सालिकहरू मौन छन् किनकि ती निस्प्राण छन्। सालिकको प्रसङ्गमा बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ लागु हुन्छ। तर, नबोल्नुको अर्थ के नबोल्नेहरूभित्र कुनै अनुभूति हुँदैन? एउटा प्रश्न उब्जन्छ।
सायद मौनताको पनि आवाज हुन्छ। हो, स्थिर छ सालिक, चुपचाप ! तर उसको त्यही मौनता नै उसको आवाज हो। त्यो मौन आवाजमा उसले आफ्नो इतिहास बताइरहेको हुन्छ।
सालिकको स्थापनालाई अस्वीकार गर्नेहरू भन्छन्– ‘मानव समाजमा सालिकको कुनै अर्थ छैन। त्यसको अस्तित्वलाई स्वीकार गर्न सकिन्न। जस्तो कि, तिनको तर्क छ– जुद्धशमशेरको सालिक राजधानीको मुटुमा किन राख्ने? जुन राणाहरूले नेपाली जनतालाई १०४ वर्षसम्म अन्धकारमा राखे, तिनका सालिक टुँडिखेलको चारै दिशामा सजाएर किन राख्ने?’
यसको प्रत्युत्तर सहज छ - ‘सालिकहरू स्वयं स्थापित भएका होइनन्, इतिहासले खडा गरिएका हुन् ती।’
यहींनिर फेरि अर्को तर्क छ -‘त्यो इतिहास हो तर कलङ्कित इतिहास। त्यस्तो खराब इतिहासको कुनै औचित्य छैन।’
यस्तो तर्क गर्नेलाई प्रतिप्रश्न गर्न सकिन्छ– ‘खराबको पनि त इतिहास हुन्छ। त्यस्तो खराब इतिहास वर्तमानले बुझ्नुहुँदैन भन्ने के छ?’
तर्क गर्ने चुप नबस्लान्, वितर्क गर्लान्– ‘होइन, खराब भनेको खराब नै हो। त्यो नराम्रै हो। वर्तमानले नराम्रोतर्फ किन आँखा लगाउनु? वर्तमानले राम्रो खोज्ने हो, राम्रै हेर्ने हो।’
अझ तिनले थप्लान्– ‘नराम्रो विषयको त जरा नै उखेल्नुपर्छ। त्यसमाथि जुद्धशमशेरको सालिकले केवल एउटा व्यक्तिको इतिहास बोल्छ। इतिहास वास्तवमा व्यक्तिको हुनुहुँदैन। यस अर्थमा पनि त्यस्तो सालिकको कुनै मूल्यमा औचित्य छैन।’
आफूमाथिको विश्लेषण सुनिरहन्छ सालिक। ऊ बोल्दैन, मौन छ।
तर्क गर्नेहरू उत्साहित होलान्, स्थापित सालिकको विषयमा बोलिरहलान्। भन्लान्– ‘किन राखिरहने खराब इतिहास झल्काउने सालिक? सहर सजाउनुको नाममा जुद्धशमशेरजस्तो निरङ्कुश शासकको सालिक नयाँसडकमा उभ्याएर त्यो बाटो हिँडेर मोडिने बटुवाहरूले उसको परिक्रमा गर्न किन बाध्य हुने? जबकि सालिकको केही अर्थ खोज्ने हो भने देशका लागि प्राण आहुति गर्ने गंगालाल, दशरथहरूको सालिकलाई पो बढी मान्यता दिनुपर्ने !’
