कला/साहित्य

सामन्थालाई ‘धोका’ दिएको आरोपमा नागा चैतन्यलाई दिल्ली उच्च अदालतबाट राहत

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता नागा चैतन्यलाई दिल्ली उच्च अदालतबाट कानुनी राहत मिलेको छ। 

अदालतले उनकी पूर्वपत्नी एवं अभिनेत्री सामन्था रुथ प्रभुसँगको पुरानो सम्बन्धलाई लिएर सामाजिक सञ्जाल र इन्टरनेटमा फैलाइएका झूटा कथा तथा अश्लील दाबीविरुद्ध संरक्षण दिएको हो। नागा चैतन्यले आफ्नो 'व्यक्तित्व अधिकार' (पर्सनालिटी राइट्स) को सुरक्षाका लागि दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनको नाम, तस्बिर, भिडियो तथा पहिचानको दुरुपयोग विरुद्ध अन्तरिम संरक्षण संकेत गर्दै समन्स जारी गरेको छ। साथै, अभिनेताविरुद्ध मानहानिपूर्ण सामग्री पोस्ट गर्ने विभिन्न वेबसाइट तथा डिजिटल प्लेटफर्महरूलाई अदालतले नोटिस पठाएको छ।

नागा चैतन्य र सामन्था रुथ प्रभुले सन् २०१७ मा विवाह गरेका थिए र सन् २०२१ मा उनीहरू बैधानिक रूपमा अलग्गिएका थिए। सम्बन्ध विच्छेदको वर्षौँ भइसक्दा पनि केही अनलाइन माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले व्यक्तिगत लाभका लागि नागा चैतन्यको पहिचान दुरुपयोग गर्दै आधारहीन अफवाह फैलाइरहेका थिए। कतिपय सामग्रीमा चैतन्यले सामन्थालाई धोका दिएको र उनको करियर बर्बाद पारेको जस्ता गम्भीर तथा अप्रमाणित आरोप समेत लगाइएको थियो।

यस्ता भ्रामक सामग्रीले आफ्नो प्रतिष्ठामा गम्भीर आघात पुर्‍याएको भन्दै अभिनेता चैतन्यले अदालतको ढोका ढकढकाएका थिए। उनले थुप्रै व्यावसायिक उत्पादनहरूले समेत आफ्नो अनुमति बिना नाम र अनुहारको दुरुपयोग गरेको आरोप लगाएका छन्। मे २९ मा दिल्ली उच्च अदालतका न्यायाधीश ज्योति सिंहको इजलासमा यस मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा नागा चैतन्यको पक्षबाट बहस गर्दै वकिल वैभव गग्गरले इन्टरनेटमा उपलब्ध सामग्रीले अभिनेतालाई अत्यन्तै गलत र भ्रामक तरिकाले चित्रण गरेको तर्क गरेका थिए।

वकिल गग्गरले अदालतमा भने, ‘यो वास्तविक वा रचनात्मक आलोचना होइन, बरु अभिनेताको छवि धमिल्याउन नियतवश गरिएको ट्रोलिङ हो। यसलाई तुरुन्तै रोकिनुपर्छ।’ मुद्दाको गम्भीरतालाई मनन गर्दै इजलासले अभिनेताको नाम, अनुहार र पहिचान दुरुपयोग गरी झूटा आरोप लगाउने सबै वेबसाइटहरूलाई सचेत गराएको छ।

अदालतले उनको अधिकार रक्षाका लागि अन्तरिम संरक्षण संकेत गरेको छ भने विस्तृत लिखित आदेश पछि आउनेछ। विगतको सम्बन्ध र अनलाइनमा आउने नकारात्मकताका बारेमा कुरा गर्दै नागा चैतन्यले एक अन्तर्वार्तामा आफूहरू आपसी सम्मानका साथ बाँचिरहेको र स्पष्टीकरण दिइरहनु आवश्यक नरहेको बताएका थिए। उनले भनेका थिए, ‘हामी दुवै आ-आफ्नो जीवनमा अगाडि बढिसकेका छौँ।’

सामन्थासँग अलग भएपछि नागा चैतन्यले डिसेम्बर ४, २०२४ मा अभिनेत्री शोभिता धुलिपालासँग विवाह गरिसकेका छन्। त्यसैगरी, सामन्थाले पनि डिसेम्बर १, २०२५ मा फिल्म निर्माता राज निदिमोरुसँग विवाह गरेर आफ्नो नयाँ जीवन सुरु गरिसकेकी छन्। एजेन्सी

प्रकाशित: १७ जेष्ठ २०८३ १०:२८ आइतबार