कला/साहित्य

‘राँझना’ को एआई क्लाइमेक्सले फिल्मको आत्मा नै मरेको भन्दै भड्किए धनुष

दक्षिण भारतीय सुपरस्टार धनुषले २०१३ मा रिलिज भएको फिल्म ‘राँझना’ मार्फत बलिउडमा शानदार प्रवेश गरेका थिए। अभिनेत्री सोनम कपुरसँग उनको जोडी निकै रुचाइएको थियो, राँझना’ कल्ट फिल्म बनेको थियो। 

तर हाल यो फिल्म पुन: रिलिजको क्रममा एआईद्वारा परिवर्तित क्लाइमेक्सका कारण विवादमा छ। अभिनेता धनुषले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएर असन्तुष्टि व्यक्त गरेका छन्। 

फिल्ममा धनुषसँगै सोनम कपुर मुख्य भूमिकामा थिए। आनन्द एल राय निर्देशित यो फिल्ममा अभय देओल, स्वरा भास्कर र जीशान अय्युब पनि देखिएका थिए। हालै पुन: रिलिज गरिएको यो फिल्मको क्लाइमेक्स एआईमार्फत परिवर्तन गरिएको छ, जसले निर्देशक आनन्द एल राय र धनुषलाई निराश बनाएको छ। 

धनुषले आफ्नो एक्समा एआईको प्रयोगलाई फिल्मको विरासतका लागि खतरा भन्दै लेखेका छन्, ‘एआईद्वारा परिवर्तन गरिएको क्लाइमेक्सको साथ “राँझना” को पुन: रिलीजले मलाई पूर्ण रूपमा निराश बनाएको छ। यो नयाँ क्लाइमेक्सले फिल्मको आत्मा खोसेको छ। मेरो स्पष्ट आपत्तिको बाबजुद सम्बन्धित पक्षहरूले यो गरे।’ 

उनले अगाडि लेखेका छन्, ‘यो त्यो फिल्म होइन जुन मैले १२ वर्ष पहिले गर्न सहमत भएको थिएँ। फिल्म वा सामग्री परिवर्तन गर्न एआईको प्रयोग कला र कलाकार दुवैको लागि ठूलो चिन्ताको विषय हो। यो कथा कथनको कला र सिनेमाको विरासतको लागि ठूलो खतरा हो। मलाई आशा छ कि भविष्यमा यस्ता कार्यहरू रोक्न कडा नियमहरू बनाइनेछ।’ यसअघि फिल्मका निर्देशक आनन्द एल रायले पनि फिल्मको क्लाइमेक्स परिवर्तन भएकोमा असन्तुष्टि व्यक्त गर्दै लामो पोस्ट सेयर गरेका थिए। 

हाल ‘राँझना’ थिएटरमा पुन: रिलिज भइरहेको छ। दर्शकहरू एआईद्वारा परिवर्तित क्लाइमेक्स देखेर खुसी छन्। तर यो निर्माताहरूका लागि चिन्ताको विषय बनेको छ। भारु ३६ करोड बजेटमा बनेको यो फिल्मले घरेलु बक्स अफिसमा भारु ६० करोडभन्दा बढी कमायो। विश्वव्यापी कमाइ करिब भारु ९० करोड थियो। एजेन्सी

प्रकाशित: १९ श्रावण २०८२ ०९:४५ सोमबार