलाई एक्कासी नेजोफेरेन्जियलकार्सिनोमा नामक क्यान्सरले आक्रमण गर्‍यो। क्यान्सर डायग्नोसिस हुनेबित्तिकै पुडासैनीले रेडियोथेरापी, किमोथेरापी र अरू धेरै औषधि लिन त शुरू गरे तर तिनै थेरापीहरू र औषधिहरूको असरले उनको शरीर घाउ नै घाउको जीर्ण पोको बन्यो, कपाल, दाह्री र शरीरको पुरै रौं झर्‍यो, आवाज बन्द भयो, सबै किसिमको स्वाद पूर्णतः हरायो, खानपानी निल्न असाध्य गाह्रो भयो, उपचारकै क्रममा चौध किलो तौल घट्यो, टोटल व्लडकाउण्ट, सुगर, नुन, प्रेसर सबै घटेर बेलाबेलामा मृतप्रायः बनायो। बाँच्ने सम्भावना अत्यन्त कम हुँदाहुँदै पनि डा. पुडासैनीले विज्ञानले गरेको प्रगतिमाथि भरोसा गरे र मृत्युलाई जित्ने आत्मविश्वास जगाए।

डा. पुडासैनीले मृत्युसँग लड्दै भए पनि आफ्ना ताता अनुभव र अनुभूतिहरू सँगालेर त्यसैबेला एउटा अस्तित्ववादी मनालाप कृति लेखे कालो आँधी शीर्षकमा। मृत्युविरुद्ध लडाइँ र जीवनप्रतिको आशाको मधुर धुन गुञ्जिरहेको यो कृतिलाई प्रसिद्ध प्रकाशन संस्था रत्न पुस्तक भण्डारले भर्खरै प्रकाशमा ल्याएको छ।

कालो आँधीको भूमिका प्रसिद्ध समालोचक एवं कवि प्राडा नेत्र एटमले लेखेका छन्। उनी लेख्छन्, ‘डा. दामोदरको कालो आँधी सुनाउन लेखिएको होइन, अनुभूत गराउन रचिएको हो। यो छटपटीको बेला वा मनस्तापले ग्रस्त अर्धबेहोसी अवधिमा प्रकटित अभिव्यञ्जना हो।

कालो आँधीमा दामोदर पुडासैनी ‘किशोर’ ले क्यान्सरको निकट पुगेर फर्केको अवधिमा जीवनलाई गहन पुनरावलोकन गरेका छन्, कसले के भन्ला भन्ने कुरालाई बालै नदिई आफ्ना चिन्तन, चिन्ता, विचार र भावनालाई लगभग ‘मृत्यु निकटको सङ्कल्पना (डाइङ डिक्लेरेसन) कै रूपमा शाब्दिक प्रदर्शन गरेका छन्। यसले उनका परिवार, आफन्त, पाठक तथा उनी बाँचेको समाजको फलकलाई नै कतिपय कुरामा सोच्न र पुनर्विचार गर्न बाध्य बनाएको छ।

यस कृतिमा डा. पुडासैनीले जीवनप्रेम मात्र होइन शक्ति र न्यायसम्बन्धी परिभाषा समेत बदलेका पाइन्छ। यसका कारण कालो आँधी मनालापमा अन्तर्वस्तुको विकास सुन्दर रूपमा भएको छ।

साहित्यिक मनालापका प्रमुख रणनीति -निर्बाध आत्माभिव्यक्ति, आलोचनात्मक चिन्तन र अनुभूतिको भाषिक सामर्थ्य जस्ता तीनै पक्षमा डा. दामोदर पुडासैनी ‘किशोर’ ले यस कृतिमा ठुलो सफलता हासिल गरेका छन्। मनालापमा देखिएको फरक चिन्तनले लेखक पुडासैनीलाई सामाजिक इञ्जिनियरको सुनिश्चित प्रतिष्ठा प्रदान गर्छ।’

