कला/साहित्य

डोमिनिकन रिपब्लिककी जोहेरी मोला बनिन् मिस वर्ल्ड २०२६

मिस वर्ल्ड २०२६ को विजेताको घोषणा भएको छ। डोमिनिकन रिपब्लिककी जोहेरी मोलाले मिस वर्ल्डको ताज हासिल गरेकी छन्।

सेप्टेम्बर ५ मा भियतनामको न्हा ट्राङमा आयोजित ७३औँ मिस वर्ल्ड ग्रान्ड फिनालेमा जोहेरी मोलाले विश्वभरका ११० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।

त्यस्तै, भारतको प्रतिनिधित्व गरेकी निकिता पोरवालटप ४० फाइनलिस्टमा स्थान बनाउन सफल भइन्। नेपाल भने यसवर्षको मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ जित्नबाट बञ्चित भएको छ।

फिनालेमा स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न फर्स्ट रनरअप र मलेसियाकी तानुसिया सेकेन्ड रनरअप घोषित भइन्।

जोहेरी मोला केवल मोडल मात्र नभई शिक्षिका, समुदायका लागि आवाज उठाउने अभियन्ता र सञ्चारकर्मी पनि हुन्। उनले बिजनेस म्यानेजमेन्ट तथा एडमिनिस्ट्रेसन अध्ययन गरेकी छन्।

उनी ‘भ्वाइस अफ टुमोरो’ नामक पहलकी संस्थापक तथा अध्यक्ष हुन्। यो संस्थाले आर्थिक तथा सामाजिक रूपमा कमजोर समुदायका बालबालिका र युवालाई अंग्रेजी शिक्षा उपलब्ध गराउने क्षेत्रमा काम गर्छ।

जोहेरी आफैं पनि बालबालिकालाई पढाउँछिन्। उनले अंग्रेजी, साहित्य र सामाजिक विज्ञान पढाउनुका साथै बालबालिकामा सकारात्मक सोच तथा व्यक्तित्व विकासमा समेत ध्यान दिँदै आएकी छन्।

जोहेरी मोलाको मिडिया क्षेत्रमा पनि अनुभव छ। उनले युनिभिजन न्यूयोर्कको ‘भेन्टाना ए क्विस्केया’ कार्यक्रममा संवाददाताका रूपमा काम गरेकी थिइन्।

त्यस क्रममा उनले डोमिनिकन संस्कृति, सामाजिक विषय तथा समुदायसँग सम्बन्धित विभिन्न कथाहरू दर्शकमाझ प्रस्तुत गरेकी थिइन्।

यसका साथै उनी व्यावसायिक मोडल पनि हुन् र गोया गिभ्सकी एम्बेसडरका रूपमा समेत काम गरिसकेकी छन्।

शिक्षा, सञ्चार र सामाजिक सेवामार्फत मानिसहरूसँग जोडिने, सहानुभूति बढाउने र अरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने कार्यमा उनले विशेष जोड दिँदै आएकी छन्।

प्रकाशित: २१ भाद्र २०८३ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App