कला/साहित्य

‘लघुकथा अभिभावक ’केसीकाे ‘पाहुर’ लघुकथासंग्रहकाे विमर्श

सिर्जना अभियान समाज, भक्तपुरले ‘लघुकथा अभिभावक ’ लता केसीकाे ‘पाहुर’ लघुकथासंग्रहकाे विमर्श गरेकाे छ।

समाजका अध्यक्ष धनमान श्रेष्ठको सभाध्यक्ष र लघुकथाविद् डा. पुष्करराज भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा समाजका सचिव ध्रुव मधिकर्मीले उपस्थित सबैलाई शब्दमार्फत स्वागत गरेका थिए।

कार्यक्रममा समालाेचक इन्दिरा चापागाई र डा. हिमलाल श्रेष्ठले कृतिको शल्यक्रिया गरेका थिए। केसीको व्यक्तिगत र साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्दै समीक्षकद्वयले साहित्य,लघुकथा र लघुकथाका अवधारणा एवं मान्यतामाथि आफ्नो धारणा व्यक्त गरेका थिए।

पाहुरका ६२ लघुकथामा  सकारात्मक  एवं समाधानमूलक  सन्देश, व्यङ्ग्यचेत, पर्याचेत, नारी सशक्तिकरण, राजनीतिक, सामाजिक, शिक्षा, स्वास्थ्य र प्रशासनिक  क्षेत्रका विसङ्गति, मानवतावादी चिन्तन, समसामयिक विषयमा लघुकथा रचिएको, बिम्व प्रतीक, स्वैरकल्पनाको अनुपात न्यून रहेको उनीहरूले बताए।

साथै लघुकथाको शीर्षकमा सार्थकता खोज्न,  विज्ञान प्रविधि, आविष्कार, दुर्गम क्षेत्रका पीडा, यातायात , भोकमरी, तुइन कहर जस्ता विषयवस्तु समेटन, बिम्व प्रती, स्वैरकल्पनाको अनुपात बढाउन सुझाएका थिए।

कार्यक्रमका विशिष्ट अतिथि महेश प्रसाईले कार्यक्रममा उपस्थित हुन पाएकाेमा खुसी व्यक्त गर्दै शुभकामना मन्तव्य राखेका थिए।

प्रमुख अतिथि भट्टले समयको परिवर्तनअनुसार वर्तमान समयमा  लघुकथाको सिद्धान्त आवश्यकता भएको  र स्रष्टाले सिर्जना गर्दा लघुकथाको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँदै कृतिकार केसीले लघुकथाको उन्नयनका लागि पुर्याएको योगदानबारे विचार व्यक्त गरे।

पाहुर कृतिको प्रकाशक  हाम्रो लघुकथा केन्द्र भए पनि सिर्जना अभियान समाजबाट  कृतिको विमर्श  गर्न पाउँदा कृतिकार  केसीले खुसी व्यक्त गरेकी थिइन्। यस्ता कदमले साहित्यिक संस्थाबीच आपसी सम्बन्ध बलियो हुने धारणा व्यक्त गर्दै उनले आयोजक लगायत उपस्थित अतिथिहरू र समीक्षकद्वयलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। समीक्षकहरूबाट पाएकाे सुझाव अनुसरण गर्दै जाने पनि उनले जनाइन्।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष श्रेष्ठले महेश प्रसाईं, सीता पाण्डे जस्ता स्रष्टाहरूको उपस्थितिले कार्यक्रमको शोभा बढाएको र भक्तपुरस्थित आफ्नो संस्थाबाट हुने कार्यक्रममा सधैं सबै स्रष्टालाई  सम्मानजनक  स्वागत गर्ने बताउँदै धन्यवादसहित कार्यक्रमको समापन गरेका थिए।

विधागत गान हाम्रो लघुकथा गान बजाएर उद्घोषक सुदीप हाडाले  सञ्चालन गरेको उक्त कार्यक्रममा कृतिकार केसीलाई आयोजकको तर्फबाट सम्मान  तथा शुभकामनापत्र अर्पिएको थियो।

प्रकाशित: ३ फाल्गुन २०८२ ११:१४ आइतबार