‘धारापानी सुकिगयो पड्पानी चुँदैछ
झाउझाउ प्यारी म क्या भनूँ हृदय रुँदैछ’
ग्रीष्म ऋतुमा निकै गर्मी बढिरहेको छ टेक्सासमा। मध्यजेठ, यहाँको तापक्रम ४२ डिग्री छ। नेपालको धनगढी, महेन्द्रनगर, भैरहवालगायतका तराईका जिल्लामा जस्तो। माथिको देउडागीतले पनि सुक्खा यामको चर्चा गरेको छ। धारापानी सुके तापनि पड्पानी (भिरको चिसो भाग) बाट थोपा थोपा भएर चुहिरहेछ। यस्तो गर्मी मौसममा मलाई छोडेर न जाऊ प्यारी हृदय रुन्छ भनी व्याख्या गरेको छ गीतले।
यो मेरो चारौं पटकको भ्रमण हो अमेरिकाको। सन् २०१८, २०२३, २०२५ र २०२६ मा साहित्य संगीत कलाका पारखीसाथीहरूले निम्तो दिएर यो भूमिमा आएर देउडा गीत फैलाएको हुँ।
सन् २०१८ मा ग्लोबल फिल्मी सोसाइटीले बोलाएको थियो, कोलोराडोको डेनभर सिटीमा। सन् २०२३ मा टेक्सासस्थित सुदूरपश्चिम समाजका अध्यक्ष गगन केसी, गुञ्जन भण्डारीले बोलाउनुभयो। गुन बिर्सेको छैन। टेक्सासस्थित पशुपतिनाथ, बुद्ध मन्दिरमा गौरापर्वका बेला भव्य कार्यक्रम सम्पन्न भएको थियो। सुदूरपश्चिमका असंख्यक नरनारीले मन्दिर प्रांगणमा गौराका फाग, मागल गाएर सोचक बनाएका थिए। प्रमुख अतिथिका रूपमा देउडागीतहरू गाएको थिएँ। उपस्थित सबैजना खुसी भए।
सन् २०२५ अर्थात् गत साल न्युयोर्कस्थित सुदूरपश्चिम समाजका अध्यक्ष दानसिंह विष्ट, वरिष्ठ साहित्यकार किसनसिंह धामी, संस्कृतिकर्मी रैभान महरालगायतका साथीहरूले हार्दिक निम्तो दिएर कार्यक्रम रोचक बनाएका थिए। त्यो मेरो बेलायतबाटको भ्रमण थियो। त्यसबेलाको भ्रमण निकै उपलब्धिपूर्ण र विशेष रहन गयो। अमेरिकी संसद् भवन ह्वाइटहाउस, मेरिल्यान्ड, बाल्टिमोरस्थित धेरै दर्शनीय स्थलहरूमा पुगेर देउडागीतहरू गाउँदै हिँडेका थिए। यो राज्यको संसद् भवनभित्र पुगेर देउडागीत पस्कँदा उपस्थित केही अमेरिकी सांसद र सुरक्षाकर्मी खुसी भएर ताली बजाएका थिए।
भाइ तीर्थराज पाण्डेले मेरो व्यक्तित्वबारे मेरिल्यान्डका सांसद र केही कर्मचारीसँग परिचय गराउनुभयो। उनीहरू सबैलाई देउडागीतका केही सजिला भाका आफूसँगै गाउन लगाएँ। यही क्रम उइसक्यान्सिन राज्यको संसद् भवनभित्र पनि दोहोरियो। त्यसबेला अछामका साथी लक्ष्मण कुवर, डोटीका साथी गोविन्द फुलारा र राजु ओझाले खेल खेल्दा घुमन आएका जापान, कोरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, क्यानडा, स्विजरल्यान्ड, जर्मनलगायतका देशका पर्यटकले हाम्रो प्राचीन संस्कृति आआफ्नो क्यामेरामा कैद गरेका थिए।
‘नेपाल हनुमानढोका तस्बिर टास्या छन्
