कला/साहित्य

चार पुस्ताका कथामाथि विमर्श

रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा कथा यात्रा समूहले आख्यान मञ्जिरा शीर्षकमा वरिष्ठ कथाकार रमेश विकलका चार पुस्ताको कथामाथि विमर्श गरेको छ।

रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा कथा यात्रा समूहका सदस्यहरूले विभिन्न विषयमा समीक्षात्मक प्रस्तुती राखेका थिए।

रमेश विकलका कथाकारितामाथि “नयाँ सडककको गीतमा गुञ्जिएको मानवतावादी चिन्तन” शीर्षकमा पवित्रा अधिकारीले एवम् “भ्वाइलेन र भाउजू” शीर्षकमा विश्‍व कुइकेलले प्रस्तुति राखेका थिए।

यस्तै रमेश विकलका छोरा एवम् गोरखापत्र संस्थानका पूर्व अध्यक्ष विजय चालिसेमाथि प्रमोद प्याकुरेलले र अर्का छोरा महेन्द्र चालिसेमाथि “अमूर्तताको अस्तित्वमा महेन्द्र चालिसे” शीर्षकमा दीपक लोहनीले प्रस्तुति राखेका थिए।

यस्तै नातिपुस्ते कथाकार आलोक चालिसेमाथि हरिश कल्पित एवम् विकलकी पनातिनी आयुषा चालिसेको कथाकारितामाथि डा. हिमलाल श्रेष्ठ र कुमार काफ्लेले प्रस्तुति राखेका थिए।

कथा साहित्यमाथिको सिर्जनात्मक कदमको रूपमा यस कार्यले कथा सिद्धान्त र विकलको साहित्यिक विरासतको मात्र चर्चा नगरी पुस्तान्तरणसँगै कथ्य सोच्ने शैलीमा समेत कसरी परिवर्तन आएको छ भन्ने विषयमा समेत चर्चा गर्‍यो।

सात कथाकारले तयार गरेको समीक्षात्मक पुस्तिका हस्तान्तरणको क्रममा कथा यात्रा समूह र प्रतिष्ठानका वीच आख्यान मञ्जिरा कार्यक्रमलाई निरन्तरता दिने सहमति समेत भएको प्रतिष्ठानका सचिव आलोक चालिसेले बताएका छन्।

प्रकाशित: १ चैत्र २०८२ ११:०७ आइतबार