कला/साहित्य

अत्यधिक धूम्रपानले समस्या निम्त्याएपछि गायक अनिल सिंह भन्छन्- अब सधैंका लागि चुरोट छाड्छु

गायक अनिल सिंहले अत्यधिक धूम्रपानका कारण आफ्नो स्वास्थ्यमा गम्भीर समस्या देखिएको र चिकित्सकले खुट्टा काट्नुपर्ने बताएको खुलासा गरेका छन्।

साङ्गीतिक कार्यक्रमका लागि हाल अस्ट्रेलियामा रहेका उनले मङ्गलबार संजालमा एक भिडियो राख्दै आफ्नो स्वास्थ्य अवस्थाबारे बताएका हुन्।

भिडियोमा उनले अस्ट्रेलिया जानुअघि नै आफू सानो उपचारका क्रममा रहेको बताएका छन्। खुट्टामा समस्या देखिएपछि चिकित्सककहाँ पुग्दा शरीरको पूरै जाँच गरिएको र त्यसपछि नै अत्यधिक धूम्रपानले निम्त्याएको जटिलताबारे थाहा भएको उनले उल्लेख गरे।

विगतमा आफू ‘चेन स्मोकर’ रहेको स्वीकार गर्दै सिंहले अत्यधिक चुरोट सेवनकै कारण आजको अवस्था आएको बताए। ‘म अस्ट्रेलिया आउनुअघि सानो उपचारमा थिएँ। खुट्टामा समस्या भएर डाक्टरकहाँ गएँ, त्यहाँ शरीरको पूरै जाँच भयो,’ उनले भनेका छन्, ‘त्यसपछि मलाई थाहा भयो कि मैले धेरै प्रयोग गरेको चिज धूम्रपान रहेछ। म आफैँमा एउटा चेन स्मोकर थिएँ, धेरैभन्दा धेरै चुरोट खान्थेँ।’

चिकित्सकले चुरोट छाड्न सुझाव दिएपछि आफू निकै आत्तिएको उनले बताए। नेपालमै बसेर लामो समयदेखिको लत छाड्न सम्भव नलागिरहेका बेला अस्ट्रेलियाको कार्यक्रम तय भएपछि गत बिहीबार नै उता लागेको उनले सुनाए।

अस्ट्रेलियामा कार्यक्रम प्रस्तुत गर्दा दर्शकबाट भरपूर माया पाएको उल्लेख गर्दै उनले जीवनको अनिश्चितता महसुस गरेको बताए। ‘नेपालमा बसेर त्यो सम्भव लागेन, त्यही बेला अस्ट्रेलिया कार्यक्रमको कुरा आयो अनि बिहीबार नै भागेर यहाँ आइपुगेँ,’ सिंहले भने, ‘जीवन पूर्वानुमान लगाउन नसकिने कुरा रहेछ, जतिबेला जे पनि हुन सक्छ।’

पहिले दिनमा दुई-तीन बट्टा चुरोट पिउने गरेका उनी अहिले दिनको एक-दुई खिल्लीमा सीमित भएको बताउँछन्। तर, लत बिस्तारै कम गर्दै लगे पनि त्यति मात्राले समेत स्वास्थ्यमा असर गरिरहेको उनले स्वीकार गरेका छन्।

विगतमा स्वास्थ्यप्रति बेवास्ता गरेको स्वीकार्दै सिंहले हाल पनि नियमित औषधि सेवन गरिरहेको जानकारी दिए। उनले उपचारमा संलग्न चिकित्सक डा. दीपेश शाक्यप्रति आभार व्यक्त गरेका छन्।

जीवनको कुनै पनि पल गुमाउन नचाहेको बताउँदै उनले सबैलाई धूम्रपान छाड्न आग्रहसमेत गरे। अस्ट्रेलिया यात्रामा सँगै रहेका कलाकार प्रकाश सपूत र रचना रिमालले आफ्नो निकै हेरचाह गरेको भन्दै उनले दुवै जनाप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

सिंहका अनुसार उनको अर्को साङ्गीतिक कार्यक्रम एडिलेडमा हुँदैछ। एडिलेडको कार्यक्रममा पुग्दासम्म सधैँका लागि धूम्रपान छाड्ने प्रण गरेर जाने उनले वाचा गरेका छन्।

भविष्य अनिश्चित रहे पनि जीवन रहुन्जेल गीत-सङ्गीतबाटै दर्शक-स्रोतासँग जोडिरहने अठोट उनले व्यक्त गरेका छन्। ‘भोलिका दिनमा यी कुरा फेरि यसरी पोख्न पाउँछु कि पाउँदिनँ, थाहा छैन। तर जति बाँच्नेछु, गीत गाइरहनेछु, आफ्ना कुरा शेयर गरिरहनेछु र सङ्गीतले जोडिरहनेछु,’ उनले भनेका छन्, ‘मेरो लागि प्रार्थना गरिरहनुहोस्।’

प्रकाशित: १ मंसिर २०८३ १५:४४ मंगलबार