यस हिसाबले हेर्दा यो भनाइलाई यसरी बुझ्नुपर्ने हुन्छ– ऐतिहासिक अत्याचारका इँटाहरूले उठाइएका पर्खाल ढल्नुपर्छ, इतिहासका दमनकारी काँडेदार तारहरू चुँडिनुपर्छ। अर्को शब्दमा भन्ने हो भने समाजमा रहेका खराब इतिहास प्रतीकहरू सबै मेटिनुपर्छ।
यो तर्क सुन्दा एक किसिमले शतप्रतिशत सही भनाइ हो जस्तो लाग्न सक्छ। दुवै हात उचालेर वा मनमनै थपडी बजाउन मन लाग्छ। तर, त्यही मनभित्र नजानिँदो पारामा थुप्रै खुल्दुली पक्कै उठ्छन्। के जुद्धशमशेरको सालिक उखेल्दैमा राणाकालीन इतिहास बिर्सन सकिन्छ? बिर्सन चाहेर बिर्सन सकिने इतिहास हो त्यो? त्यो षड्यन्त्र, त्यो धोखाघडी, त्यो अन्याय, त्यो अत्याचार इत्यादिको कुनै अर्थ लाग्दैन वर्तमानमा?
आजकै पुस्ता वा भविष्यको पुस्तालाई होसियारी अपनाउन त्यस्ता सालिकले बाटो देखाउँदैनन्? त्यस्ता सालिकले कुबाटोमा हिँड्ने राजनीतिज्ञलाई थप हौसला त पक्कै दिँदैनन् होला। तिनले ‘म त्यस्तो थिएँ, तिमी पनि त्यस्तै चरित्रको हुनुपर्छ’ भनेर पाठ पनि त पक्कै पढाउँदैनन् होला।
कदाचित्, खराब इतिहास नै हो भने पनि त्यसको सत्यता पढाउन पनि त सालिकहरूको महत्त्व होला नि ! अन्यथा, खराब हुनु वा देखिनुको नाममा संसारमा कुनै पनि किसिमका खराबीहरूलाई महत्त्व नदिने हो भने त्यस खालका इतिहास एकलकाँटे हुन पुग्दैन भन्ने छैन। यस अर्थमा कुनै निश्चित विषयको इतिहासलाई सम्पूर्ण रूपमा थाहा पाउनका लागि अर्थात् सत्य–तथ्य बुझ्नका लागि त्यससँग सम्बन्धित असल र खराब दुवै पक्षलाई समान रूपले अङ्कित गर्न आवश्यक हुन्छ।
त्यसो त, सालिक नरहनासाथ इतिहास मेटिई जान्छ र? कदाचित् त्यस्तो हुने हो भने लेनिनको सालिक ढल्दै जानुको अर्थ लेनिन स्वयम्को वा लेनिनकालको इतिहास मेटिनु हो? अथवा चीनमा माओपछिको शासनसत्ताले, इराकमा सद्दाम हुसेनपछिको शासनसत्ताले, बंगलादेशमा सेखमुजिबपछिको शासनसत्ताले तिनका सालिक भत्काउँदैमा तत्–तत् व्यक्तिका वा तत्कालीन कालका इतिहास मेटिइसके र? प्रस्ट छ, ती त अब वर्तमानमा इतिहासका पात्र र विषय हुन्, अझ स्पष्ट भन्ने हो भने, अत्यन्तै चाखलाग्दा विषय ! कसैले तिनलाई महत्त्व दिनु या नदिनु आफ्नो सुविधाअनुसारको ठाउँमा होला। तर इतिहास हुन् ती, इतिहास। हिटलर इतिहास हो, नेपोलियन इतिहास हो, लेनिन इतिहास हो, माओ इतिहास हो, गान्धी इतिहास हो, त्योसँगै गोड्से पनि इतिहास हो। यसरी नै हाम्रै देशका बलभद्र, अमरसिंह, कालु पाण्डे सबै इतिहास हुन् भने राणाकालका जङ्गबहादुर या तिनका सन्तान जुद्धशमशेरहरू चाहिँ किन अछुत? निजहरू र तिनका सालिकलाई ‘माइनस’ गर्नु भनेको राणाकालको इतिहास जान्न चाहनेका लागि अन्याय गर्नु हो। जोड दिएर भन्नुपर्छ– सालिकहरू जसरी जुन प्रकारले स्थापित भएका छन्, ती कायम नै रहनुपर्छ, चाहे तिनका इतिहास कालो कलङ्क नै किन नहोस् !