कालो आँधीको प्रकाशन संस्था रत्न पुस्तक भण्डारले आफ्नो प्रकाशकीयमा लेखेको छ,  ‘कालो आँधी जीवन सङ्घर्षको सुन्दर अभिलेख हो। अत्यन्त डरलाग्दा र गहिरा घाउहरू भोग्दाको ताजा बयान हो। पीडा र अभावको विरुद्ध सङ्घर्ष गर्दै जीवनलाई वैभवशाली बनाउने प्रयत्नको कथा हो। जीवनलाई नयाँ पाटोतर्फ मोड्न तत्पर सङ्घर्षको साहसी कथा हो यो। यो कृति अत्यासलाग्दो रोगविरुद्ध डटेर लड्ने हिम्मतको हतियार मात्र होइन, नेपाली समाज र संस्कारलाई उदाङ्गो उधिनेर नवीन दृष्टिकोणका साथ नवीन मार्गमा नवजीवनलाई डोर्‍याउने असल मार्गचित्रको संरचना पनि हो।

काव्यिक भाषाशैली, कलात्मक प्रवाहको लालित्य, तथ्यको वेगवान स्पष्टता र भावको मनोहारी वहावको संयोजनका कारण डा. दामोदर पुडासैनी ‘किशोर’ को यो कृति कालो आँधी बहुसंख्यक पाठकको प्रिय स्थानमा रहनेछ भन्ने हाम्रो विश्वास छ। क्यान्सरको दर्दनाक पीडामा फस्दा पनि ठूलो हिम्मतसाथ लेखिएको यो कृतिले पुडासैनीले भोगेका पीडा मात्र नभई मान्छे, समाज र विश्वलाई फरक दार्शनिक दृष्टिबाट नियालेर फरक मार्गप्रशस्त गर्न सफल कृतिको रूपमा समेत पाठकसमक्ष आएको छ।

आफ्नो पुस्तक कालो आँधीका सम्बन्धमा डा. दामोदर पुडासैनी ‘किशोर’ले लेखेका छन्, ‘जीवन र मृत्युको लडाइँको मझधारमा बसेर लेखिएको मनको आलाप हो, हालो आँधी। यो  जीवन र परिवेश उधिनेर जीवनको मर्म खोतलेको एवं मान्छे र समाजको मूल्य खोतलिएको अभिलेख पनि हो। यसमा रोगलाई केन्द्रमा राखेर समाज, मान्छे र संसारको दार्शनिक ढङ्गले चिरफार गर्ने प्रयास गरिएको छ। यस कृतिमा मृत्युको घातक पञ्जा पन्छाएर जीवनको गोरेटोमा फर्कंदाका अनुभूति छन्, मान्छेको अस्तित्वमा सामाजिक सान्निध्यले पारेका प्रभावहरू छन् र मृत्युले निकटबाट झस्काइरहेको बेला समाजको सामिप्यता र जीवनको अस्तित्वधारी उत्सवका रङ्गहरू पनि छन्। वास्तवमा यो पीडाको आँखुले लेखेको कृति हो।’

नेपाली साहित्यमा अस्तित्ववादी मनालाप कृति शून्यप्रायः भएकोमा डा. दामोदर पुडासैनी ‘किशोर’ को कालो आँधीविधाभञ्जक रूपमा विशेष महत्त्व बोकेर प्रकाशमा आएको छ।

कालो आँधी डा. पुडासैनीको एक्काइसौं कृति हो। यसअघि उनका एघार कवितासङ्ग्रह, सात नियात्रासङ्ग्रह, एक दर्शनसङ्ग्रह र एक आर्थिक व्यवस्थापन विधाका कृतिहरू प्रकाशित छन्। पुडासैनीका सिमानाका रङ्ग: सिमानाका तरङ्ग र ग्रीष्मको नीलो बतास मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेका थिए।

रत्न पुस्तक भण्डारका प्रमुख गोविन्दश्रेष्ठ तथा प्रवन्ध निर्देशक सुरेश श्रेष्ठले डा. दामोदर पुडासैनीको कृतिकालो आँधी प्रकाशनको पहिलो दिनमै उल्लेख्य रूपमा विक्री भएको, अहिले देशका प्रमुख बजारहरूमा उपलब्ध भैसकेको र चाँडै स्वदेश तथा विदेशका प्रमुख विक्रेताहरू र पाठकहरूसमक्ष पुर्‍याइने जानकारी दिए।

प्रकाशित: २७ चैत्र २०८२ १०:१७ शुक्रबार