विश्व कविता दिवसका अवसरमा पेरोल साहित्य प्रतिष्ठान नेपाल र झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा महाकाव्यकार रेणुका भट्टराई ‘मञ्जरी’ काे ‘जमुना’ महाकाव्यको परिचर्चा तथा झ्याउरे कविता वाचन भएकाे छ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा महाकवि प्राडा रमेशचन्द्र अधिकारीले पानसमा दीपप्रज्वलित गर्दे र व्यानर समेत पढेर उद्घाटन कार्यक्रमकाे उद्घाटन गरेका थिए। कार्यक्रमा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, सङ्गीतकार तथा गायक नरहरि प्रेमी र साहित्यकार पेशलकुमार लुइँटेल लगायत अतिथिकाे रूपमा सहभागी रहेका थिए।
राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रममा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको स्लोगाना समेत गाइएको थियो।
त्रिपुरेश्वरको बोगन भिल्ला काठमाडौँमा भएकाे कार्यक्रममा कवि क्रान्ति पराजुलीले शब्दरूपी पुष्प गुच्छाले सहभागीहरूलाई स्वागत गरेकी थिइन्।
कार्यक्रममा झ्याउरे छन्दमा लेखिएको ‘जमुना’ महाकाव्यबाट सिर्जना वाचन गरिएका थिए। सर्वप्रथम काभ्रेबाट कवि कालिका त्रिपाटी पन्तले ‘अचानक मेरो जन्म’ शीर्षकको कविता वाचेकी थिइन्।
कार्यक्रममा विशेष अतिथि महाकवि डा. शैलेन्दुप्रकाश नेपालले जमुना कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए। झ्याउरे छन्दमा लेखिएको नारीहस्ताक्षरको प्रथम कृति जमुना महाकाव्य नेपाली साहित्य भण्डार हुनु सुखद भएको बताउँदै भट्टराईलाई दिएको आशुकविको उपाधि सही भएको बताए। साथै जमुना महाकाव्य आत्मपरक पहिलो महाकाव्य बन्न पुगेको समेत उल्लेख गर्दैै महाकाव्यलाई सामाजिकीकरण समेत गरिएको ऐतिहासिक महाकाव्य भएको जानकारी गराए। मौलिक लोकलयमा यतिको महाकाव्य आउनु खुसीको भएकाे बताउँदै रचनाकारलाई शुभकामना दिए।
उक्त कार्यक्रममा जमुना महाकाव्यबाट साहित्यकार खगेन्द्र बत्सेलले पाल्पा वर्णन, साहित्यकार रुवि सत्याल र कवि तथा पत्रकार जयराम विडारीले दोहोरी झ्याउरे गीत गाएका थिए।
गीति भास्करले परिचित लोकगायक मच्छेश्वर सापकोटाले आफ्ना केही झ्याउरे भाकाका गीत सहित महाकाव्यबाट समेत वाचेका थिए। साथै काभ्रेकी हाम्री चेलीको सफलता हाम्रो भन्दै शुभकामना समेत दिए। साथै सङ्गीतकार तथा गायक नरहरि प्रेमीले अभियानको श्लोगाना र तामाङ सेलो सहित जमुनाकाे घाँसेगीत गाउँदा मञ्चकाे माहाेल तातेकाे थियो।
कार्यक्रममा अतिथि साहित्यकार पेशलकुमार लुइँटेलले अग्रज साहित्यकारले अनुजलाई साथसहयोग गर्नुपर्ने भन्दै अभियानमा रेणुका भट्टराई साथसहयोग नमिलेको बताउँदै उनले सञ्चालन गरेकाे झ्याउरे अभियान साराकाे लोकआवाज भएकाे बताए।अभियानमा सक्दाे सघाउनुपर्ने र कृति प्रकाशनपूर्व सल्लाहसुझाव दिनुपर्ने पनि उनले बताए। उनले जमुना महाकाव्यबाट ‘मञ्जरी’ खण्डकाव्यको रचना गर्व समेत वाचेका थिए।
कार्यक्रममा जमुना महाकाव्यबाट साहित्यकार कल्पना अधिकारी भट्टराईले ‘आँसुको सुहागरात’ कविता वाचन गर्दा सभाहल आँसुमा डुबेको थियो।
हाँसो र रोदनका बीच महाकाव्यको परिचर्चा भएको कार्यक्रममा प्रमुख अतिथि महाकाव्यकार कलियुगका वाल्मीकि भनेर चिनिने महाकवि रमेशचन्द्र अधिकारीले विश्व कविता दिवसका अवसरमा विश्व कवि तथा साहित्यकारको चर्चा गर्दै नेपाली साहित्यका धरोहर भानुभक्त, देवकोटा, सम, लेखनाथ सहित गुरुप्रसाद मैनालीको समेत सम्झना गर्दै जमुना महाकाव्य झ्याउरे छन्दमा लेख्नु र नारी हस्ताक्षरको प्रथम हुनु खुसीको हो भने।
जमुना/ रेणुका एकै भएको र आत्मपरक महाकाव्यमा जीवन संर्घष, मानवजीवनका आकृति र राष्ट्रिय घटना समेत समावेश गरी इतिहास, नेपाली लोकलय, लोकसंस्कृति परम्परा आदिको उल्लेखले यो कृति सफल भएको बताए। उनले जमुना महाकाव्य पठनीय, सरल र सरस समेत भएको बताए।
नेपालको प्रथम अंग्रेजी भाषाकी कवि लक्ष्मीदेवी राजभण्डारीको अध्यक्षता भएकाे कार्यक्रममा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता जमुना महाकाव्यका रचनाकार रेणुका भट्टराईले जमुना महाकाव्य मेरो जीवनको कहानी मात्र नभइ आम जीवनको प्रतिनिधि बताउँने प्रयासमात्र भएको जानकारी गराउँदै आफूले कुनै उपाधि, मानसम्मानका लागि अभियान र महाकाव्य लेखेको होइन भन्दै आफूखुसी हुन र बाँच्नका लागि मात्र साहित्य र पत्रकारिता क्षेत्रमा लागेको बताए।
उनले एकपटक सबैले झ्याउरे लेखौं र यसलाई विश्वमा पुर्याऔं भनी अनुरोध गर्दै सबैलाई धन्यवाद समेत दिएकी थिइन्। महाकाव्यकार अभियानकी अभियन्ता पत्रकार तथा पेरोल साहित्य प्रतिष्ठान नेपालकी अध्यक्ष समेत हुन्।
कार्यक्रमलाई सभाध्यक्षको मन्तव्य प्रस्तुत गर्दै साहित्यकार लक्ष्मीदेवी राजभण्डारीले जमुनाबाट केही कविता वाचन गरेकी थिइन्।
हामी नारीहरूलाई विभिन्न परिस्थितिले असज बनाउँदै लान्छन् तर हामीले सामना गर्दै निरन्तर अगाडि बढ्नुपर्दछ। यस धर्तीमा केही काम गरेरै जानुपर्दछ। त्यसैले हामीले सत्कर्म गरौँ भन्दै सभाविसर्जन गरेकी थिइन्।
कवि गङ्गा खतिवडाले सञ्चालन गरेकाे उक्त कार्यक्रमा अमर अधिकारी, सन्जु श्रृया राजभण्डारी, लेखप्रसाद पन्त, कमला शाक्य ‘सृष्टि’, प्रणव राजभण्डारी,आल्फिफोहेन फाक्लुप्पा र आयुष लोहला आदिको उपस्थिति थियो।
प्रकाशित: ८ चैत्र २०८२ १०:४६ आइतबार
-600x400.jpg)


