कला/साहित्य

मनमा चोट दिने घाउ नलगाउनुस्!

गजल

१) गजल

दिल दुखाउने कुनै दाउ नलगाउनुस्,

मनमा चोट दिने घाउ नलगाउनुस्।

अब त बुझ्न थालेँ तपाईंका हाउभाउ,

मसँग झूटो कुनै भाव नलगाउनुस्।

ढिडो खाई हुर्किएको गाउँको मान्छे हुँ,

मेरो भान्सामा मिठो पुलाउ नलगाउनुस्।

सादा जीवन, आफ्नै माटो प्यारो लाग्छ,

मलाई पराइ रङको ठाउँ नलगाउनुस्।

२) गजल

निराशाको घडीमा पनि आशा हुन्छ,

अँध्यारोको काखमा केही उज्यालो हुन्छ।

सम्पन्नलाई कहाँ थाह गरिबीको पीडा,

भोकाको मुस्कानभित्र कति उदास हुन्छ।

धेरै बोल्दैमा प्रेमको प्रमाण हुँदैन,

मौन आँखाको भाषामा प्रेमको आभास हुन्छ।

धनले मात्र जीवनमा कहाँ सुख दिन्छ र,

सन्तोषी मनको सानो खुसी नै खास हुन्छ।

प्रकाशित: ११ आश्विन २०८३ ११:५८ आइतबार