सामाजिक सञ्जालमा बालकलाकार तथा गायक अशोक दर्जीको आर्थिक अवस्थाबारे चर्चा भइरहेका बेला निर्देशक सन्तोष सेनले उनलाई काममा केन्द्रित हुन सुझाव दिएका छन्।
दर्जीले पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफ्नो कमजोर आर्थिक अवस्थाबारे बताउँदै आएका छन्। आइतबार उनले आफूसँग पैसा नरहेको र चाडपर्व नजिकिँदै गर्दा आर्थिक रूपमा कठिनाइ भइरहेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।
त्यसै विषयलाई लिएर सेनले अशोकलाई आफ्नो आर्थिक अवस्थाबारे धेरै चर्चा नगरी कला र सिर्जनामा ध्यान दिन सुझाव दिएका हुन्। उनले अरूका कुरा धेरै नसोच्न पनि दर्जीलाई आग्रह गरेका छन्।
सेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिमीलाई कसैले तुच्छ व्यवहार गर्नु, विष ओकल्नु र सडकको महसुस गराउनु राम्रो कुरा होइन। तिमी कला भएको मान्छे हौ, त्यो कुरा कसैले नकार्न सक्दैन।’
उनले अशोकले आफूलाई सधैँ असहाय र उपेक्षित व्यक्तिका रूपमा प्रस्तुत गर्न नहुने धारणा राखेका छन्। ‘मलाई कसैले दिएन, सबैले मलाई प्रयोग मात्रै गरे, मेरो कोही छैन, अबला छु’ भन्ने किसिमको भाव प्रस्तुत गर्दा शुभचिन्तकबाट पनि त्यस्तै प्रतिक्रिया आउने सेनको भनाइ छ।
अशोकलाई आफू केही नभएको वा निरीह व्यक्तिजस्तो व्यवहार नगर्न आग्रह गर्दै सेनले पुराना गुनासामा अल्झिरहनुभन्दा आगामी काममा ध्यान दिन सुझाव दिएका छन्।
‘अब यहाँसम्म आइपुगेका छौ भने पुराना गुनासा र कसले के गर्यो भन्ने कुरामै अल्झिरहने होइन। अब ठुलो भइसकेका छौ। यहाँ तिमी जस्ता हजारौँ छन्, सबैले आफ्नो समयअनुकूल चल्नै पर्छ,’ सेनले लेखेका छन्।
उनले अशोकलाई राम्रो काम गर्न र सिर्जनामा ध्यान दिन आग्रह गर्दै भनेका छन्, ‘तिमीसँग कला छ र त्यो कला अमूल्य छ। त्यसलाई सही ठाउँमा प्रयोग गर।’
प्रकाशित: ४ आश्विन २०८३ १८:३९ आइतबार