पाेखरामा उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’ काे विमर्श भएको छ। नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा विमर्श कार्यक्रम भएको हो।
संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले शब्दमार्फत उपस्थितजनकाे स्वागत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तीर्थ श्रेष्ठ रहेका थिए। कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छे प्रयत्न गर्न स्वतन्त्र भएको तर प्राप्ति उसको वशमा नभएको बताए। उपन्यासकारको अध्ययन, खोजी र लेखनले उपन्यासको वैशिष्ट्य झल्काएको बताउँदै उनले नेपालीले आफ्नै इतिहास आफैँले लेखेर पढ्न नपाएकामा दुःख प्रकट गरे।
नेपाल खस, नेवा, मैथिल र मुन्धुम सभ्यताको समष्टि भएको उल्लेख गर्दै श्रेष्ठले यी सभ्यताको उत्पत्ति र विकासबारे लेखिएको हाम्रो इतिहास अधुरो र कतिपय सन्दर्भमा काल्पनिक भएको सुनाए। उनले अर्काले लेखिदिएको अनुवाद गरेर आफ्नो इतिहास पढ्नुपर्ने दयनीय अवस्थामा हामी रहेकोमा चिन्ता व्यक्त गर्दै राज्यले इतिहासको गहिरो अनुसन्धान गर्नतर्फ समयमै ध्यान दिनुपर्नेमा जोड दिए।
जुन सभ्यताको अध्ययन गर्नु छ, त्यही सभ्यतामै हुर्केको अनुसन्धाता भयो भने इतिहासको खास तथ्य भेट्न सकिनेतर्फ उनले सङ्केत गरे। पैकेलो उपन्यास तथ्यको बाटो सत्यको खोजीतर्फ अग्रसर रहेको आफूले मनन गरेको भन्दै उपन्यासकारलाई अझ जिम्मेवारपूर्वक खोजमा आधारित कलम चलाउन शुभकामनासमेत दिएका थिए।
उपन्यासको समीक्षा प्रस्तुत गर्दै समालोचक डा. भूमिराज बस्ताकोटीले उपन्यास दुल्लुमा प्रचलित लोकगथा ‘बालाराजा काशीरामको भारत’ मा आधारित रहेको बताए।
मूल विषय गाथामा आधारित भए पनि प्रेम, रीतिरिवाज, किंवदन्ती, युद्धकौशल जस्ता विषय थप्दै सुन्दर आख्यानीकरणसहित उपन्यास बुनिएको उनले उल्लेख गरे।
सांस्कृतिक मूल एवम् जरा खोज्ने उद्देश्यले उपन्यास प्रेरित रहेको बताउँदै आख्यानीकरणको सिप एवम् कलात्मक मूल्यका हिसाबले उपन्यास सुन्दर बनेको बताए। उपन्यासमा उखान र उपमाको विशेष प्रयोग रहेको पनि उनले बताए।
यथार्थवादी शैलीमा लेखिएको भए पनि पूर्वाभास, चेतनप्रवाह जस्ता शैलीले उपन्यासलाई कलात्मक बनाएको भनी कलात्मक सिपको प्रशंसा गरे। युद्धकेन्द्रित विषयभित्र पनि मानवता, प्रेम, करुणा र शान्तिलाई महत्त्व दिने गरी प्रस्तुत हुन सक्नु उपन्यासकारको लेखकीय सामर्थ्यको प्रशंसा गरे।
उपन्यासका केही विषयमा आफू सन्तुष्ट हुन नसकेको बस्ताकोटीले बताए। इतिहासले नखोजेको वा किनारीकृत रहेको विषय उठाएर सीमान्तीय विषयकेन्द्रित देखिँदा देखिँदै पनि राजामहाराजाकै विषय उजागर गर्दा उपन्यासमा विरोधाभास देखिएको उनले बताए।
ऐतिहासिक विषयमा ऐतिहासिक तथ्य नभेटिनु उपन्यासको सीमा रहेको बताउँदै उनले भाषा प्रयोगमा समेत उपन्यासकारहरू सचेत हुनुपर्नेमा जोड दिए।
संस्कृतिको निरन्तरतालाई मूल केन्द्रमा उल्लेख गरेको उपन्यासकैअनुसार हामी जाँदा विकृति पनि सँगै बोकेर सभ्यतातर्फ पुग्न सकिँदैन कि भन्नेतर्फ पनि लेखक सचेत हुन सकेको भए उपन्यास अझ सुन्दर हुने भन्दै सुझाव प्रस्तुत समेत गरे।
कार्यक्रममा बोल्दै लेखक रिजालले कर्णाली १० जिल्लाको भूगोल मात्रै नभएको र यो सिङ्गो सभ्यताको अर्को नाम भएको बताए। यति महान् सभ्यताको अध्ययनअनुसन्धान हुन नसकेको र लेखिएको इतिहास पनि अपुरो एवम् तथ्यहीन रहेको कुराले आफूलाई यो उपन्यास लेख्न प्रेरित गरेको उनले जिकिर गरे।
खस सभ्यता त्रिशूली हुँदै पूर्व कोशीपारिसम्मै पुगेको हुँदा यसको तथ्य खोजिनुपर्नेमा उनले जोड दिए। पहिलो उपन्यास ‘हटारु’ लेखनको सन्दर्भ कोट्याउँदै उनले पहिलो उपन्यास माटोको मायाले प्रेरित रहे पनि यो उपन्यास नेपालको ऐतिहासिकताको अनुसन्धानलाई थप बल पुगोस् भनी गाथाको जगमा इतिहासको तथ्य जोडेर उपन्यास बुनिएको स्पष्ट पारे।
माटो, राज्य, संस्कृति, सभ्यता र नलेखेको इतिहासप्रतिको मोह नै पैकेलो उपन्यासको लेखनगर्भ रहेको उनले बताए। यो कर्णालीको मात्रै नभई समग्र नेपालको कथा हो भनी उल्लेख गरे।
मस्टालाई कुलदेवता मान्ने कर्णालीको आस्थामाथि कर्णालीको इतिहास लेख्ने कतिपय स्वघोषित इतिहासकारले प्रेतदेवता भनेर गलत तथ्य लेखिएकाले कर्णालीको इतिहासको गहिरो अनुसन्धान गरी पुनर्लेखन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
संस्थाका महासचिव सञ्जीव पौडेलले सञ्चालन गरेकाे कार्यक्रममा नेपाली लेखक सङ्घ, गण्डकीका अध्यक्ष दीपक समीपको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष समीपले लेखकको लेखनको निरन्तरताको कामना गर्दै उपन्यासको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले खोजमूलक लेखन निकै कठिन र संवेदनशील रहेकाले गम्भीरतापूर्वक कलम चलाउनुपर्नेमा जोड दिए।
यस प्रकारको लेखनमा लेखकहरू चुक्ने गरेको बताउँदै उनले ऐतिहासिक लेखनको आवश्यकता नेपाल जस्तो बहुलतायुक्त देशमा सधैँ रहिरहने विचार व्यक्त गरे।
प्रकाशित: १७ जेष्ठ २०८३ ०९:४९ आइतबार