मन मेरो साउनकी रात दन्त हास्याका छन्’
संस्कृति एक व्यक्तिले मात्र फैलाएर फैलिने होइन तर अगुवा चाहिने रहेछ। २०३४ कात्तिक १४ गते रेडियो नेपालमा गीत गाएर बीजारोपण गरेको देउडागीत अहिले नेपालको खुला मञ्च, प्रज्ञा प्रतिष्ठान हुँदै अमेरिका, युरोप र एसियाली देशहरूमा फैलिरहेछ। सुरुका दिनमा समाजबाट तिरस्कृत भए पनि अहिले भने देउडागीत र गायक देशविदेशबाट पुरस्कृत भइराखेका छन्। जुन विषय अब व्यक्तिको रहेन, कालीकर्णालीका सम्पूर्ण गीत संगीत र संस्कृतिप्रेमीको साझा विषय बन्न पुग्यो। २०३५/३६ सालदेखि २०५४, २०५५, २०५६ साल हुँदै (बिचमा द्वन्द्वका कारण रोकियो) २०८१ सालसम्म सुदूरका ठुला ओहोदामा बसेका विशिष्ट व्यक्तिलाई देउडा खेलाएँ, खेलाउँदै आएँ। अब ती दिन इतिहास बने तर म इतिहास बनिसकेको छैन, देउडा फैलाउने अभियान निरन्तर चालु छ मेरा लागि। थाकेको छैन, थाक्न दिने छैन यो मेरो मन। २०३७/३८ सालतिर गीत गाएर समाज भाड्यो भन्थे। पहाड खण्डमा गायक भएकै कारण केटी नपाउँदा समयमा बिहे हुन सकेन।
सांगीतिक र सांस्कृतिक कार्यक्रममा त पंक्तिकारलाई सद्भावले विशेष मायागरी बोलाउछन्। अब त विशिष्ट साहित्यिक कार्यक्रममा पनि विशिष्ट अतिथिका रूपमा निम्ता दिने गरेका छन् प्रवासी प्रतिभाहरूले। जेठ ७–१० गते सम्म सञ्चालित अनेसासको नवौं कार्यक्रम कोलोराडोले पनि उदाहरणका रूपमा यही कुरा दिशा बोध गर्यो।
देउडा संस्कृति केवल गीत संगीत मात्र होइन, यो त साहित्यको काव्यिक धारा हो, खस भाषामा लेखिएको, बोलिएको र विस्तार गरिँदै आएको साहित्य पनि हो। गाउँदा गीत बन्छ, घुमेर नाँच्दा संस्कृति र लेखनीमा उतार्दा साहित्य बन्छ। कृपया यी भनाइलाई यो प्रवासी विद्वान् उपस्थित सभाले अनुमोदन गरोस् भनी प्रस्ताव राखेँ। सबै विज्ञजनले कलकल ध्वनिसाथ देउडागीत अब देउडा साहित्य पनि हो भन्दै अनुमोदन गरे।
भुटान, सिक्किम, दार्जिलिङ, भारतका अन्य पश्चिमी भागबाट आएका प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीले अझ बढी अभिरुचि राख्दै समर्थन जनाए। छिटै आफ्नो भूमिमा आउन र देउडागीतको बीजारोपण गर्न निम्तोसमेत दिए। पूर्व राष्ट्रसेवक नेपाली सेनाका पूर्वकर्णेल रामप्रसाद जोशी (डडेलधुरा), रेखा जोशी, तीर्थराज पाण्डे कवि प्रतीक रावल, हरिमाया, शकुन ज्ञवाली, सन्ध्या पहाडी विदेशी पाहुनालगायतले देउडागीतका गुरु भन्दै सभामा पंक्तिकारसँगै नाँचे। २२/२४ वर्षका युवादेखि ८४ वर्ष पार गरेका रेवतीरमण शर्मा, होमनाथ सुवेदीजस्ता व्यक्तित्वद्वारा अन्तराष्ट्रिय मञ्चमा मान्यता प्राप्त विधा हो देउडा लोक संस्कृति। यहाँ बोलिने भाषामा नै देउडा साहित्यबारे चर्चा गरेँ।
