ऊ शय्यामा पल्टियो। सिरक ओढ्यो र उसको छुट्टै संसारमा डुबुल्की मार्यो। "त्यत्रो काम बाँकी छ। कहिले गर्नु समयमा नै सकिए नयाँ काम सुरु गर्न पाइन्थ्यो।"
ऊ गम्भीर भएर सोच्दै थियो। उसले अचानक मोबाइल लियो।
"साने भोलि बिहान ५ बजे तयार भएर बस् है। त्यो रामबहादुरको काम सक्नुपर्छ भोलि।" उसले उत्साहपूर्वक सानेलाई फोन गर्यो।
ऊ छुट्टै संसारमा डुबुल्की मार्दा मार्दै निदायो। बिहानै ऊ झसङ्ग झस्कियो। उसको फोनमा रिङ टोन बज्यो। सानेले फोन गरेको रहेछ। उसले झिजो मान्दै फोन उठायो।
उसले भन्यो, " बिरामी छु भोलि गरौँला काम।"
"हुन्छ ",उताबाट सङ्क्षिप्त उत्तर आयो।
फोन राखिदियो र फोन सिरानीमुनि राखी नयाँनयाँ सपना देख्यो। सपनीमा ऊ आलस्यपुरको भ्रमण गर्दै थियो, विपनामा आलस्य।
प्रकाशित: ३ असार २०८३ ०९:१८ बुधबार



