तमिलनाडुको राजनीतिमा सी. जो सेफ विजयपछि अब अर्का सुपरस्टारको प्रवेश हुने अड्कलबाजी सुरु भएको छ। ‘कोलावेरी डी’ गीतबाट चर्चित अभिनेता धनुषको नाम पनि राजनीतिक वृत्तमा चर्चामा छ। यद्यपि, यस विषयमा अहिलेसम्म औपचारिक रूपमा केही घोषणा गरिएको छैन। यसैबीच, तमिलगा वेत्री कझगमले धनुषलाई स्वागत गर्ने बताएको छ भने एआईएडीएमकेले उनलाई पार्टीमा उच्च पद दिने प्रस्तावसमेत गरेको समाचार सार्वजनिक छ।
वास्तवमा, धनुष राजनीतिमा प्रवेश गर्ने सम्भावनाबारे लामो समयदेखि चर्चा हुँदै आएको छ। तर, अभिनेता वा उनको टोलीले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।
जुलाईमा एक कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा धनुषले फ्यान क्लबहरूलाई फिल्म मात्र नभई सामाजिक कल्याणकारी कार्यहरूमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए, त्यसपछि उनको राजनीतिमा प्रवेशको चर्चा सुरु भएको हो।
हालै एउटा बैठक आयोजना गरिएको थियो, जहाँ धनुषको फ्यान एसोसिएसनको नाम परिवर्तन गरेर ‘धनुष नरपानी इयक्कम’ राखिएको थियो। यसको अर्थ धनुष कल्याणकारी अभियान हो। कोयम्बटूरमा आयोजित उक्त कार्यक्रममा करिब ३ हजार मानिस सहभागी भएका थिए।
अभिनयका अतिरिक्त धनुष फिल्म निर्माणमा पनि संलग्न छन्। उनले सन् २०१० मा ‘वन्डरबार फिल्म्स’ नामक कम्पनी स्थापना गरेका थिए। उक्त कम्पनीले हालसम्म २० भन्दा बढी फिल्म निर्माण गरिसकेको बताइन्छ।
यसका अतिरिक्त धनुषको ‘धनुष ग्लोबल भेन्चर्स’ नामक अर्को कम्पनी पनि रहेको बताइएको छ।
विजयको पार्टी तमिलगा वेत्री कझगमले आफ्नो पहिलो चुनावमै उल्लेखनीय सफलता हासिल गर्दै १०८ सिट जितेको थियो। साथै, कांग्रेसलगायत अन्य दलको समर्थनमा पार्टीले पहिलोपटकमै सरकार गठन गर्न सफल भएको थियो।
धनुष राजनीतिमा प्रवेश गर्छन् कि गर्दैनन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन।
मिडिया रिपोर्टअनुसार, एआईएडीएमकेले धनुषलाई पार्टीमा स्वागत गर्ने बताएको छ। तर, त्यसका लागि उनले एडप्पाडी के.पलानीस्वामीलाई आफ्नो नेता स्वीकार गर्नुपर्ने सर्त राखिएको छ।
धनुषले नयाँ राजनीतिक पार्टी दर्ता गराएको चर्चा पनि चलेको थियो। तर, डेक्कन हेराल्डको एउटा रिपोर्टमा अभिनेताका निकट स्रोतले यससम्बन्धी खबरलाई अस्वीकार गरेका थिए।
प्रकाशित: ७ कार्तिक २०८३ १५:०८ शनिबार