लघुकथाकार महेन्द्र न्याैपानेकाे ‘चन्द्रविनोद’ लघुकथासंग्रहको परिचर्चा भएको छ।
लेखनाथ पुस्तकालय चन्द्रगढी, भद्रपुरकाे आयाेजनामा पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता र अग्रज साहित्यकार एवंम् लघुकथाकार होम सुवेदीको प्रमुख आतिथ्यमा लघुकथासंग्रहकाे परिचर्चा भएकाे हाे।
लेखनाथ पुस्तकालयका सचिव हरिकिशोर आचार्यले कार्यक्रममा उपस्थित जनप्रतिनिधि, साहित्यकार, पत्रकार, लघुकथाप्रेमी जस्ता सहभागी सबैलाई स्वागत गरेका थिए।
कार्यक्रममा प्रा. चूणामणि वशिष्ठ र प्रा. तारा विविधले ‘चन्द्रविनोद’ कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। टिप्पणीकारहरूले चन्द्रविनोदका ६१ लघुकथाकाे चर्चा गर्दै आङ्गिक तत्त्वहरू आत्मसात् गरेका सबै लघुकथा उत्कृष्ट भएको बताए।
लघुकथाकाे उठान र समापन शीर्षकको लघकथालाई महत्त्वका साथ चर्चा गर्दै लघुकथाको अवधारणामाथि प्रकाश पारेका थिए। आख्यानको क्षेत्रमा लघुकथालाई कमिला र कथालाई हात्तीको रूपमा हेर्न सकिने बताए।
कार्यक्रममा विशिष्ट अतिथिहरू भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्की लगायत साहित्यकार, चिन्तामणि दाहाल, समाजसेवी, साहित्यकार चन्द्र भण्डारी, कृतिकारका गुरु छत्रप्रसाद अधिकारी, बालसखा महेन्द्र कोइराला आदिले विविध क्षेत्रको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राखेका थिए।
वक्ताहरूले कृतिकारको साहित्यिक यात्राको प्रगति र कृतिको सफलताको कामना व्यक्त गरेका थिए।
कार्यक्रममा १२ कक्षा विद्यार्थी युनिशा कोइराला र पुस्तकालयका पूर्व अध्यक्ष एवं कवि हरिप्रसाद नेउपानेले कृतिबाट लघुकथा वाचेका थिए।
लघुकथाकार न्याैपानेले लघुकथासंग्रह चन्द्रविनोद प्रकाशित गरेको अवस्था, परिवेश र अनुभवबारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि सुवेदीले हाम्रो लघुकथा केन्द्रबाट प्रकाशन भएको चन्द्रविनोदको प्रकाशक संस्थामा आफू पनि आबद्ध रहेको बताए। उनले आफ्नो मन्तव्यमा लघुकथालाई मट्याङ्ग्रासँग तुलना गर्दै लघुकथाबारे प्रष्ट पारेका थिए।
लघुकथा गान बजाएर थालिएको कार्यक्रम आयोजक संस्थाका सहसचिव एवं लघुकथाकार गोविन्द कोइरालाले सञ्चालन गरेका थिए।
कार्यक्रममा आयोजकले उपस्थित अतिथिगणलाई स्रष्टाको चित्र र कृतिको आवरण चित्र अङ्कित कप मायाको चिनोको रूपमा प्रदान गरेको थियो भने कृतिकारलाई कदरपत्रले सम्मान गरेको थियो। कार्यक्रमको अन्त्यमा सभाध्यक्ष घिमिरेले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गरेका थिए।
प्रकाशित: १६ कार्तिक २०८२ ०९:४७ आइतबार