‘अम्रिका पानीको नाउलो जहाज पानी खान्या
धेक्याखी धिर्जमन् हुन्या न धेक्याकी रुन्या’
विश्वको शक्तिशाली मुलुक अमेरिकामा पचासवटा राज्यहरू छन्। प्रत्येक राज्यमा नेपालीहरू पौरखी पाखुरी चलाइरहेछन्। सजिलो छैन यहाँ जीवन व्यतीत गर्न। आफ्नो भाषाको सेवा गर्न, बचाइराख्न नेपालबाट कलाकार बोलाई कार्यक्रम तय गर्नु सामान्य कुरा होइन। म त मञ्चमा पुगेपछि गीत गाउँदै आएको छु। प्रवासी यी रुप्स्या अनुहारहरूको संस्कृति जोगाउनमा विशेष योगदान रहिआएको छ।
न्युयोर्कमा रैभान महरा, गणेश विष्ट, दानसिंह विष्ट, केपी भण्डारीलगायतका संस्कृतिकर्मीले नेपालबाट दमाहा, ट्याम्को, सहनाई, झ्याली मादल आदि बोकेर आएका छन्। गौरा, विसु र दसैंमा आफैं बजाउँछन्, नाचगान गरी सुदूरपश्चिमको संगीत, चाडपर्वलाई सम्हाल्दै आएका छन्। नेपाली माटोप्रतिको माया हो यो। यो मायालाई अझ उजागर गर्न कलाकार शंकरसिंह विष्ट, चाँदनी मल्ललगायतका व्यक्ति लागि परेका छन्।
यसअघि २०४१ सालमा पाकिस्तानको टेलिभिजनमा देउडा गीत रेकर्ड गरेँ। भारतका मध्ये प्रदेश, आन्ध्रप्रदेश, महाराष्ट्र, गुजरात, पश्चिम बंगाल, दिल्लीलगायत ठाउँहरूमा पनि देउडा गाएँ। बंगलादेशको ढाका र चिटगाउँमा बंगाली गीतसँगै देउडागीतको मित लगाएँ, २०४१ सालमा एमए अध्ययन गर्दा दक्षिण एसियाली मुलुकहरूको शैक्षिक भ्रमण गर्न गएको बखत। यसै सिलसिलामा दक्षिण कोरिया, मलेसिया, दुवईमा देउडागीत फैलाउनकै लागि पुगेको थिएँ।
२०८२ भदौ र कात्तिकमा बेलायत र स्कटल्यान्डमा पनि नेपाली र अंग्रेज समुदायमाझ देउडा गाएँ। ती ठाउँमा देउडा खेलेको सम्झनाले सुदूरपश्चिमको आँगनीको याद दिलाउँछ। त्योभन्दा ठुलो याद अमेरिकी राष्ट्रका विभिन्न स्टेजका प्रमुख सार्वजनिक स्थलहरूमा देउडागीत गाउँदै हिँडेको सम्झना छ।
काम गर्न धेरै बाँकी छ। देउडा दिवस कात्तिक १४ गते घोषणा गर्न बाँकी छ। देउडा संग्रहालय स्थापना गर्न बाँकी छ। नवआगन्तुकहरूलाई प्राचीन भाषा, देउडागीतका आलंकारिक शब्दबारे जानकारी गराउन बाँकी नै छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनभित्र गएर देउडागीत गाए तापनि आफ्नै देशको संसद् भवनभित्र सांसदहरूको बैठकमा सभामुख र प्रधानमन्त्रीसामु देउडागीत सुनाउन बाँकी छ। आँटेपछि के हुदैन र?
प्रकाशित: ६ असार २०८३ ०७:११ शनिबार