स्पष्ट छ– इतिहास भनेको इतिहास हो। इतिहासले भविष्यको बाटो पहिल्याउँछ। अर्को वाक्यमा भन्ने हो भने इतिहासमा भविष्यको द्वार खोल्ने शक्ति हुन्छ। यसरी, आफैंमा गरिमा बोक्ने इतिहासलाई अपहेलना गर्नु, घृणा गर्नु वा तिरस्कार गर्नु इतिहासमाथि अन्याय गर्नु हो। त्यसै पनि, इतिहासको कालखण्डको प्रतीकका रूपमा सालिकहरूलाई जसरी जुन स्थितिमा स्थापना गरिए, त्यसबखतको समय–परिस्थिति र त्यतिखेरको आर्थिक लगानीको हिसाबले हेर्ने हो भने त्यसमाथि गर्व पो गर्नुपर्ने हुन्छ, कहाँ तिनलाई मास्ने कुरो? राजनीतिक आँखाबाट पूर्वाग्रही ढङ्गले हेर्ने हो भने कुरो बेग्लै। अन्यथा, सालिकहरूको उपस्थितिले कसैको मनमा न त कुनै किसिमको ठेस पुग्छ, न त तिनले कसैलाई दुःख दिन्छन्। कदाचित्, कुनै आवेगले स्थापित भएर रहेका सालिकहरूलाई राख्न नहुने तर्क गर्ने हो भने भोलि आउने सन्ततिले पनि त यही तर्क गरिदेलान् र आज स्थापना गरिएका सालिकलाई धमाधम ढालिदेलान्। अनि त्यस्तो अवस्थामा जवाफ कोसँग माग्ने? क्षतिपूर्ति कसबाट दिलाउने?
कम्तीमा समयको प्रमाण हो सालिक। जे देखिन्छ, देखिनुबाहेकको सत्य अर्को छैन भनिएझैं सालिकले सत्य बोलिरहेको हुन्छ। अर्थात् सालिकको अस्तित्वले सही प्रमाण पेस गरिरहेको हुन्छ। यस अर्थमा सालिकहरू झुट बोल्दैनन्, बोल्न जान्दैनन्। कदाचित् झुट बोल्न चाहे पनि बोल्न सक्तैनन्। किनकि आफू जे छ त्योबाहेक अर्को रूपमा प्रस्तुत हुने अधिकार सालिकमा निहित हुन्न। यथास्थितिको रूपमा रहनुको अलावा अर्को विकल्प नै छैन सालिकमा। त्यही रूप नै सालिकको चारित्रिक गुण हो।
सालिकको अवस्थितिको अर्को पनि अर्थ छ। सांस्कृतिक रूपले सालिक भनेको कलाकारद्वारा सिर्जित कलाकृति पनि हो। त्यसमा कलाकारको पसिना बगेको हुन्छ, मेहनतले सिर्जिएको हुन्छ। मुख्य कुरो, सालिकको निर्माण गर्दा कलाकारको सिपले सबैभन्दा बढी भूमिका निर्वाह गरेको हुन्छ। यस दृष्टिकोणले कुनै पनि कला राष्ट्रको सम्पत्ति हो र यस्तो कलाको जगेर्ना गरिनुपर्छ।
सत्य हो, सालिकहरू मौन छन्, बोली प्रस्फुटन गर्न सक्ने तिनको शक्ति छैन, सामथ्र्य छैन। तर, नबोल्दैमा त्यसको अर्थ यो हुँदैन कि बोल्न नसक्नेहरू कमजोर हुन्छन्। कदापि होइन, जीवित मान्छेको झैं प्राण नभए पनि निस्प्राण सालिकहरूले आफ्नो अस्तित्व जाहेर गरिराखेका हुन्छन्, मौनतामै स्वयं अभिव्यक्त भइराखेका हुन्छन्। मनन गर ! सालिकको सम्मान गर !
प्रकाशित: २७ असार २०८३ ०६:१९ शनिबार